१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
मिलन पाण्डे काठमाडाैं
२०८० भदौ २९ शुक्रबार ०६:४४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रधानमन्त्रीज्यू, अन्तिम मौका नगुमाउनुहोस्

Read Time : > 5 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०८० भदौ २९ शुक्रबार ०६:४४:००

प्रचण्डले यो कार्यकालमा केही गर्न खोजेजस्तो देखिएको छ, यसपटक प्राप्त मौकाको सदुपयोग गरून् र नागरिकलाई नझुक्याऊन्

कुरा सशस्त्र युद्धकै बखतको हो । सेतो घोडा चढ्ने बूढा भनेर पर्वतका बखतबहादुर कुँवर चिनिन्थे । बखतबहादुर आफ्नो घोडालाई ‘सेते’ भन्थे । उनले निकै प्रेमले लालनपालन गरेका थिए भने कतै जान पर्‍यो भने बखतबहादुर सेतेमै सवार हुन्थे । बखतबहादुरका निम्ति सेते साधन मात्र थिएन, साथ र सहारा पनि थियो । तर, १४ कात्तिक ०६० देखि माओवादी धम्कीका कारण उनी गाउँबाट विस्थापित भई काठमाडौं बसेका थिए । त्यतिवेला उनीसित माओवादीले ६ लाख रुपैयाँ मागेको थियो । १५ असोज ०६२ मा माओवादी कार्यकर्ताले उनको घरबाट सेतेलाई कब्जा गरे । निकै आकर्षक, राम्रो र बलियो घोडा देखेपछि कार्यकर्ताले यस्तो घोडा त हाम्रो ‘सुप्रिमो’ले चढ्नुपर्छ भनेर सेतेलाई रोल्पा पुर्‍याए ।

प्रचण्डले कार्यक्रममा जाने र पार्टीका कार्यकर्ता भेटघाट गर्ने साधनका रूपमा उनै बखतबहादुरको घोडा प्रयोग गरिरहेका थिए ।पछि एक दिन एक साप्ताहिकमा प्रचण्डले आफ्नो घोडा चढेको फोटो देखेपछि बखतबहादुरले विभिन्न दलका प्रतिनिधि, सञ्चारकर्मी र मानवअधिकारकर्मी तथा प्रचण्ड स्वयंलाई भेटी आफ्नो घोडा फर्काइदिन माग गरे । धेरै धाएपछि, रोइकराइ गरेपछि प्रचण्डको आदेशमा माओवादी कार्यकर्ताले घोडा फिर्ता गरे । प्रचण्डप्रति आक्रामक बन्दै बखतबहादुरले त्यतिवेला भनेका थिए– सर्वहारा जनताका नेता अरे, दुनियाँ सर्वसाधारणको घरखेत कब्जा गरेर सर्वहाराका नेता बन्छन् । 

माओवादीको सशस्त्र युद्धका दौरानका धेरै घटना छन्, तर मलाई यो घटना निकै महत्वपूर्ण लाग्छ । कार्यकर्ताले राम्रो घोडा देख्दा त्यसलाई हाम्रा सुप्रिमोले चढ्नुपर्छ भनेर प्रचण्डलाई चढाउँथे । कार्यकर्ताको त्यो विश्वास, त्यो आस्थाले सामन्तवादविरुद्ध लड्दै गरेको संगठनमै सामन्तवाद हुर्कँदै थियो । राजतन्त्रविरुद्ध लड्दै गरेको संगठनमै राजा जन्मँदै थिए । 

०६२ मा एसएलसी दिएर बसेका वेला म सिडी किनेर अनिल कपुरको ‘नायक’ फिल्म हेर्थें । चारैतिर प्रचण्डको चर्चा थियो । कस्ता होलान्, के गर्लान् भन्ने थियो । धेरै त सम्झना छैन, तर ममा पनि निकै कुतूहल थियो । मलाई पनि कताकता नेपाली राजनीतिका ‘नायक’ प्रचण्ड नै हुन् भन्ने लाग्थ्यो । जुँगा पनि त अनिल कपुरसँग मिल्थ्यो नि प्रचण्डको ! अहिले बालेनको भन्दा त्यतिवेला प्रचण्डको क्रेज चर्को थियो । त्यसैले त पहिलो निर्वाचनमै झन्डै बहुमत दिएका थिए नेपालीले । 

