Skip This
बागमती प्रदेश सभा बैठक : चारवटा विधेयक संसदीय समितिमा पठाइयो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Saturday, 27 July, 2024
२o८o भदौ ३१ आइतबार o७:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेश सभा बैठक : चारवटा विधेयक संसदीय समितिमा पठाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार o७:२७:oo

बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले चारवटा विधेयकलाई छलफलका लागि संसदीय समितिमा पठाएको छ । २४ भदौमा बसेको बैठकमा पेस भएका चारवटा विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाइएको हो । यसअघिको शनिबार बसेको प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले संसद्मा पेस भएका तीनवटा विधेयकलाई दफावार छलफल तथा संशोधनका लागि संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्ताव सदनबाट सर्वसम्मत पारित भएको हो ।

शनिबार दिउँसो बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका तर्फबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तानले संसद्मा पेस गरेको ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले संसद्मा पेस गरेको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । सामाजिक विकासमन्त्री मोक्तानले नै बैठकमा पेस गरेको ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले सदनमा पेस गरेको ‘प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।

प्रदेश सभा बैठकमा विशेष समय लिएर २२ सांसदले आफ्नो धारणा राखेका थिए । अधिकांश सांसदले गत बुधबार हेटौँडामा चिकित्सकमाथि भएको सांघातिक आक्रमणको घटना र एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको संलग्नता भएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले चिकित्सकमाथि भएको आक्रमणले राज्यको सुरक्षा संयन्त्रमाथि नै प्रश्नचिह्न खडा गरेको आरोप लगाए । उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीकै नाम मुछिनु लज्जास्पद भएको भन्दै सत्यतथ्य के हो सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।

एमालेकै सांसद एकालाल श्रेष्ठले चिकित्सकमाथि भएको कुटपिट घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे । उनले बहुपक्षीय हिसाबमा घटनाको छानबिन हुनुपर्ने बताए । 

कांग्रेस सांसद रामकुमार पहाडीले आफै व्यवस्थित हुन नसकेको प्रदेश सभाले जनताका कुरा कसरी समाधान गर्न सक्छ भन्दै प्रश्न गरे । उनले पटकपटक प्रदेश सभा बैठक सर्ने, तोकिएको समयभन्दा धेरै ढिला गरी मात्रै बस्ने र सदनमा सांसदहरूको उपस्थिति न्यून हुनु गम्भीर विषय भएको बताए । उनले सबभन्दा पहिले आफैंलाई व्यवस्थित बनाउन सकेमा मात्रै जनताका सवालमा खरो उत्रिन सक्ने भन्दै सदनको ध्यानाकर्षण गराए । 

कांग्रेस सांसद समिता खड्गीले चिकित्सकहरूमाथि भएको कुटपिटको घटना निन्दनीय भएको बताइन् । उनले डाक्टरहरूको जीवन सुरक्षित हुन नसकेको भन्दै तत्काल दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिन् । शनिवारको बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थबहादुर लामाले आफूलाई अनावश्यक विवादमा मुछेर गलत प्रचार गरेको बताएका छन् । २५ भदौमा काठमाडौंमा सुनजस्तो पहेँलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो नाम जोडेर समाचार प्रकाशित भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् । ‘कपोलकल्पित, तथ्यहीन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्तिमार्फत प्रस्ट पारेका छन् ।