१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० भदौ २९ शुक्रबार ०६:४५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुल्मीमा आत्महत्या विकराल समस्या बन्दै, पाँच वर्षमा तीन सय ८५ जनाले गुमाए ज्यान

Read Time : > 1 मिनेट
२०८० भदौ २९ शुक्रबार ०६:४५:००

गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेले २ भदौमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरे । रुरु क्षेत्र गाउँपालिका– ६ की पूर्वशिक्षिका ५५ वर्षीया पम्फाकुमारी दंगाल पछाईले आफूले व्यवहार सम्हाल्न नसकेको सुसाइड नोट लेखेर ६ भदौमा आत्महत्या गरिन् । घिमिरे र पछाईसँगै १ भदौयता १० जनाले आत्महत्या गरिसकेका छन् । जसमा ६ पुरुष, तीन महिला र एक बालिका छन् । 

जिल्लामा आत्महत्याको अवस्था निकै विकराल बन्दै गएको छ । जिल्लामा सबै उमेर समूह, वर्ग र जातका मान्छेहरू जीवन फालिरहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको पाँचवर्षे तथ्यांक हेर्दा तीन सय ८५ जनाले आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष ०७५/७६ मा ५५, ०७६/७७ मा ८०, ०७७/७८ मा ९८, ०७८/७९ मा ७१ र ०७९/०८० मा ८१ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा धेरैले झुन्डिएर तथा केहीले विष सेवन र पानीमा हाम फालेर आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । 

प्रहरीले बनायो आत्महत्या न्यूनीकरण कार्ययोजना
आत्महत्याको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले आत्महत्या न्यूनीकरण कार्ययोजना ०८० निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले गुल्मी देशभरमै १५औँ र लुम्बिनी प्रदेशमा पाल्पा र अर्घाखाँचीपछि तेस्रो स्थानमा आत्महत्या हुने जिल्ला भएकाले कार्ययोजना निर्माण गरेर अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जिल्ला, पालिका र वडास्तरीय आत्महत्या रोकथाम तथा नियन्त्रण कार्यदल निर्माण गरिएको जानकारी दिए ।

कार्यदलमा प्रहरी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेविका र आर्युवेद नागरिक आरोग्य गरेर एक हजार आठ सय ४१ जना छन् । प्रहरीले प्रत्येक पालिकामा एक सय ५४ र वडा तहमा २० जना परिचालन गर्न सकिने गरेर कार्ययोजना निर्माण गरेको छ । कार्यदलले अभिमुखीकरण, सबै तह र संघ–संस्थासँग समन्वयात्मक गर्ने, विद्यार्थी, सञ्चारकर्मी र समुदायलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने साथै उपचार र पुनस्र्थापनाको काम गर्ने एसपी प्रधानले जानकारी दिए ।

कार्ययोजना कार्यान्वयनमा आशंका
जिल्लाका विभिन्न समयमा सञ्चालन भएका सेलिब्रेटी अभियान र योजनाको पूर्णता पाएका छैनन् । आत्महत्या न्यूनीकरणको अभ्यास र योजना तीन वर्ष पहिले पनि नभएको होइन । पछि पूर्ण कार्यान्वयन हुन सकेन । अहिले गुल्मी प्रहरीले निर्माण गरेको आत्महत्या न्यूनीकरण कार्ययोजना धेरै हदसम्म समस्या समाधानको नजिक छ । तर, कार्यान्वयनमा चुनौती देखिन्छ । कार्ययोजनामा देखाइएको कार्यदल, जनशक्ति, र संघसंस्थाहरूले समयमै काम गरे असम्भव छैन ।

नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले उपलब्धिभन्दा पहिले कार्ययोजना कार्यान्वयनमै आशंका व्यक्त गरे । उनले आत्महत्या विकराल बन्दै गएकाले अभियान कुनै कार्यालय प्रमुखका लागि भन्दा पनि जिल्लाका लागि हुनुपर्नेमा जोड दिए । रेसुंगा बहुमुखी क्याम्पसका उपप्रध्यापक गुणनिधि शर्माले आत्महत्यासँग आर्थिक तथा सामाजिक कारण बढी भएकाले समस्या पहिचान प्रमुख कुरा भएको बताए । उनले एकै किसिमको कारणबाट मात्रै मान्छेले आत्महत्या नगरेकाले लक्षित समूह र समस्या पहिचानसहितको कार्ययोजना बन्नुपर्नेमा जोड दिए ।