तर, बिस्तारै प्रचण्डको राप, ताप सेलाउँदै गयो । युद्धका वेला गरेका गल्ती, अन्याय माफी दिँदै गर्दा प्रचण्ड र माओवादीमा बिस्तारै विचलन आउन थाल्यो । माओवादी अनि प्रचण्ड पनि तीन ‘म’ अर्थात् मनी, मोबाइल र मोटरमा भुल्न थाले । समाचार आउन थाल्यो, माओवादीले जिप कब्जा गर्‍यो, अनि त्यो जिपमा प्रचण्ड देखिए । प्रचण्डको हातमा महँगो घडी देखिन थाल्यो । ठूलो महलमा प्रचण्ड देखिन थाले । वर्षगाँठको भोज व्यापारीको घरमा हुन थाल्यो । प्रचण्ड नै ठेकेदारको घरमा बस्न थाले । माफियासँग खान थाले । यसरी क्रान्तिकारी प्रचण्ड, पुष्पकमल भए । उनी आजभोलि, ‘पूर्वक्रान्तिकारी’ नेता भनेर हाँसो र रिसको पात्र बनेका छन् । प्रचण्डले कुम हल्लाउँदा पूरै कार्यकर्ताको कुम हल्लिने पार्टीमा म यहाँ माओवादीका अन्य नेताको कुरा गर्दिनँ, किनकि प्रचण्ड नबिग्रिएको भए अरू पनि बिग्रने थिएनन् ।

गत १८ वर्षमा राजनीतिको केन्द्रमा कोही रहिरहे भने ती प्रचण्ड नै हुन् । सरकार र सत्तामा कोही निर्णायक व्यक्ति रहिरहे भने ती प्रचण्ड नै हुन् । तर, यसबीच प्रचण्डले पटक–पटक पाएको मौकाको सदुपयोग गर्न सकेनन् । मैले पनि बिस्तारै नायक फिल्म काल्पनिक थियो भन्ने बुझेँ र मेरा पनि अपेक्षा सकिँदै गए । नागरिकले ०७० को दोस्रो संविधानसभा निर्वाचनमै आफ्नो मत फिर्ता लिए र माओवादीलाई तेस्रो पार्टीमा खुम्च्याइदिए । त्यति वेलासम्म पनि मौका थियो, तर प्रचण्ड फेरि पनि संसदीय प्रणालीको लुप होल, ‘तेस्रो निर्णायक शक्ति’ बन्नमै अग्रसर रहे ।

प्रचण्डले आफ्नो अन्तिम मौकाको सदुपयोग गरून् । नागरिकमा आशाको सञ्चार गरून् । सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य सेवाको क्षेत्रमा काम गरून् र क्रान्तिकारी नेताको छवि फेरि प्राप्त गरून् ।
 

सिद्धान्ततः माओवादी अर्थात् प्रचण्डले गत ०७९ को प्रतिनिधिसभा निर्वाचनपछि सरकारको नेतृत्व गर्नु हुँदैनथ्यो । कांग्रेससँग मिलेर भोट मागेपछि एमालेसँग मिल्नु हुँदैनथ्यो । तर, प्रचण्डको निर्णायक खेलाडी बन्ने र कांग्रेस, एमालेलाई खेलाउने रणनीतिले गर्दा चुनावको भोलिपल्टै मतदातालाई धोका दिए । 

यति हुँदाहुँदै पनि, देख्दादेख्दै र बुझ्दाबुझ्दै पनि मलगायत धेरैले प्रचण्डलाई यो कार्यकालमा समर्थन गरेका थिए । यसको कारण थियो, अब नेपाल नयाँ चरणमा पुग्नुपर्छ । नयाँ चरणमा पुग्न हामीलाई स्थायित्व चाहिन्छ । त्यो स्थायित्व संविधान बलियो भएर मात्र प्राप्त हुन सक्छ । संविधान बलियो बनाउन पनि प्रचण्ड हार्नु हुन्न । पात्र र प्रणाली कुनै न कुनै रूपमा जोडिन्छ नै । यदि प्रचण्ड असफल भए राष्ट्रिय राजनीतिको दिशा नै परिवर्तन हुन सक्छ भन्ने हामीलाई डर थियो, छ । छिमेकमा चलेको उग्र राष्ट्रवाद र धर्मको राजनीतिको हावा नेपालमा सल्किनु हुन्न । त्यसका निम्ति प्रचण्ड सफल हुनुपर्छ । यो, संविधान सफल हुनुपर्छ र देश र नागरिकको अवस्था परिवर्तनको दिशामा अघि बढ्नुपर्छ । त्यसैले, धेरैले प्रचण्डलाई विगत भुलेर समर्थन गरेका थिए ।

