१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४o:oo

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ । नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण स्थल आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए ।

क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ । नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणको निमन्त्रणा दिएकोमा धन्यवाद व्यक्त गरे । यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएको किमले उल्लेख गरे । यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । 

आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन स्वदेश फर्किएका छन् । राष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो रेलमा स्वदेश फर्कनुभएको रुसी समाचार संस्था आरआइए नोवोस्तीले जनाएको छ । वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने विश्वास व्यक्त गरेको रुसी समाचार समितिले जनाएका छन् ।

पुटिनले दुई देशबीचको सहयोग र मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त  गरे । वार्ता उत्तर कोरियाबाट रुसलाई हतियार आपूर्ति गर्ने तथा रुसबाट कोरियालाई जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने प्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोग गर्ने विषयमा केन्द्रित भएको आशंका छ । तथापि वार्ताको विस्तृत विवरण बाहिर ल्याइएको छैन । 

ad
ad