रुसले तेल उत्पादन कटौती गर्दा समस्यामा भारत

आइतबार, ३१ भदौ, २०८०
डिजिटल संस्करण

भारतका चार तेल कम्पनीले रुसमा १६ अर्ब डलर लगानी गरेका छन्, रुसले तेल उत्पादनमा कटौती गर्दा यसको मुख्य असर भारतमा पर्छ 

रूस र साउदी अरबले ५ सेप्टेम्बरमा संयुक्त रूपमा आगामी तीन महिनासम्म तेल उत्पादनमा कटौती जारी राख्ने बताए । युनाइटेड अरब इमिरेट्स (युएई), इराकसहति २३ ओपेक प्लस देशले पहिल्यैदेखि तेल उत्पादन कम गरेका छन् । यसकै कारण सन् २०२३ मा पहिलोपटक क्रुड आयल (कच्चा तेल) को मूल्य प्रतिब्यारेल ९० डलरसम्म पुग्यो । समाचार पोर्टल लाइभ मिन्टका अनुसार भारतीय कम्पनीले अर्बौं लगानी गरेका रुसी तेल कम्पनीले पनि उत्पादन घटाएका छन् । पछिल्ला केही महिनादेखि भारतलाई आवश्यक पर्ने कच्चा तेलमध्ये अधिकांश तेल रुसबाट आइरहेको छ । यसले भारतको चिन्ता बढ्नु स्वाभाविक हो । 

भारतीय तेल कम्पनी दबाबमा : साउदी अरबले आगामी तीन महिनासम्म प्रतिदिन १० लाख ब्यारेल र रुसले तीन लाख ब्यारेल तेल उत्पादन घटाउनेछन् । यो विश्वभरमा हुने दैनिक तेल आपूर्तिको करिब एक प्रतिशत हो । जसकारण तेलको मूल्य यो वर्ष पहिलोपटक प्रतिब्यारेल ९० डलर पुग्यो । जुन गत वर्ष अक्टोबरपछि ७५ देखि ८५ डलरको बीचमा थियो । 

तेल उत्पादन घटाएर किन बढाउँदै छन् मूल्य ? : सन् २०२० जनवरीमा अमेरिकामा कच्चा तेलको उत्पादन दैनिक करिब एक करोड २१ लाख ब्यारेल प्रतिदिन उच्च स्तरमा भइरहेको थियो । विश्वव्यापी कोभिड–१९ महामारीले गर्दा तेलको माग सर्वत्र घट्यो । तर पनि उत्पादनमा कमी भएन । जसले गर्दा तेलको मूल्य न्यून बन्यो । यही घाटा कम गर्न साउदी अरब, इराक र अमेरिकाका कैयाँै तेल सञ्चालकले आफ्ना खानी बन्द गरे । तेल उत्पादनको कटौतीपछि आपूर्ति घट्दा तेलको मूल्य बढ्न थाल्यो । 

उत्पादन घटाउनुका मुख्य तीन कारण : एक : फेब्रुअरी ०२२ मा रुस–युक्रेन युद्ध सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १३९ डलर प्रतिब्यारेलसम्म पुगेको थियो । जुन सन् २००८ पछिकै उच्च थियो । तर, अमेरिका र रुसजस्ता देशले आफूसँग भण्डारण रहेको तेल अन्तर्राष्ट्रिय बजारमा बेच्न थालेपछि तेलको मूल्य फेरि घट्यो । यसको परिणाम, मार्च, २०२३ मा कच्चा तेलको मूल्य घटेर ७५ डलर प्रतिब्यारेलसम्म आइपुग्यो । 

दुई : अप्रिल ०२३ मा पूरै विश्वमा कच्चा तेलको वैश्विक भण्डारण १८ महिनाकै सर्वाधिक उच्च स्तरमा पुग्यो । अत्यधिक भण्डारण हुने र मागमा कमी आएपछि तेलको मूल्य क्रमशः घट्न थाल्यो । मूल्य बढाउन ओपेक–प्लस देशले तेल उत्पादनमा कटौती गर्न थाले । जसले गर्दा तेलको मूल्य फेरि बढेर ८९ डलर प्रतिब्यारेलसम्म पुग्यो । तर, अब अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढोस् या घटोस्, यसका लागि रुस र साउदी अरबले तीन महिनाका लागि उत्पादनमा कटौती गर्ने निर्णय लिएका छन् । 