यो कार्यकालको सुरुवातमा प्रचण्डले केही गर्न खोजेकोजस्तो पनि देखिएको छ । नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्ड, सुन काण्डमा प्रचण्ड सरकार ‘एक्सन’मा गएको पनि हो । तर, लुम्बिनी विकास कोषका उपाध्यक्षमा डा. ल्हारक्याल लामाको नियुक्ति, भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरीको सरुवा, माओवादीतर्फ अनुसन्धान सोझिँदा प्रचण्डका काँपेका हात हेर्दा उनले फेरि नागरिकलाई झुक्याए कि क्या हो भन्ने पर्न गएको छ । 

प्रचण्डले नागरिकलाई त झुक्याउँदै छन्, तर मलाई उनले कलिलो उमेरमा बन्दुक बोकेर युद्धमा होमिएकालाई झुक्याएको देख्दा भने रिस उठ्छ । सशस्त्र युद्धमा होमिनुअघि माओवादीले तत्कालीन प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको ४० बुँदे दस्ताबेज प्रचण्डले ०६३ पछि पढे कि पढेनन्, थाहा भएन, तर कलिलो उमेरमै युद्धमा होमिएकाहरूले भने उनी प्रत्येकचोटि प्रधानमन्त्री बन्दा पढ्दा हुन् । अनि उनीहरूको मनमा के आउँदो हो ? नेपालको राजनीतिको इतिहासमा प्रचण्डले जुन मौका पाए त्यो कसैले पनि पाएको छैन ।

४० मध्ये कति बुँदा लागू गर्न प्रचण्डले ओली र देउवासँग ‘बार्गेनिङ’ गरे थाहा छैन । कतै पढ्न पाएको छैन । तर, अब प्रचण्डले ४० बुँदामध्ये यी दुई बुँदा प्रत्येक दिन बिहान उठेर जप्नुपर्छ । बुँदा नं. २९ अर्थात् ‘सबैलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ ।’ अनि, बुँदा नं. ३५ अर्थात् ‘सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्छ । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ ।’

व्यापारीकरण अन्त्य गरिनुपर्छ भन्दा विद्यालय शिक्षा विधेयक भर्खरै संसद्मा दर्ता भयो । तर, केही दिनअघि मन्त्रिपरिषद्ले पारित गर्‍यो भनिएको विधेयकभन्दा फरक र निजी विद्यालयले चाहेको विधेयक आएको छ । केही दिनमै किन विधेयक परिवर्तन भयो ? यसको पछाडिको उत्तरले भने हामीमा रहेको थोरै आशालाई पनि मार्छ । प्रचण्ड बिस्तारै नेताबाट सौदागर अनि सौदागरबाट व्यापारी नै बन्दै छन् कि भन्ने डर लाग्छ । डर अस्वाभाविक छैन, हिजो भारतलाई गाली गरेर क्रान्तिकारी बनेका प्रचण्ड आज भारतका लागि नै ‘कम्फर्टटेबल’ सरकार बनाउन लागिपरेको चर्चा जो छ । प्रचण्डको जीवनशैली र राजनीति मात्र होइन, सिद्धान्तमा समेत परिवर्तन आएको छ ।

‘तपाईं यसो यज्ञतिर, होइन धार्मिक कर्मतिर, अनि गुरुजीहरूको तिर, गएको देखिन्छ नि त ! फोटो आउँछ ।’ करिब दुई वर्षपहिले पत्रकार सुधीर शर्माले ‘पूर्वक्रान्तिकारी’ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटा कार्यक्रममा प्रश्न गरेका थिए ।
उत्तरमा प्रचण्डले भने, ‘अब हेर्नुहोस्, मैले अघि भने नि, परिस्थितिअनुसार हुन्छ भनेर । जे भन्या थिएँ त्यही हो । भोट चाहिन्छ, जहाँ पनि जानैपर्‍यो नि !’ 

