१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० भदौ २४ आइतबार ०८:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा ड्रुक एयरको व्यावसायिक अन्तर्राष्ट्रिय उडान  

Read Time : > 1 मिनेट
२०८० भदौ २४ आइतबार ०८:४४:००

सञ्चालनमा आएको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छ । विमानस्थलमा शनिबार चार्टर उडानमार्फत भुटानको ‘ड्रुक एयर’ले पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको हो । विमानबाट पोखरा आएका र पोखराबाट गएका यात्रुसँगै चालकदलका सदस्यलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले स्वागतसँगै बिदाइ गरेका छन् ।

पारोबाट चालकदलका सात र तीन चालकसहित १० जना सवार विमान बिहान ६:४० मा पोखरामा अवतरण गरेको थियो । पोखरामा अवतरण गरेको करिब डेढ घन्टापछि बिहान ८:०५ बजे पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना थिम्पुका लागि उडेको पोखरा विमानस्थलकी प्रवक्ता यसोदा सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार पहिलो व्यावसायिक उडानसँगै विमानस्थलले करबापत प्रतियात्रु तीन हजारका दरले एक लाख २६ हजार र ग्राउन्ड ह्यान्डलिङलगायतको शुल्क गरी करिब तीन लाख आम्दानी भएको छ । पारोदेखि पोखरासम्मको सीधा उडानका लागि करिब एक घन्टा समय लागेको थियो । ड्रुक भुटानको सरकारी वायुसेवा कम्पनी हो । ड्रुकले एयरबस ३१९ बाट उडान भरेको हो, जसको यात्रु क्षमता एक सय २० जना रहेको छ ।

यसअघि विमानस्थलमा ६ असार ०८० मा चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सले चीनको छेन्दु विमानस्थलबाट पोखरामा चार्टर उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो भने शनिबार ड्रुकले दोस्रो चार्टर उडान गरेको हो । 

पोखरा उडानका लागि २५ साउनमा नागरिक उड्डयन प्राधिकरणसँग ड्रुकले अनुमति मागेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार चार्टर उडानका लागि ड्रुकका अध्यक्ष र महानिर्देशक केही समयअघि नेपाल आएका थिए । त्यसपछि प्राधिकरणले चार्टर उडानका लागि अनुमति दिएको हो । चार्टरसँगै व्यावसायिक उडानपछि ड्रुकले आफ्नो कार्यालयमा उडान प्रतिवेदन पेस गर्नेछ । दिएको प्रतिवेदनको अध्ययनपछि भुटानको नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक उडान सुरु गर्ने भुलले जानकारी दिए । हाल ड्रुकले साताको सात दिन भुटानबाट व्यावसायिक उडान गर्ने भन्ने जानकारी दिएको भुलले बताए । पोखरामा हुने व्यावसायिक उडानपछि ड्रुकले पोखरा–दिल्ली–पारो उडान गर्ने गरी तयारी गरेको छ ।

१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागनुमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको थियो ।