१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:३७:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नाडा अटो सो : उपभोक्ताको आकर्षण विद्युतीय गाडीमा

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३७:oo

टाटा, एमजी, हुन्डाई, बिवाइडी, निटा, विलिङ, ग्रेटवाल, निसान, सिट्रोन, सेरेस, टेस्ला, किया, अउडी, बिएमडब्लूलगायत ब्रान्डका विद्युतीय गाडीले नेपाली बजार तताइरहेका वेला इन्धन गाडीका स्टलमा देखिएन आकर्षण

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा विद्युतीय र पेट्रोल तथा डिजेलबाट चल्ने गाडी प्रदर्शनीमा राखिएको छ । तर, आइसी अर्थात् पेट्रोल तथा डिजेल इन्जिन गाडीका स्टलमा दर्शक त्यति देखिँदैनन् । तर, कोभिड महामारी तथा आन्तरिक तथा बाह्य कारणले सुस्ताएको नेपालको अटो मोबाइल बजारमा फेरि चहलपहल बढेको ब्याट्रीबाट चल्ने विद्युतीय गाडीका स्टलमा देखिएको भिडले दर्साएको छ । अटो सो हेर्दा देशमा ‘विद्युतीय गाडीको युग’ सुरु भएको प्रस्ट हुन्छ ।

अटो सोमा एमजी, बिवाइडी, टाटा, हुन्डाई, सेरेस, ग्रेटवाल, सिट्रोन, निटा, मेक्सस, विलिङ ब्रान्डका विद्युतीय कार प्रदर्शनीमा छन् । यस्तै, आधा दर्जनभन्दा बढी विद्युतीय भ्यान ब्रान्ड पनि अटो सोमा छन् । टेस्ला, अउडी, बिएमडब्लूलगायत ब्रान्डका विद्युतीय कार नेपाली बजारमा भित्रिसके पनि अटो सोमा भने छैनन् । हुन्डाई, महिन्द्रा, सुजुकी, फोर्ड, कियालगायत सीमित ब्रान्डका पेट्रोल, डिजेलबाट चल्ने कार प्रदर्शनीमा राखिएका छन् । 

नेपालमा कोभिडपछि पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बिक्री घटेको छ । कमर्सियल गाडीको बिक्री ८० प्रतिशतसम्म घटेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । विद्युतीय कारमा उपभोक्ताको आकर्षण उत्साहजक रूपमा बढेको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । आइसी इन्जिन गाडीको बिक्री घट्दा विद्युतीय कारको बिक्री भने बढ्दो ट्रेन्डमा छ । 

बिवाइडी : अटो थ्री, इसिक्स, डल्फिन, सिल
बिवाइडीको अटो सोमा चारवटा मोडल अटो थ्री, इसिक्स, डल्फिन र सिल प्रदर्शनमा राखिएको छ । डल्फिन सबैभन्दा सस्तो र सिल प्रिमियम कार हो । जसमध्ये अटो थ्री सर्वाधिक लोकप्रिय छ । अटो थ्री एडभान्समा ४९.९२ किलोवाटको ब्याट्री, १०० किलोवाटको मोटर रहेको छ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ । यस्तै, सुपेरियरमा ६०.४८ किलोवाटको ब्याट्री र १०० किलोवाट मोटरपावर छ । यस मोडलको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ रहेको छ । 

बिवाइडीको अल न्यु इ–सिक्सको लङ रेन्जमा ७१.७ किलोवाटको ब्याट्री, ७० किलोवाटको मोटरपावर रहेको छ । फुलचार्जमा पाँच सय २२ किमि माइलेज दिने भनिएको यस मोडलको मूल्य ५९ लाख रुपैयाँ छ । हालै लन्च गरिएको डल्फिनमा ७० किलोवाटको मोटर र ४४.९ किलोवाट आवरको ब्याट्री प्याक छ, जसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ छ ।

टाटा : नेक्सन, टिगोर, एक्सप्रेस–टी र टियागो
टाटाका नेक्सन, टिगोर, एक्सप्रेस–टी र टियागो गरी चारवटा विद्युतीय कार बजारमा आइसकेका छन् । कम्प्याक्ट एसयुभी नेक्सन इभी सर्वाधिक रोजाइमा पर्छ । नेक्सन इभी म्याक्सको मूल्य ४९ लाख रुपैयाँ रहेको छ । यस्तै, टाटाकै २६ किलोवाट ब्याट्री र ५५ किलोवाट मोटर भएको टिगोरको मूल्य ३४ लाख रुपैयाँ छ । टाटाले नाडा अटो सोमा टियागो इभी सार्वजनिक गरेको छ, जसलाई हेर्न दर्शकको भिड छ । विभिन्न पाँच भेरियन्टमा उपलब्ध टियागो इभीको मूल्य २२ लाखदेखि २८ लाख रुपैयाँसम्म तोकिएको छ । सेडान एक्सप्रेस–टी विद्युतीय ट्याक्सीका रूपमा प्रयोग भइरहेको छ । 

एमजी : जेडएस, एमजी फोर र कोमेट
नाडामा एमजीको एमजी जेडएस, एमजी फोर, एमजी कोमेट प्रदर्शनीमा छन् । एमजी फोर र कोमेट हालै नाडालाई लक्षित गरेर सार्वजनिक गरिएको हो । अहिले एमजी जेडएस इभीमा ५१ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाटको मोटर रहेको छ । जसको मूल्य ५३ लाख रुपैयाँ छ । एमजी जेडएसका अरू भेरियन्ट पनि छन् । एमजी लङ रेन्जको मूल्य ७२ लाख रुपैयाँ रहेको छ । 

एमजी फोर कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्फर्टमा ५१ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवटाको मोटरजडित छ । यसको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस्तै एमजी फोर लक्जरीमा ६४ किलोवाट आवरको ब्याट्री र एक सय ५० किलोवाटको मोटरपावर छ । यसको मूल्य ५९ लाख रुपैयाँ रहेको छ । एमजीको मिनी इभी कोमेट पनि सार्वजनिक गर्ने बताइएको छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ । यो पनि प्ले र पेस गरी दुई भेरियन्टमा छ । नेपाली बजारमा कोमेटको सुरुवाती मूल्य १८ लाख रुपैयाँ तोकिएको छ । 

हुन्डाई : कोना, आयोनिक फाइभ
नाडा अटो सोमा हुन्डाईले कोना इभी प्रदर्शनीमा राखेको छ । र, अरू आइसी इन्जिन गाडी प्रदर्शनीमा देखिन्छन् । दुई भेरियन्टमा उपलब्ध सय किलोवाट मोटरपावर भएको कोनाको मूल्य ६२ लाख र ६५ लाख रुपैयाँ रहेको छ । एक सय २५ किलोवाट मोटरपावर भएको आयोनिक फाइभको मूल्य एक करोड दुई लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सिट्रोन : सी थ्री
नाडामा सिट्रोनको सी थ्री इभी प्रदर्शनीमा राखिएको छ । तुलनात्मक रूपमा कम मूल्यको गाडीले उपभोक्ताको पनि ध्यान तानेको छ । दुई भेरियन्टमा उपलब्ध सिट्रोनको मूल्य ३३ लाख र ३५ लाख रुपैयाँ रहेको छ ।

निटा : भी, एस, जिटी, यू
अटो सोमा निटाका चारवटा मोडल प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा सबैभन्दा बढी भिडभाड निटाको स्टलमा देखिन्छ । निटा भी, निटा एस, निटा जिटी र निटा यू गरी चारवटा भेरियन्ट प्रदर्शनीमा राखिएको छ । दर्शकको सबैभन्दा बढी चासो नेटा जिटी र नेटा एसमा देखिन्छ । प्रिमियम सेगमेन्टका यी दुवै मोडल मेलामा अहिले प्रदर्शनमा मात्र राखिएको हो ।  अहिले बजारमा निटा भी उपलब्ध छ । ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाटको मोटर रहेको निटा भीको मूल्य ३९ लाख रुपैयाँ रहेको छ ।    

निसान : लिफ 
अटो मेलामा निसान लिफ इभी प्रदर्शनीमा राखिएको छ । अरू चारवटा मोडल आइसी इन्जिनवाला कार हुन् । निसानका अरू कारमा भन्दा लिफ इभीमा बढी दर्शक तानिएका छन् । ४० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाट आवरको मोटरपावर रहेको लिफको मूल्य ६५ लाख रुपैयाँ छ ।

सेरेस : सेरेस थ्री र मिनी इभी
नाडामा सेरेसले सेरेस थ्री र मिनी इभी प्रदर्शनीमा राखेको छ । सेरेस थ्री कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा र मिनी इभी तीनवटा भेरियन्टमा उपलब्ध छ । सेरेसको स्टलमा उपभोक्ताको बाक्लै भिड लागेको देखिन्छ । मिनी इभीको मूल्य १४ लाखदेखि १८  लाख रुपैयाँसम्म रहेको छ । सेरेस थ्री कम्फर्टको ५० लाख र प्रिमियमको ५३ लाख रुपैयाँ छ ।

ग्रेटवाल : ओरा थ्री इभी
ग्रेटवाल मोटरको विद्युतीय कार ओरा थ्री अटो सोमा राखिएको छ । ग्रेटवालका आइसी इन्जिन गाडीले भन्दा उपभोक्ताको ध्यान ओरा थ्रीले खिचेको देखिन्छ । ९९ किलोवाट मोटरपावर रहेको ओराले फुल चार्जमा चार सय किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो गाडीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

मेक्सस : मिफा–९
नाडा अटो सोमा मेक्सस ब्रान्डको मिफा–९ इभी प्रदर्शनीमा राखिएको छ । प्रिमियम सेगमेन्टको यस गाडीको मूल्य एक करोड ४० लाख रुपैयाँ रहेको छ । तीन ड्राइभ मोड, सेभेन सिटर र फुल चार्जमा ५२० किलोमिटर माइलेज दिने भनिएको मिफा नाडामा राखिएको महँगोमध्येको इभी हो । यसमा ९० किलोवाट आवरको ब्याट्री प्याक रहेको बताइएको छ ।

इभीमा चार्जर उपहार इन्धन गाडीमा नगद छुट
नाडा अटो सोमा विद्युतीय गाडीमा नगद छुट दिइएको छैन । तर, इभी बुकिङ गर्दा कतिपय कम्पनीले चार्जर निःशुल्क, रोड ट्याक्सदेखि इन्स्योरेन्ससम्म तिरिदिने अफर ल्याएका छन् । आइसी इन्जिन गाडीमा भने नगद छुट नै उपलब्ध गराइएको छ । महिन्द्राले गाडीको मोडल हेरीकन एक लाखदेखि पाँच लाखसम्म नगद छुट दिएको छ । 

ग्रेटवालको ओरा इभीमा सात किलोवाटको चार्जर र एक वर्षको इन्स्योरेन्स अफर ल्याइएको छ । सिट्रोनले नाडामा गाडी बुकिङ गर्नेलाई एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स तिरिदिने योजना ल्याएको जनाएको छ । निटा भी खरिद गर्नेले फ्रिज, टिभीलगायत होमअप्लायन्स प्राप्त गर्नेछन् । मारुतीले नाडामा एक लाखसम्मको स्क्र्याच कुपनमार्फत छुट दिने अफर ल्याएको छ । कियाले नाडामै लन्च गरेको स्पोर्टेज कारमा तीन लाखसम्म डिस्काउन्ट, सेल्टोसमा एक लाख र सोनेटमा ५० हजार छुट दिइरहेको छ । एमजीले जेडएस इभीमा सात किलोवाटको चार्जर, एक वर्षको इन्स्योरेन्स र एउटा टायर उपलब्ध गराएको छ ।

९.९९ प्रतिशतमै अटो लोन 
नबिलले पाँच वर्ष अवधिका लागि १०.४९ प्रतिशत र सात वर्षका लागि १०.९९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगत रूपमा विद्युतीय गाडी किन्नेलाई १०.४९ प्रतिशत, इन्धनबाट चल्ने गाडीमा १०.९९ प्रतिशत ब्याजदरमा अटोकर्जा दिइरहेको छ । तर, कमर्सियल प्रयोजनका लागि खरिद गरिने विद्युतीय गाडीमा ११.४९ प्रतिशत र इन्धन गाडीमा १२.४९ प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ । 

प्रभु बैंकले हुन्डाई ब्रान्डको विद्युतीय गाडी खरिद गर्नेलाई ९.९९ प्रतिशत ब्याजदरमै अटोकर्जा उपलब्ध गराएको छ । अन्य ब्रान्डका विद्युतीय गाडीमा बेस रेटमको १ प्रतिशत प्रिमियम जोडेर अटोकर्जा दिएको छ । हिमालयन बैंकले विद्युतीय गाडी खरिद गर्नेका लागि बेस रेटमा १.१२ प्रतिशत प्रिमियम थपेर आठ वर्षको फिक्स रेटको अटो लोन दिएको छ । यस्तै, सानिमा बैंकले १०.९९ प्रतिशतमा सात वर्षसम्मको फिक्स दरको अटो लोन दिँदा लक्ष्मी सन्राइजले विद्युतीय गाडी खरिद गर्नेलाई बेस रेटमा एक प्रतिशत र इन्धन गाडी खरिद गर्नेलाई बेस रेटमा १.५ प्रतिशत मात्रै प्रिमियम थपेर कर्जा दिएको छ ।

ad
ad