१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २९ शुक्रबार o९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरका मेयर साह ‘टाइम म्यागेजिन’को १०० उदयीमान सूचीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार o९:३o:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित उनलाई सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो ।

स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर ३३ वर्षीय साहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।

गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौंमा मेयर साहले फोहोरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिबद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ ।

साथै, फोहोरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहोर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेको समेत उल्लेख छ । उनले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।