
चीनको हाङझावमा १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) उद्घाटनअघि केही खेल सुरु भएका छन् । जसमध्ये नेपालले सहभागिता जनाएको पुरुष भलिबल टोलीले बहराइनसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल बहराइनसँग ३–१ को सेटमा पराजित भयो । नेपाल प्रतियोगिताको समूह ‘बी’मा छ । नेपाली पुरुष खेलाडीले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
पहिलो सेटको प्रदर्शन अन्य सेटमा नेपाली खेलाडीले निरन्तरता दिन सकेनन् । तीनवटै सेटमा नेपाल झिनो अन्तरले पछि पर्यो । बहराइनले दोस्रो सेटपछि उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो सेटमा नेपालको गल्तीमा बहराइनले २५–२० ले बाजी मार्यो । १–१ को बराबरी सेट भएको अवस्थामा नेपालका खेलाडी तेस्रो सेटमा कमजोर देखिए । तेस्रो सेटमा नेपाल सात अंकले पछि पर्दा २५–१८ ले पराजित भयो । बहराइनले तेस्रो सेटको समाप्तिसम्म २–१ को अग्रता लिएको थियो । बहराइनले चौथो सेट २५–१५ को जित निकाली अंक जोड्यो । अब समूहको दोस्रो खेलमा नेपालले एसियाकै बलियोमध्येको एक टिम इरानसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
मंगोलिया १५ रनमै अलआउट
एसियाडअन्तर्गत महिला क्रिकेट स्पर्धामा इन्डोनेसियाले मंगोलियालाई एक सय ७२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा मंगोलियाले १० ओभरमा सबै विकेट गुमाएर १५ रन मात्र जोड्यो । मंगोलियाको ब्याटिङमा सात ब्याट्सम्यान डकआउट भएका थिए । मंगोलियाकी ओपनर अमागालानले १६ बल सामना गरे पनि रन बनाउन सकिनन् । सो इनिङ्समा दोस्रो ओपनर इछिकोलोले सर्वाधिक पाँच रन बनाएकी थिइन् । इन्डोनेसियाले पाँच रन अतिरिक्त दिएको थियो । इन्डोनेसियाका लागि आन्द्रियनीले सर्वाधिक चार विकेट लिइन् । उनले तीन ओभरमा आठ रन मात्र खर्चेकी थिइन् । लुच देवी र पागेसीले समान दुई विकेट हात पारे ।
यसअघि पहिलो ब्याटिङ गरेको इन्डोनेसियाका लागि ओपनर नी लुह देवीले ४८ बलमा १० चौकाको सहयोगमा ६२ रन बनाएकी थिइन् । यसैगरी, आन्दा साकरिनीले ३१ बलमा ३५ रन बनाइन् । मंगोलियाले इन्डोनेसियालाई ४८ अतिरिक्त रन दिएको थियो । जसमा ३८ वाइड थियो । अर्को खेलमा मलेसियाले हङकङलाई २२ रनले हराएको छ । पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाएर एक सय चार रन बनाएको थियो । प्रत्युत्तरमा हङकङ ८२ रनमै अलआउट भयो ।
जुडो खेलाडीको बिदाइ
महेन्द्ररत्न क्याम्पसले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई मंगलबार बिदाई गरेको छ । स्नातक तह प्रथम वर्षमा अध्ययनरत तीन जुडो खेलाडीलाई क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले बिदाई गरे । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ५२ केजीमुनि देवकीमाया श्रेष्ठले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम)का उत्पादन हुन् । इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन् । उनीहरूसहित ८ जुडो खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दै छन् । पाममा ३१ जना आश्रित छन् । प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन् ।