१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुँजी जुटाउन थप समय माग्दै प्राधिकरण पुगे बिमा कम्पनी

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:४६:oo

नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी जुटाउन नसकेका कम्पनीहरूले ६ महिनाको थप समय माग गरेका छन् । पुँजी जुटाउन नसकेको प्रभु र नेपाल इन्स्योरेन्स कम्पनीले पुँजी जुटाउने योजनासहित थप समयको माग गरेका हुन् । प्राधिकरणले दिएको अन्तिम समय गत असारमा सकिए पनि दुइटा कम्पनीले पुँजी जुटाउने प्रक्रिया अगाडि बढाएका छैनन् । यी कम्पनीलाई प्राधिकरणले पुनः पुँजी जुटाउने योजना पेस गर्न निर्देशन दिएको थियो ।

 नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बिमा कम्पनीमा रहेको आफ्नो सेयर बिक्री गर्ने योजना पेस गरेको छ । पुनर्बिमा कम्पनीमा सबै निर्जीवन बिमा कम्पनीको लगानी छ । जसमध्ये नेपाल इन्स्योरेन्सले ४० करोडबराबरको सेयर बिक्री गर्ने योजना पेस गरेको प्राधिकरणका कानुन शाखा प्रमुख शाम्बाराज लामिछानेले बताए । 

त्यस्तै, नेपाल इन्स्योरेन्सले विराटनगर, वीरगन्ज र काठमाडौंमा रहेको सम्पत्ति बिक्री गर्ने प्रस्ताव पनि योजनामा राखेको छ । कम्पनीले गत आवको आम्दानीबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । यसमा २३ प्रतिशत हकप्रद सेयर वितरण गरेपछि पुँजी पुग्ने कम्पनीको दाबी रहेको प्राधिकरणले जनाएको छ । 

त्यस्तै, प्रभु इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीमा रहेको सेयरमध्ये ४० करोडको बिक्री गर्ने योजना पेस गरेको प्राधिकरणका कानुन शाखा प्रमुख लामिछानेले बताए । त्यस्तै, कम्पनीले गत आवको आम्दानीबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने र त्यसमा ३० प्रतिशत हकप्रद वितरणपछि पुँजी पुग्ने योजना पेस गरेको छ । 

तर, कम्पनीहरूले बुझाएको योजना प्राधिकरणको सञ्चालक समितिले पारित गरे मात्रै लागू हुनेछ । ‘बोर्डको बैठकले योजना स्वीकृति गर्नुपर्छ । समय थपको विषयमा पनि बोर्डले अनुमति दियो भने मात्रै कार्यान्वयन हुन्छ,’ उनले भने । 

 एनएलजीलाई ६६ प्रतिशत हकप्रदको अनुमति
नेपाल बिमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई ६६ प्रतिशत हकप्रद सेयर वितरणको अनुमति दिएको छ । प्राधिकरणले तोकेबमोजिमको चुक्ता पुँजी कायम गर्न प्राधिकरणले एनएलजीलाई हकप्रदको अनुमति दिएको हो । एनएलजी इन्स्योरेन्स नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी हो । बिमा ऐनबमोजिम सहायक कम्पनी अन्य कम्पनीसँग मर्जरमा जान सक्दैन । सहायक कम्पनी भएकै कारण प्राधिकरणले ६६ प्रतिशतसम्म हकप्रद 
जारी गर्न पाउने सुविधा दिएको प्राधिकरणको कानुन शाखा प्रमुख लामिछानेले बताए । 

त्यस्तै, प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)लाई पनि ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । यो कम्पनी पनि जोइन्ट भेन्चरमा खोलिएको कम्पनी हो । यसमा भारत सरकारको पनि लगानी छ । भारत सरकारले आफ्नो हिस्सा पर्ने पुँजी थप गरेको छ भने बाँकीका लागि प्राधिकरणले हकप्रद जारी गर्ने अनुमति दिएको हो ।

प्राधिकरणले ०७९ चैतभित्रमा नै पुँजी कायम गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । प्राधिकरणले जीवन बिमा कम्पनीका लागि पाँच अर्ब र निर्जीवन बिमा कम्पनीका लागि दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । पुँजी कायम गर्नका लागि कम्पनीहरूलाई प्राधिकरणले तीनवटा विकल्प दिएको छ ।

पहिलो विकल्प भनेको मर्जरमा जाने, दोस्रो आफैँले पुँजी थप्ने वा साझेदार भिœयाउने र बोनस सेयर वितरण गरेर पुँजी कायम गर्न सक्ने सुविधा दिएको छ । मर्जरपछि पनि पुँजी नपुगेका कम्पनीको हकमा ३० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्ने अनुमति दिन सकिने प्राधिकरणको योजना रहेको छ । तर, प्राधिकरणले कम्पनीअनुसार पुँजी कायम गर्न सक्ने सुविधा दिएको छ । कम्पनीहरूको अवस्था फरक–फरक भएकाले पुँजी जुटाउनका लागि फरक–फरक खालको सर्त राखिएको प्राधिकरण कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

ad
ad