मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Wednesday, 15 January, 2025
२o८o भदौ ३१ आइतबार o६:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यतालिकामा चल्न कांग्रेसलाई सकस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार o६:५४:oo

कांग्रेसले पार्टी संगठनलाई व्यवस्थित रूपमा चलाउन इतिहासमै पहिलोपटक कार्यतालिका बनाए पनि त्यसअनुसार कार्यक्रम हुन सकेका छैनन् । २ देखि १० साउनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिकासहितको कार्यक्रम पारित गरे पनि बितेको दुई महिनाले कांग्रेस पुरानै पारामा चलेको देखाएको छ । 

सांगठनिक सुदृढीकरणका लागि १० देखि २४ भदौसम्म तय भएको समुदायमा कांग्रेस अभियान पहिलो चरणका कार्यक्रम नै रोकिएका छन् । बर्खाका कारण अनुपयुक्त भएको भन्दै रोकिएका कार्यक्रम कहिले गर्ने भन्ने अर्को मिति तय भएको छैन । कार्यतालिकामा तय भएको केन्द्रीय कार्यसमिति बैठक पनि समयमा बस्न सकेन । २ असोजको केन्द्रीय समिति बैठक समयलाई ख्याल नगर्दा प्रभावित बन्यो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक ४ असोजलाई सारिएको छ । केन्द्रीय समितिले विधानअनुसार प्रत्येक दुई महिनामा पहिलो साताभित्र बैठक बस्ने कार्यतालिका तय गरेको थियो । तर, यसबीचमा १ असोजमा तिज, २ असोजमा ऋषिपञ्चमी र ३ असोजमा संविधान दिवस पर्ने भएकाले बैठक सार्नुपर्ने बाध्यता आएको कांग्रेस नेताहरूको भनाइ छ । 

कार्यतालिकामा १५ असोजभित्र भ्रातृ संस्थाहरूको तदर्थ समितिलाई पूर्णता दिने उल्लेख छ । केन्द्रीय समितिले ४८ विभाग रहेकोमा नयाँ थपेर ७० विभाग बनाउने भने पनि नाम र संख्याको टुंगो लागेको छैन । १५ भदौको डेटलाइनमा फेस सेभिङका रूपमा १५ विभागका संयोजक मात्र तोकिएका छन् । बाँकी विषयमा छलफल भएको छैन । भ्रातृ संगठनको तदर्थ समिति गठन र भएकाको विवादलगायतका महŒवपूर्ण विषय भने ज्यूँका त्यूँ छन् । 

सहमहामन्त्री जीवन परियार रोकिएका कार्यक्रमलाई उपयुक्त समय पारेर पूरा गरिने बताँउछन् । रोकिएका कार्यक्रमबाट समग्र कार्यतालिकालाई असर नपर्ने उनको दाबी छ । ‘वर्षाको समय अनुकूल नहुँदा पहिलो चरणको कार्यक्रमका दौरान आएको सुझावका आधारमा समुदायमा कांग्रेस अभियान सरेको हो । अरू कार्यतालिकाका कार्यक्रम पनि विभिन्न कारण रोकिएका छन् । पार्टीले अनुकूलता हेरेर पोस्टपोन्ड भएका कार्यक्रमलाई पूरा गर्छ । साहित्य महोत्सवको समापन सत्र संविधान दिवसको अवसर पारेर गर्ने तयारीमा छौँ । कार्यतालिकालाई डिस्टर्ब नहुने गरी ती कार्यक्रमलाई अगाडि पूरा गछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

कार्यतालिकाअनुसार नै कांग्रेसले युवालक्षित ‘पोलिसी ह्याकाथन’ सम्पन्न गर्‍यो । २४ भदौबाट जारी तीनदिने बिपी साहित्य महोत्सव पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण २६ भदौको समापन सत्र रोकिएको छ । नयाँ मिति तय भएको छैन । परिस्थितिवश स्थगित गरिएका कार्यक्रमबाहेक १३ देखि १५ मंसिरमा महासमिति बैठक र नीति अधिवेशनको तयारी भइरहेको छ । लामो समय संयोजक मात्रै रहेको अनुशासन समितिलाई पूर्णता दिइएको छ । साथै २ असोजलाई संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको स्मृती दिवस र ३ असोजमा बिभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको छ । 

बिपीको ‘जेल डायरी’को विमोचन 
कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ‘जेल डायरी’ विमोचन गरिएको छ । शंकर तिवारीले सम्पादन गरेको पुस्तकमा यसअघि अप्रकाशित रहेका १९६२ देखि ९९६८ को जेल डायरी समेटिएको छ । पुस्तक शिखा बुक्समार्फत बजारमा आएको हो । 

कांग्रेस महामन्त्री गगन थापाले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचार ओझेलमा परेको बताए । उनले बिपीको विचारलाई निष्ठाको अर्थमा बुझ्न आवश्यक रहेको बताए । ‘महामानव भनेर बिपीको विचारमा छलफल नै गर्न नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेजस्तो पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय हो । बिपी मान्छे हो, मान्छेभित्रका कुरा हामीले बुझ्नुपर्छ । उहाँले मलाई मान्छेजसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर, मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छेभन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौं, त्यो अन्याय हो,’ थापाले भने ।