१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Saturday, 06 July, 2024
२o८o असोज ८ सोमबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

मुगु आगलागीमा चार करोडभन्दा बढीको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o८:४१:oo

मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट चार करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको छ । आइतबार बिहान बसेको जिल्ला विपत् समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले आगलागीमा चार करोडभन्दा बढीको भौतिक सम्पत्ति र धनमालको क्षति पुगेको रिपोर्ट प्रस्तुत गरेका हुन् ।

आगलागीमा जलेका घरका धनी, त्यहाँ रहेका विभिन्न व्यवसाय गर्दै आएका व्यवसायी र घर बहालमा बस्नेबाट लिएको मालसामानको सूचना र बजार मूल्य विश्लेषण गरेर अनुमानित क्षति विवरण निकालिएको डिएसपी थापाले जानकारी दिए । बैठकमा नेपाल रेडक्रस मुगु शाखाका महामन्त्री रत्न मल्लले पीडित परिवारको तथ्यांक प्रस्तुत गरेका थिए । तथ्यांकअनुसार आगलागीबाट आठवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने तीनवटा घरमा आशिंक क्षति पुगेको छ । आगलागीबाट २८ परिवारका ९५ जना प्रभावित भएका छन् । आगलागीमा प्रभावितमध्ये ४७ जना बालबालिका छन् । 

आगलागीबाट क्षति भएका घरमा विभिन्न व्यवसाय गर्दै आएका नौजना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ताकपडा पनि जलेर खरानी भएको रेडक्रसले प्रस्तुत गरेको रिपोर्टमा उल्लेख छ । आगलागी भएपछि झ्यालबाट हामफालेर राष्ट्रिय लोकदोहोरीकी मुगु जिल्ला कोषाध्यक्ष गायिका स्वस्तिका शाही घाइते भएकी छिन् । हाम फाल्ने क्रममा उनको छाती र हातखुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।

आइतबार जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सहभागी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले आगलागीबाट पीडित परिवारलाई आर्थिक तथा जिन्सी राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रमुख जिल्ला अधिकारी थापाले दिएको जानकारीअनुसार पीडित परिवारलाई हिरिसडेक नेपाल मुगुले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री, छायाँ नेपालले खाद्यान्न, युएमएन क्लस्टरले आगलागी भएका घरधनीलाई तीन लाख रुपैयाँबराबरको सहयोग, कर्णाली सामुदायिक विकास केन्द्रले दुई लाखबराबरको सहयोग र हिरिन्डेकले ५० हजारबराबरको सहयोग गरेको छ । यस्तै, आगलागीबाट प्रभावितलाई साहस नेपालले प्रतिघर सात हजारसम्मको खाद्यान्न सहयोग गर्ने र आइएनएफ मुगुले जिल्ला विपत् समितिको सहयोग आग्रह केन्द्रमा पठाई केन्द्रको निर्णयअनुसार पीडित परिवारलाई सहयोग गर्ने बताएको छ ।

बैठकमा सहभागी कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान प्रदेशमन्त्री जितबहादुर मल्लले क्षति धेरै भएको र राहतका प्रतिबद्धता न्यून आएको भन्दै घरहरू पुनर्निर्माणका लागि संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहहरूलाई आग्रह गर्नुपर्ने बताए । 

ad
ad
ad
ad