१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ४ बिहीबार २२:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शान्ति प्रक्रिया टुंग्याउन दलहरू एकैठाउँमा उभिनुपर्छ : अध्यक्ष तिमिल्सना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ४ बिहीबार २२:२०:००

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनैतिक दलहरूलाई एकै ठाउँमा उभिन आग्रह गरेका छन् । 

त्रिभुवन विश्व विद्यालयको द्वन्द्व, शान्ति र विकास विभाग तथा रोटरी क्लब जाउलाखेलले बिहीबार काठमाडौंमा गरेको ‘बृहत् शान्ति सम्मेलन २०८०’ मा अध्यक्ष तिमिल्सिनाले राजनीतिक दललाई दलीय स्वार्थ त्यागेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आग्रह गरेका हुन् ।

उनले दलहरूले आफ्ना मानिसलाई उन्मुक्ति दिने उद्देश्य राखेकै कारण शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको जिकिर गरे । ‘सबै दलहरू  पीडितलाई न्याय र पीडकलाई सजाय दिन एकै ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘सबै दलले पीडित जो भए पनि मेरा हुन्, र पीडक जो सुकै हुन् मेरा होइनन् भनेर जाँदा समस्या समाधान हुन्छ ।’ 

उनले सशस्त्र द्वन्द्वका पीडितहरूका समस्या सुन्न र सम्बोधन गर्न तयार नभएकै कारण शान्ति सम्झौतामा हस्ताक्षर गर्ने राज्य र बिद्रोही पक्ष अहिले सहकार्य गरिरहेको वेला पनि समस्या समाधान हुन नसकेको बताए । 

द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीले प्रस्तुत गरेको ‘शान्ति सम्झौता कार्यान्वयनका १७ वर्ष, उपलब्धि, चुनौति र अगाडिको बाटो’ विषयक कार्यपत्रमाथि शान्ति सम्झौताको समयमा मध्यस्तकर्ता र वार्ता समितिका सदस्यहरूलगायतका राजनीतिशास्त्रीहरूले टिप्पणी गरेका थिए । 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले दलहरूले दृढ इच्छाशक्तिसहित शान्ति र न्यायको भावनालाई आत्मासाथ गर्न सके समस्या समाधान गर्न सहज रहेको बताए । 

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सहमतिका नाममा प्रधानमन्त्री हतारिएको र एउटै विषयमा मात्रै सहमति खोज्दा समस्या समाधान नभएको आरोप लगाए । 

माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियाको अन्तरवस्तुमा दलहरूबीच विमति नरहेको तर प्रक्रियामा विमति रहेकाले समस्या समाधान नभएको टिप्पणी गरे । 

पूर्वसभामुख दमननाथ ढुंगानाले शान्ति प्रक्रियालाई टुंगो लगाएर मात्रै प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जानुपथ्र्यो भन्ने धारणा राखे ।  राजनीतिशास्त्री प्राडा मीना बैध मल्ल, त्रिवि मानविकी तथा विज्ञान संकायकी डिन प्राडा कुशुम शाक्य, रोटरी क्लब इन्टरनेशनलका गर्भनर राजेन्द्रप्रसाद ध्वँजु, मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकलगायतले पनि टिप्पणी गरेका थिए ।