तीन : सन् २००८–००९ मा आर्थिक मन्दीका कारण कच्चा तेलको मूल्य १४८ डलरबाट सोझै ३२ डलरमा झरेको थियो । मे २०२३ मा अमेरिकामा सिलिकन भ्याली, सिग्नेचर र फस्र्ट रिपब्लिकजस्ता ठूला बैंक टाट पल्टिए । यसबाहेक अगस्टमा मुडिज इन्भेस्टर्स सर्भिसले १० अमेरिकी बैंकको क्रेडिट रेटिङ घटाइदियो । यी सबै कारणले एकपटक फेरि कच्चा तेलको मूल्यमा गिरावट आउने सक्ने आकलन गरिएको छ । 

उत्पादन घटाउँदा खरिदकर्ता देश चिन्तामा किन ? : पहिल्यैदेखि ओपेक–प्लस देशले तेलको उत्पादन कम गरिरहेका वेला रुस र साउदी अरबले पनि उत्पादन घटाउने निर्णय लिएका छन् । यसरी उत्पादन घटाउँदा विश्वव्यापी रूपमा तेल आपूर्तिमा कमी आई मूल्य बढ्न सक्छ । अमेरिकी मार्केट गुरु लेरी मेकडोनाल्डका अनुसार अगस्ट २०२३ मा अमेरिकाको तेल भण्डारण पछिल्लो ४० वर्षयताकै कम भएको छ । यस्तो स्थितिमा यदि साउदी र रुसले तेल उत्पादन कम गर्दा महँगी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय बजारमा अमेरिकाका लागि तेल ‘पम्प’ गर्न थप मुस्किल हुनेछ । 

विश्वकै शीर्ष लगानीकर्ता बैंक गोल्ड म्यान स्यासका अनुसार आगामी एक वर्षमा अमेरिकी अर्थतन्त्रमा मन्दी देखिन सक्छ । अक्टोबर ०२२ मा इन्टरनेसनल इनर्जी एजेन्सी (आइए) ले ओपेक–प्लस देशले तेल उत्पादनका कटौती गरेको खण्डमा विश्व आर्थिक मन्दीमा जाने बताएको थियो । सोहीअनुसार साउदी अरबले निरन्तर उत्पादन कटौती गर्दा वैश्विक अर्थतन्त्रमै नराम्रो असर पर्न सक्छ । 

साउदी–रुसले तेल कटौती गर्दा भारतीय कम्पनी तनावमा : भारतका चार तेल कम्पनीले रुसमा १६ अर्ब डलरभन्दा बढीको लगानी गरेका छन् । रुसले तेल उत्पादनमा गर्ने कटौतीको असर यी कम्पनीमा अवश्य पर्नेछ । तथ्यांकअनुसार जुलाईमा भारतले २० लाख ब्यारेलभन्दा बढी तेल दैनिक खरिद गरेको थियो । तर, अगस्टमा आउँदा यो आँकडा प्रतिदिन १० लाख ६३ हजार ब्यारेल पुग्यो । यसरी हेर्दा आगामी दिनमा थप घट्न सक्ने अनुमान गर्न सकिन्छ । 

२०२३ को नौ महिनामा भारतले साउदी अरब र इराकभन्दा बढी रुससँग कच्चा तेल खरिद गरेको छ । यसो गर्दा भारतलाई प्रतिब्यारेल दुई डलरसम्म नाफा बसेको छ । यद्यपि, साउदी अरब र रुसले तेल उत्पादनमा कटौती गर्दा यसको प्रत्यक्ष असर भारतमा पर्छ । साथै, विश्वभरमा कच्चा तेलको मूल्यसमेत बढ्न सक्छ । सँगसँगै, भारतले सहुलियत दरमा रुसबाट पाइरहेको तेलको मूल्य पनि स्वतः बढ्ने देखिन्छ ।  – एजेन्सी

See More On

सुझावित समाचार