मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Wednesday, 15 January, 2025
अफसिन शाही
२o८o भदौ ३१ आइतबार १o:२o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमिनी हत्याको वर्षदिन : कस्तो अवस्था छ इरानको ?

Read Time : > 2 मिनेट
अफसिन शाही
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १o:२o:oo

नियन्त्रणमा उद्यत् इरानी सत्ताले दिल जित्नुको सट्टा जनतामाझ डर पैदा गरेर त्रास फैलाउनुलाई प्राथमिकता दिएको छ

'नैतिकता प्रहरी’को हिरासतमा महसा अमिनीको मृत्यु भएको एक वर्ष हुँदा पनि इरानका शासकले सख्त सार्वजनिक नियन्त्रणलाई जारी नै राखेका छन् । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा अमिनीलाई पक्राउ गरिएको थियो । उनको मृत्युको खबरले राष्ट्रव्यापी विरोध प्रदर्शन निम्त्यायो, जसले इस्लामिक गणतन्त्र इरानको जगलाई नै हल्लाइदियो । अमिनीको मृत्युको एक वर्ष पुग्दा हुने अपेक्षित विरोध प्रदर्शनको आकलन गर्दै इरानी सत्ताले सामाजिक सञ्जालको नियन्त्रण एवं निगरानीमा तीव्रता ल्याएको छ । तथापि, जनताको परिवर्तनको इच्छा मत्थर भएको छैन । 

अमिनीको मृत्युपछि महिला अधिकार, बाँच्न पाउने अधिकार र स्वतन्त्रताको आन्दोलनप्रति राज्यको प्रतिक्रिया निकै क्रूर थियो । विभिन्न समाचारअनुसार सयौँ मारिएका छन् भने करिब ३० हजार हिरासतमा छन् र कैयौँलाई मृत्युदण्ड दिइने संकेत देखिँदै छ । हिरासतमा रहेकालाई यातना र बलात्कार गरिएका घटना सतहमा आइरहेका छन् । अनिवार्य हिजाब लागू गर्ने मामिलामा स्पष्ट असफलता देखिँदा पनि शासकवर्गले पछि हट्ने कुनै संकेत देखाएको छैन । अनिवार्य हिजाबका मामिलामा मुलुकमा दशकौँ लामो विवादास्पद बहस हुँदै आएको देखिन्छ । निगरानी, झडप र सख्त सजायका बाबजुद धेरै साहसी महिलाले अनिवार्य हिजाबलाई दैनिक रूपमा अवहेलना गर्छन् । महिलाको कपालमाथिको नियन्त्रणमा छुट दिँदा नजिर बस्ने भन्दै त्रसित सत्ताले शासकीय एवं समाजका अन्य पक्षमा नियन्त्रण गुमाउने भन्ने भय पालेको छ । 

नियन्त्रणमा उद्यत् इरानी सत्ताले दिल जित्नुको सट्टा जनतामाझ डर पैदा गरेर त्रास फैलाउनुलाई प्राथमिकता दिएको छ । गम्भीर आर्थिक चुनौती र चरम गरिबीमा रहेको उल्लेख्य जनसंख्याको बाबजुद, वर्षौंको प्रतिरोधका माध्यमबाट निर्माण भएको इरानीको स्थायी लचिलोपनले राज्य र जनताबीच एक लामो लडाइँको संकेत गर्छ । तमाम नियन्त्रण एवं नियमनका बाबजुद नागरिक अवज्ञा, प्रतीकात्मक विरोध, कलात्मक प्रतिरोध र महान् बलिदानमा जरा गाडेको इरानमा आन्दोलन रोकिने छाँटकाँट देखिँदैन । परिवर्तनको इच्छा बलियो भए पनि बाटो सजिलो छैन, अवरोध छन् । उसो त विदेशमा सुसंगठित विपक्षी छन्, तर मुलुकभित्र आन्दोलन नेतृत्वविहीन एवं विभाजित छ । विगत ६ महिनायता प्रदर्शनकारीमाझ इरानले संवैधानिक राजतन्त्र पुनस्र्थापित गर्नुपर्छ वा गणतन्त्रात्मक प्रणालीलाई नै जारी राख्ने भन्ने विवाद चल्दै आएको छ । 

