
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारदेखि आठ दिनका लागि चीनको औपचारिक भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार प्रधानमन्त्री भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । संयुक्त राष्ट्रसंघीय महासभाका लागि न्युयोर्क गएका प्रधानमन्त्री उतैबाट चीन जाँदै छन् । भ्रमणमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छियाङ र जनसंसद्का अध्यक्ष झाओ लेइजीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले २९ भदौमा संयुक्त राष्ट्रसंघीय महासभा र चीन भ्रमणका विषयमा प्रतिनिधिसभालाई जानकारी दिएका थिए । परराष्ट्र मन्त्रालयले बिहीबार भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री बेइजिङ पुग्दा व्यवसायीसमेत गरी ९० सदस्यीय टोली हुनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा परिषद्का सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ सहभागी हुनेछन् । भ्रमण दलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, अर्थ मन्त्रालका अधिकारी तथा उद्योगी–व्यवसायी सहभागी हुनेछन् ।
न्युयोर्कबाट परराष्ट्रमन्त्री साउद, परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोली हाङझाउ पुग्नेछ । बेइजिङबाट नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्रीलाई हाङझाउमा स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड सुरुमा १९औँ एसियन खेलमा सहभागी हुनेछन् । हाङझाउमै प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीले नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक नेपालका प्रधानमन्त्रीलाई बेइजिङबाहिर भेट्न लागेका छन् ।
कोरोना महामारीपछि र नेपालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीस्तरबाट चीनको भ्रमण हुँदै छ । भारतको औपचारिक भ्रमणपछि प्रधानमन्त्री प्रचण्डको यो दोस्रो औपचारिक भ्रमण हो । यद्यपि, उनी कार्यक्रममा सहभागी हुन इटली गइसकेका र राष्ट्रसंघीय महासभाका लागि अमेरिका पुगेको हिसाबले यो चौथो विदेश भ्रमण हो । प्रधानमन्त्री प्रचण्डले छोटो समयको अन्तरका कारण न्युयोर्कबाट चीन जानुपर्ने भएको संसद्लाई प्रस्टीकरण दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले ८ असोजमा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ समकक्षीले दिवाभोज आयोजना गर्दै छन् । नेपाल र चीनबीच सीमापार विद्युतीय प्रसारणलाइन निर्माण, जलविद्युत् निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । यद्यपि, सम्झौता हुने विषयहरू अझै टुंगो लाग्न बाँकी रहेको परराष्ट्रका अधिकारीहरूको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले समकक्षीहरूसँग भेट गरिसकेपछि नेसनल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेइजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बेइजिङमै प्रधानमन्त्री प्रचण्डले नेपाली र चिनियाँ उद्योगी–व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ जसलाई नेपाल–चीन लगानी सम्मेलन भनिएको छ । नेपालतर्फ उद्योगीहरूको समन्वय नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।
बेइजिङमा भेटवार्ता सकेर प्रधानमन्त्री प्रचण्ड छोङछिङ महानगरपालिकाको भ्रमणमा जाने कार्यक्रम छ । छोङछिङले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको छ । प्रधानमन्त्री प्रचण्डले त्यहाँस्थित छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम छ ।
चीनले भन्यो– दुई देशबीच सुदृढ र स्थिर सम्बन्ध
चिनियाँ विदेश मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको बिहीबार औपचारिक घोषणा गरेको छ । विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुदका लागि समकक्षी ली छियाङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डको भ्रमण हुन लागेको बताएकी छिन् । प्रचण्डको चीन भ्रमण र नेपाल–चीन सम्बन्धबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता निङले भनिन्, ‘दुवै पक्षले परम्परागत मित्रतालाई प्रगाढ बनाउने, पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्नेछन् ।’
प्रवक्ता निङले चीन र नेपाल परम्परागत मित्र, छिमेकी र रणनीतिक सहकारी साझेदार रहेको पनि बताइन् । ‘६८ वर्षअघि हाम्रा दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि अन्तर्राष्ट्रिय वा क्षेत्रीय परिस्थिति जस्तोसुकै भए पनि चीन–नेपाल सम्बन्धले सुदृढ र स्थिर प्रगति कायम राखेको छ,’ उनले भनिन् । दुई देशले आ–आफ्ना मूल हितका मुद्दाहरूमा एक–अर्कालाई समर्थन जनाउँदै आएको भन्दै उनले थपिन्, ‘जसले हाम्रो सम्बन्धलाई विभिन्न आकारका देशहरूबीच समानता र जित (विन) सहयोगको राम्रो उदाहरण बनाएको छ ।’