१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Friday, 09 May, 2025
२o८o असोज ७ आइतबार o९:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पहिचान पक्षधर युवामाथि दमन प्रकरण : सत्तासाझेदार चार दलको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार o९:o४:oo

विरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर युवामाथि भएको प्रहरी दमनको घटनाप्रति सत्तागठबन्धनमा आबद्ध खोटाङका चार राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन् । कोसी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोलाई पहिचान पक्षधर युवाले बिहीबार दिक्तेलमा कालो झन्डा देखाउने क्रममा भएको प्रहरी दमनको घटनाप्रति कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । 

खोटाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काको नेतृत्वमा पहिचान पक्षधर युवामाथि गरिएको दमनले जिल्लामा शान्तिसुरक्षा कायम हुने कुरामा थप अविश्वास सिर्जना भएको दलहरूले जनाएका छन् ।

‘जिल्लाको समग्र शान्तिसुरक्षाको जिम्मा लिएका जिम्मेवार व्यक्ति स्वयंले निःशस्त्र नागरिकमाथि लछारपछार गर्ने तथा लाठीचार्ज गर्ने कार्य निन्दनीय छ । यस्ता किसिमको हर्कतले जिल्लामा शान्तिसुरक्षा कायम हुने कुरामा थप अविश्वास सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा हुने सबै किसिमको कार्यक्रमको शान्तिसुरक्षाको व्यवस्थापन गर्ने निकायका प्रमुख भएर आफैँ अमर्यादित हिसाबले प्रस्तुत हुने सुरक्षाकर्मीका प्रमुखले सुरक्षाको प्रत्याभूति गराउन नसक्नु आफैँमा दुःखद विषय हो ।’

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारकै अगाडि भएको प्रहरी दमनमा प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किराँत, किराँत युवा फोर्स खोटाङका संयोजक निर्मल राई, मूल संघर्ष समिति खोटाङका सचिवालय सदस्य सुनील चाम्लिङलगायतका युवा घाइते भएका छन् । सत्तारूढ दलहरूले आन्दोलनरत पहिचान पक्षधर युवालाई आगामी दिनमा संयमता अपनाउन पनि आग्रह गरेका छन् । 

मन्त्री मेन्याङ्बो जिल्ला अस्पताल खोटाङको निर्माणाधीन भवन निरीक्षण गरेर बाहिरिने क्रममा अस्पतालको प्रवेशद्वारअगाडि पहिचान पक्षधर युवाले प्रदर्शन गरेका थिए । कोशी प्रदेश नाममा हस्ताक्षर गर्ने ८२ सांसदलाई प्रदेशभरि निषेध गर्ने कार्यक्रम रहेको अवस्थामा आन्दोलनलाई बेवास्ता गर्दै मन्त्री मेन्याङ्बो जिल्ला भित्रिएकाले कालो झन्डा देखाइएको संयोजक किराँतले बताए ।