आन्दोलनमा एकीकृत मोर्चाको अभावले महत्वपूर्ण हुने अन्तर्राष्ट्रिय समर्थन जुटाउन कठिन भएको छ । र, यो विशेषतः त्यतिवेला चुनौतीपूर्ण हुन्छ, जब इरानी सत्ता आफ्नो निगरानी र दमन क्षमता बलियो बनाउन रुसजस्ता अधिनायकवादी सहयोगीमा निर्भर छ । जनतालाई चुप लगाउन जस्तोसुकै विधि प्रयोग गर्न सत्ता तयार र उत्सुक देखिन्छ । सन् १९७९ मा इरानी क्रान्ति भएदेखि नै इस्लामिक गणतन्त्र इरानको गैरजवाफदेही र अतिउत्साहित सत्ताले इरानी समाजलाई पुनः परिभाषित एवं नयाँ आकार दिन खोजिरहेको छ । यो प्रयासको कैयौँले विरोध गर्दै आएका छन् । त्यसपछिका दशकमा जनता र रुढीवादी धार्मिक संस्थापनबीच दरार बढ्दै गएको छ । अख्तियारको दुरुपयोग, भ्रष्टाचार, विनाशकारी आर्थिक नीति र हिंसाको बेहिसाब प्रयोगले सत्ताको क्रान्तिकारी ‘आकर्षण’लाई तहसनहस बनाएको छ । इरानले प्रदर्शन नव्यहोरेको होइन । सन् १९९९ को विद्यार्थी आन्दोलन र सन् २००९ को हरित आन्दोलन इतिहासका पानामा विशेष ढंगले लिपिबद्ध छन् । सन् २०१८ पछिका विरोध प्रदर्शनले त ठूलो तरंग नै ल्याएको छ । आन्दोलन अब सहरी केन्द्रमा मात्रै सीमित छैन । 

आन्दोलन राष्ट्रव्यापी छ र यसमा इस्लामिक गणतन्त्रको वैचारिकीलाई चुनौती दिने धृष्टता पनि देख्न सकिन्छ । महिला अधिकार, बाँच्न पाउने अधिकार र स्वतन्त्रताको आन्दोलनको दीर्घकालीन प्रभाव र अन्तर्राष्ट्रिय चर्चाले आन्दोलनको महत्व झल्काउँछ । केही महिनाअघि क्याफे र रेस्टुराँ बन्द गरिएका छन् । व्यापारीलाई राज्यका नियम पालना नगरेको आरोप लगाइएको छ । विश्वविद्यालयलाई समेत छाडिएको छैन । विश्वविद्यालयमा प्राध्यापकलाई हटाएर सत्ताका अनुचरलाई भर्ती गरिएको छ । तेहरान विश्वविद्यालयलगायत शैक्षिक थलोमा कडा निगरानी गरिएको छ । यसमाथि बिग्रिँदो आर्थिक अवस्थाले मानिस आत्महत्या गर्नसमेत बाध्य भएका छन् । 

अमिनी हत्याको एक वर्ष पुग्दै गर्दा विपक्षीले आममानिसलाई शासनविरुद्ध उभिन आग्रह गरेको छ । यो सम्भावित तनाव एवं अशान्तिबारे सत्ता जानकार छ । एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनअनुसार इरानी सत्ताले अमिनीका काकालगायत प्रियजनलाई शोक मनाउँदासमेत प्रताडित गरेको छ । १० प्रान्तमा एम्नेस्टीले गरेको अनुसन्धानले महसाको वार्षिकीअघि सरकारको दमनकारी कार्य र पीडित परिवारमाथि मानवअधिकार उल्लंघनका घटनाको पर्दाफास गरेको छ । गत वर्षको विद्रोहले जनतामा फैलिएको व्यापक भयलाई हटाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । भयावह वातावरण, हिंसात्मक प्रताडना र युवा प्रदर्शनकारीको हत्याका बाबजुद महिला अधिकार, बाँच्न पाउने अधिकार, स्वतन्त्रताको आन्दोलनले सत्तालाई चुनौती दिने सामूहिक साहस जगाएको छ ।

अमिनी हत्याको वर्ष पुग्दै गर्दा दुवै पक्ष तयारीमा जुटेका छन् । आममानिस सम्भावित विरोध प्रदर्शनका लागि तयारी गरिरहेका छन्, जब कि राज्य असहमतिका सबै संकेत रोक्न तयार छ । राजनीतिक गतिरोध सधैँभरि नरहनेमा धेरै जनता आशावादी छन् । लोकतन्त्रतर्फको यात्रामा वर्षौं लागे पनि परिवर्तनको तीव्र चाहनाले वर्तमान व्यवस्थालाई अनिवार्य रूपमा परिवर्तन गर्ने नै छ ।

(शाही किल विश्वविद्यालयका मध्यपूर्वको राजनीति एवं अन्तर्राष्ट्रिय सम्बन्धका सहप्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट