मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २९ शुक्रबार o९:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक ट्राफिकको जिम्मामा १६ सय सवारी व्यवस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार o९:४८:oo

यातायात प्राधिकरणको कार्यक्षेत्रभित्रका विषयमा निर्णय गर्नुअघि समन्वय गरिने

काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषद्ले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नुअघि समन्वयका लागि अनुरोध गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को अध्यक्षतामा बिहीबार सम्पन्न पहिलोे बैठकले यस्तो निर्णय गरेको हो ।

मेयर साहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालिसकेको जानकारी पनि दिए । ‘यसअघि नेपाल सरकार, प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयहरूले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिनेछ । विगतमा भएका निर्णय कार्यान्वयन र नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ,’ साहले भने, ‘ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाहरूले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्नेछन् । यसका लागि थप बजेट चाहिँदैन । यसमा अधिकारभन्दा पनि कर्तव्यको कुरा आउँछ । धेरै काम पालिका आफैँले सञ्चालन गर्न सक्ने खालका छन् ।’

बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । सरकारले बनाउने प्राधिकरणको नियमावलीका व्यवस्थामाथि प्राधिकरणका तर्फबाट सुझाव पेस गर्ने जनाइएको छ । प्राधिकरणका काम, कर्तव्य र अधिकारका विषयमा छलफल गर्दै, स्रोत–साधन र सामथ्र्यका आधारमा तत्काल गर्न सकिने कामका विषयमा सम्बद्ध पक्षसँग छलफल गरेर आगामी बैठकमा कार्ययोजना पेस गर्नेसमेत निर्णय भएको छ । बैठकमा ललितपुर महानगरपालिकाका मेयर एवं परिषद्का उपाध्यक्ष चिरिबाबु महर्जनले यातायात क्षेत्रको व्यवस्थापन गर्ने काममा दोहोरोपना भएको बताए । ‘प्राधिकरण र परिषद्ले यस्ता दोहोरोपनालाई हटाउनुपर्छ । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले, परिषद्लाई गतिशील बनाउन पूर्वतयारीलाई बलियो बनाउनुपर्ने बताए ।

एकजना ट्राफिकले १.८७ किलोमिटर सडक हेर्दै
बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले एकजना ट्राफिक प्रहरीले १.८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार ६ सय ४८ वटा सवारीसाधन व्यवस्थापन गर्नुपरिरहेको उल्लेख गरे । सवारी व्यवस्थापनका लागि एक हजार एक सय १३ दरबन्दी छन् । यो जनशक्तिले नपुगेर काजमा प्रहरी थप गरेर एक हजार सात सय ८८ जना परिचालित भइरहेको उनले बताए । 

सवारीसाधन व्यवस्थापनका लागि मुख्य सडकमा रिक्सा, इ–रिक्सा, ठेला, पावर ट्रेलर सञ्चालनमा रोक लगाइएको छ । उपत्यका भित्रिने ट्रिपरहरूलाई बिहान पाँच बजेदेखि बेलुकी नौ बजेसम्म निषेध गरिएको छ । बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म ट्रक र मिनीट्रकलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ । भट्टका अनुसार आर्थिक वर्ष ०७८/७९ मा पाँच लाख चार हजार पाँच सय ९७ जनालाई, आव ०७९/८० मा आठ लाख ९५ हजार ६१ जनालाई कारबाही गरिएको छ । चालू आर्थिक वर्षको यस अवधिमा एक लाख १७ हजार चार सय ६८ जनालाई कारबाही गरिएको छ ।

यातायातविज्ञ सागर पन्तले संगठन संरचना बलियो र सक्षम जनशक्तिको व्यवस्थापन हुनुपर्ने बताए । ‘हाम्रा सन्दर्भमा अन्तर्राष्ट्रियस्तरबाट आएका विज्ञले गरेका अध्ययनहरूको सान्दर्भिकता बुझ्न र विश्लेषण गर्न सक्ने जनशक्ति भए मात्र प्रणालीमा सुधार गर्न सकिन्छ । अन्य क्षेत्रको अनुभवका आधारमा तयार पारिएका अध्ययन प्रतिवेदनका सुझाव यहाँको सन्दर्भमा उपयुक्त नहुन सक्छन्,’ उनले भने ।