मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
नवराज मैनाली काठमाडाैं
२०८० भदौ ३१ आइतबार ०६:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुनजडित ‘स्मार्ट वाच’ विमानस्थलमा चोरी हुन थालेपछि ब्रेकसुमार्फत सुन तस्करी 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०८० भदौ ३१ आइतबार ०६:२८:००

चिनियाँ समूह दुई वर्षदेखि नेपालमा सक्रिय 

हवाई कार्गाेमार्फत नेपालमा सुन तस्करी गर्ने चिनियाँ समूहले दुई वर्षअघिदेखि नेपालमा तस्करीको योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ । सुरुमा उनीहरूले ‘स्मार्ट वाच’मा लुकाएर सुन तस्करी गरेकोमा विमानस्थलमै चोरी हुन थालेपछि सवारीसाधनका पार्टपुर्जा तथा सेभरलगायत मेसिनमा लुकाएर तस्करी गर्न थालेका हुन् । 

सुरुमा सो समूहले दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स नामक कम्पनी खडा गरी हङकङ हुँदै स्मार्ट वाच आयात गरेको थियो । त्यसभित्र सुन हुने गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी वकिल कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार गत माघदेखि नै उनीहरूले स्मार्ट वाचमार्फत सुन तस्करी गर्न थालेको देखिन्छ । एउटा घडीमा २० ग्राम सुन हुने गरेको पक्राउ परेका चिनियाँ लिन जेक्वाङले बयानमा उल्लेख गरेका छन् । 

उनले बयानमा भनेका छन्, ‘सन् २०२३ को मार्चदेखि सुरुमा स्मार्ट वाच (घडी)मा सुन नराखी पैठारी गरेको र दुई–तीनपटकपछि स्मार्ट वाचमा सुन राखी ल्याउन सुरु गरेको हो । एउटा स्मार्ट वाचमा २० ग्रामजति सुन हुन्थ्यो । स्मार्ट वाचमा सुन राखी ल्याउन थालेपछि विमानस्थल भन्सार कार्यालयबाट वेलावेलामा स्मार्ट वाच केही संख्यामा हराउन थाले, एकपटक आठ थान हराएपछि सेभर र ब्रेक प्याड सुलगायत मालबस्तुमा सुन राखी ल्याउन थालिएको हो । मलाई जानकारी भएअनुसार सेभरमा दुईपटक सुन राखी आएको थियो । दाह्री काट्ने सेभरको स्ट्यान्डभित्र लुकाई ५० ग्राम सुन आउँथ्यो । त्यस्तै, मालबस्तुमा कहिले सुन राखी र कहिले सुन नराखी आउने गर्थ्यो । ब्रेक प्याड सुमा राखेको सामान कहिल्यै हराउँदैनथ्यो र एक सेट ब्रेक प्याडमा पाँच सय ग्रामदेखि ६ सय ग्रामसम्म सुन हुने गर्थ्यो ।’ 

दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स कम्पनीले मात्र तीन महिना अवधिमा चार हजार सात सय १६ स्मार्ट वाच आयात गरेको उल्लेख छ । २० ग्रामका दरले त्यसमा ९४ केजी सुन रहने देखिन्छ । यस विषयमा सिआइबीले दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ । 

यसका लागि कम्तीमा एक वर्षदेखि योजना बनाएको देखिन्छ । स्मार्ट वाचमा लुकाएर सुन तस्करी गर्ने दोलखा इलेक्ट्रोनिक्स दोलखाका बिकुन्द्र भुजेलको नाममा २९ कात्तिक ०७९ मै स्थापना भएको थियो । भुजेललाई केही रकम दिएर चिनियाँ गिरोहले नै सुनलगायत सामान तस्करीका लागि सो कम्पनी चलाएको थियो । त्यस्तै, दोलखाकै दिलीप भुजेलको नाममा रेडी ट्रेड प्रालि खोेलेका थिए । रेडी ट्रेडमार्फत मात्र तीन सय ७२ केजी ७ सय १६ ग्राम सुन बरामद भएको सिआइबीको निष्कर्ष छ । अन्य कम्पनीमार्फत भएका तस्करीको विषयमा अनुसन्धान अब विस्तृतमा अघि बढ्ने सिआइबी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । 

