मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८o भदौ ३१ आइतबार o९:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कम हुँदै उपत्यकामा खानेपानी समस्या 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार o९:४६:oo

बर्खाका कारण उपत्यकाआसपासका मुहानमा पानीको बहाव बढ्दा खानेपानीको समस्या कम हुन थालेको छ । अहिले पानीको बहाव बढेसँगै झन्डै १८ करोड लिटर पानी उपत्यकामा उपलब्ध भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उक्त पानी मेलम्चीको ‘ट्रिटमेन्ट प्लान्ट’मा मिसाउने गरिएको राईले बताए । त्यहाँबाट प्रशोधन र शुद्धीकरण गरी पानी वितरण गरिन्छ । 

बर्खा लागेसँगै मेलम्ची खानेपानी आयोजनाको बाँधबाट पानी आउन छाडेपछि उपत्यकामा गत असारयता खानेपानी अभाव थियो । त्यसअघि दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट मात्रै आउने गरेको थियो । त्यस्तै, उपत्यकाआसपासका मुहानबाट झन्डै १२ करोड लिटर पानी आउने गरेको थियो । तर, बर्खाका कारण मेलम्चीको बाँधमा क्षति पुगेपछि पानी आउन रोकियो । जसकारण, उपत्यकामा खानेपानीको हाहाकार निम्तिएको थियो । 

बागमती नदीको मुहान क्षेत्र सुन्दरीजल तथा नागमतीका मुहानहरूमा पानीको बहाब बढ्दा खानेपानी वितरणमा केही सहजता आएको राईले बताए । हाल उपत्यकामा सातामा दुईपटक घर–घरका धारामा पानी वितरण गर्ने गरिएको उनले बताए । ‘मेलम्चीको पानी आउन छाडेपछि पानी वितरणमा समस्या आइरहेको थियो, तर बर्खा लागेपछि बागमती क्षेत्रमा मुहानहरूमा पानीको बहाब बढेकाले राहत महसुस भइरहेको छ,’ उनले भने । उनले अहिले बागमतीआसपासका मुहानहरूबाट मात्रै दैनिक झन्डै ६ करोड लिटर पानी आइरहेको बताए । उपत्यकाभित्र भैँसेपाटी, सुन्दरीजल, गोदावरी, शेषनारायण, बोडे, नागमती, महादेवखोलालगायत दुई दर्जनभन्दा बढी पानीका स्रोतहरूबाट खानेपानी संकलन गरेर वितरण गर्ने गरिएको छ । 

मेलम्चीकै संरचनाबाट पानी वितरण 

बर्खाका कारण अवरुद्ध भएको मेलम्ची बाँध मर्मत गरेर असोजमा खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्ची खानेपानीका परियोजना निर्देशक राजेन्द्र सापकोटाले मेलम्चीले नै तयार पारेको संरचनाबाट उपत्यकामा खानेपानी वितरण हुँदै आइरहेको बताए ।

आकासे पानी पर्न कम भएपछि मेलम्चीको पानी ल्याउने तयारी गरिने उनले बताए । ‘अहिले उपत्यकाआसपासका मूलको पानी मेलम्चीको खानेपानी संरचनाबाट वितरण भइरहेको छ । पानी पर्न कम भएपछि मेलम्चीको पानी ल्याउने प्रयत्न गर्नेछौँ ।’ उनका अनुसार हाल उपत्यकामा खानेपानीको मिटर जडानको काम चलिरहेको छ । २० हजारभन्दा बढी मिटर जडान भइसकेको उनले बताए ।

ढुंगेधाराले पनि उपत्यकामा बर्खामा पानीको अभाव पूर्ति गर्न ठूलो भूमिका खेल्ने गरेको छ । हाल उपत्यकामा पाँच सय ७३ वटा ढुंगेधारा छन् । त्यसमध्ये झण्डै दुई सयवटामा बर्खाका वेलामा पानी आउँछ । करिब १६ वटामा हिउँदमा पनि पानी आउँछ । तीन सयभन्दा बढी सुक्खा छन् भने करिब ३० वटा लोप भइसके । पानी आउने ढुंगेधारामा मूल र कुवा जोडिएको पाइन्छ ।