सो संवादलाई त्यहीँ बसेर नियालिराख्दा हाँसोको तापले गुन्जिएको हलमा मेरो मनमा भने चिसो पसिरहेको थियो । आज पनि मलाई त्यो बहस सम्झँदा ‘अप्ठ्यारो’ लाग्छ । हिजो आफ्नो टाउकाको मूल्य तोक्दासमेत पर्वाह नगरी राजनीतिमा होमिने ‘क्रान्तिकारी’ नेतासमेत आज भोटका लागि जहाँ पनि किन धाउनुपरिरहेको छ ? जे पनि किन बोल्नुपरिरहेको छ ? ज्यानभन्दा मत वा पद किन महत्वपूर्ण भयो ? आज उनी मोदीलाई खुसी बनाउन गेरु वस्त्रसमेत पहिरिएर लम्पसार पर्न किन तयार छन् ?

यद्यपि, प्रचण्डले आफ्नो अन्तिम मौकाको सदुपयोग गरून् । नागरिकमा आशाको सञ्चार गरून् । सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य सेवाको क्षेत्रमा काम गरून् र क्रान्तिकारी नेताको छवि फेरि प्राप्त गरून् भन्ने शुभेच्छा छ । तर, उनी चुके भने उनले ल्याएको भनेर लिने गरेको ‘क्रेडिट व्यवस्था’मै प्रश्न उठ्नेछ । सायद, व्यवस्था नै गिजोलिनेछ । प्रचण्डमै पनि प्रश्न उठ्नेछ, र प्रचण्ड नेपाली राजनीति, देशको ३० वर्ष बरबाद पार्ने नेतामा दरिन सक्छन् । एउटा पूरै पुस्तालाई बरबाद पार्ने नेता ठहरिन सक्छन् ।

प्रचण्डले मैले गणतन्त्र ल्याएँ भनेर मात्र अब उनको राजनीति टिक्दैन । अहिलेसम्म नागरिकले प्रश्न सोधेका छैनन् र उनले यो भन्न पाइरहेका छन् । तर, अब पनि यही गाना बजाइरहे, अब कोही पनि नाच्नेवाला छैन । अरूभन्दा प्रचण्डले गणतन्त्र ल्याएकोमा क्रेडिट लिन सक्लान्, तर गणतन्त्र प्रचण्डले ल्याएका होइनन्, नेपाली जनताले ल्याएका हुन् । सयजना पनि कार्यकर्ता रत्नपार्कमा उतार्न नसकेको कांग्रेस, एमाले र थाकिसकेको माओवादीले गणतन्त्र ल्याएका होइनन् । जनता सडकमा आएपछि, कांग्रेस–एमालेले झन्डा बोकेका हुन् । संयोग मिलेको हो । अनि, राजतन्त्र ढाल्ने क्रेडिट कसैलाई जान्छ भने त्यो स्वयं तत्कालीन राजा ज्ञानेन्द्रलाई नै जान्छ, अरूलाई जाँदैन ।

जब म भोटको राजनीतिका निम्ति आफ्नो आदर्श, राजनीतिक मर्म र धर्म बिर्सने नेतृत्व सम्झन्छु, मलाई एउटा पंक्ति बडो याद आउँछ– ‘संसार बदल्छु भन्थ्यो, आफैँ बदलिएछ ।’ यो गीतको ब्रान्ड एम्बेसडर प्रचण्ड नबनून् । एउटा प्रसंग जोडौँ । एउटा मुसा पासोमा राखेको मिठाई देखेर खान जान्छ । मिठाई खान्छ पनि । तर, त्यो पासोबाट उम्केर निस्कन सक्दैन । आज प्रचण्ड त्यही पासोमा परेको अनुभूति हुँदै छ । उनी उम्कन सक्छन् वा सक्दैनन्, त्यो भने हेर्न बाँकी नै छ । उनी उम्किऊन्, सफल होऊन्, शुभकामना छ ।

(पाण्डे विवेकशील साझा पार्टीका नेता हुन्)