तस्करी गर्ने चिनियाँ समूह भने दुई वर्षअघिदेखि नै नेपालमा सक्रिय रहेको देखिन्छ । उनीहरूले ०७८ देखि नै नेपालमा कम्पनी खोल्न थालेको देखिन्छ । १२ माघ ०७८ मा पहिलोपटक छुन्गाक इलेक्ट्रोनिक्स नामक कम्पनी खोलेका थिए । यसको सञ्चालकमा लेखनाथ कार्की डोलीलाई राखिएको थियो । त्यस्तै, रामकुमार भुजेलको नाममा भुजेल इलेक्ट्रिक्स र पवटी इलेक्ट्रिक्स, कुमारबहादुर भुजेलको नाममा हवडा इलेक्ट्रिक सप्लायर्स, सरिता तामाङको नाममा सरिता सप्लायर्स, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स खोलेका थिए । रेडी ट्रेडमार्फत तस्करी भएको सुनको अनुसन्धान सकेर गत बुधबार सिआइबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ भने अन्य कम्पनीमार्फत भएको तस्करीको अनुसन्धान गरिरहेको छ । अन्य कम्पनीमार्फत पनि पानी तान्ने मेसिन, सेभरलगायत विभिन्न सामान आयात गरेका छन् । 

सुन गाल्ने मेसिन पनि उनीहरूले एक वर्षअघि नै ल्याएका थिए । पक्राउ परेका साउतेन भन्ने डिङ सेङ फालेले बयानमा भनेका छन्, ‘सन् २०२२ को मेमा मैले दुई वटा मेसिन मगाएको, सन् २०२४ मार्चको अन्तिममा साम भन्ने झोङ जिङ चुहानले दुईवटा मेसिन पठाएकोमा एलेक्सले बालुवाटारमा राखेको हो । सन् २०२३ को मार्च अन्तिमतिर रोजर भन्ने ली नागकेईले दुईवटा सुन गाल्ने मेसिन मगाएको मलाई सम्झना छ, तर ती मेसिन कहाँ छन् भन्ने थाहा छैन ।’ 

सिआइबीले ५० जनालाई प्रतिवादी बनाउन माग गरी रायसहितको प्रतिवेदन बुझाएकोमा आइतबार सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दायर गर्दै छ । 

पक्राउ परेका चिनियाँ लिन जेक्वाङले बयानमा भनेका छन्–सन् २०२३ को मार्चदेखि सुरुमा स्मार्ट वाच (घडी)मा सुन नराखी पैठारी गरेको र दुई–तीनपटकपछि सुन राखी ल्याउन सुरु गरिएको हो । एउटा स्मार्ट वाचमा २० ग्रामजति सुन हुन्थ्यो । सुन राखी ल्याउन थालेपछि विमानस्थल भन्सार कार्यालयबाट वेलावेलामा स्मार्ट वाच केही संख्यामा हराउन थाल्यो, एकपटक आठ थान स्मार्ट वाच हराएपछि सेभर र ब्रेक प्याड सुलगायत मालबस्तुमा सुन राखी ल्याउन थालिएको हो । मलाई जानकारी भएअनुसार सेभरमा दुईपटक सुन राखी आएको थियो । दाह्री काट्ने सेभरको स्ट्यान्डभित्र लुकाई ५० ग्राम सुन आउँथ्यो । त्यस्तै मालबस्तु कहिले सुन राखी र कहिले सुन नराखी आउने गर्थ्यो । ब्रेक प्याड सुमा राखेको सामान कहिल्यै हराउँदैनथ्यो र एक सेट ब्रेक प्याडमा पाँच सयदेखि ६ सय ग्रामसम्म सुन हुने गथ्र्याे ।