मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
कमल खत्री म्याग्दी
२०८० असोज ४ बिहीबार १३:१३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुस्ताङका स्याउ धमाधम बजार पठाइँदै

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०८० असोज ४ बिहीबार १३:१३:००

मुस्ताङमा स्याउ टिप्न सुरु भएको छ। बोटमा फलेका स्याउ पाकेर उपभोगयोग्य भएपछि मुस्ताङबाट स्याउ बजारीकरण हुन थालेको छ। व्यापारीहरू यतिवेला बगैँचामा स्याउ टिप्न व्यस्त छन् । अधिकांश बगैँचामा व्यापारीले ठेक्का लगाएर स्याउ खरिद गर्ने गरेका छन्।

बोटमा स्याउ पाकेको र चाडपर्वको सिजन सुरु भएकाले बगैँचाबाट स्याउ धमाधम बिक्री हुन थालेको मार्फाका स्याउ खेती गर्ने अगुवा कृषक दीपक लालचनले जानकारी दिए। उनका अनुसार उच्च घनत्वमा आधारित स्याउका बोटमा फलेका स्याउ निर्यात गर्न थालिएको छ।

मुस्ताङी स्याउ यतिवेला म्याग्दी, बागलुङ, पर्वत, कास्की हुँदै देशका ठूला बजारसम्म पुग्न थालिसकेको छ । मुस्ताङमा स्याउखेतीको क्षेत्रफल विस्तार भए पनि यस वर्ष स्याउ उत्पादन भने घट्ने अनुमान गरिएको छ। स्याउको फूल खेल्ने समयमा भारी वर्षा भएको कारण यस वर्ष स्याउको फल कम उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका सूचना अधिकारी हरिप्रसाद न्यौपानेले जानकारी दिए।

‘थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि मुख्य पकेटक्षेत्र हुन्। वर्षाले यसै क्षेत्रमा बढी असर पुर्‍याएको थियो, गत वर्षको तुलनमा ३० देखि ४० प्रतिशत नै उत्पादन घट्न सक्ने अनुमान छ,’ सूचना अधिकारी न्यौपानेले भने।

यस जिल्लाको थासाङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक ५ वटै स्थानीय तहमा स्याउ खेती हुँदै आएको छ। यहाँ उत्पादन हुने स्याउ बेनी–जोमसोम सडकखण्ड हुँदै सवारीसाधनमार्फत ढुवानी गरी निर्यात हुँदै आएको छ।

मुस्ताङमा स्याउखेती गरिएको एक हजार चार सय ७५ हेक्टर जमिनमध्ये पाँच सय ८० हेक्टरका बोटहरूले मात्रै उत्पादन दिने गरेका छन् । जसमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार भएको छ। गत वर्ष ६ हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मुस्ताङमा स्थानीय परम्परागत रैथाने स्याउसँगै उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तारले तीव्रता पाएको छ । आर्थिक वर्ष ०७५/७६ देखि विस्तार भएको यस प्रजातिको स्याउको गुणस्तर र उत्पादन बढी हुने भएकाले स्थानीयवासी यसतर्फ आकर्षित भएका छन् ।

उच्च घनत्व प्रविधिमा आधारित स्याउखेतीअन्तर्गत गाला, फुजी, रिङरुट, गोल्डेन डेलिसियस र जोनाप्रिन्स प्रजातिका स्याउखेती विस्तारले पछिल्लो समय तीव्रता पाएको छ । मुस्ताङको स्याउलाई ब्रान्डिङ गर्नका लागि यस वर्ष असोजअगाडि स्याउ टिप्न रोक लगाइएको थियो । स्याउको व्यावसायिकताका लागि कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले मल, बिरुवा, प्रविधि र तालिमलगायतको सहयोग प्रदान गर्दै आएका छन्।