१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o८:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

आजबाट तीनदिने ‘बिपी साहित्य महोत्सव’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:१३:oo

कांग्रेसले पहिलोपटक ‘बिपी साहित्य महोत्सव’ आयोजना गर्दै छ । ११०औँ बिपी जन्मजयन्तीको अवसरमा कांग्रेसले बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्न लागेको हो । 

महोत्सव तयारी समिति संयोजक सहमहामन्त्री बद्री पाण्डेका अनुसार महोत्सवको तयारी पूरा भएको छ । उनले बिपीको राजनीति, साहित्य र विचारका आयामलाई एकीकृत रूपमा छलफलमा ल्याउन र युवा पुस्तालाई आकर्षित गर्न महोत्सव गर्न लागिएको जानकारी दिए । राजनीतिमा देखिएका गलत संस्कृतिको अन्त्य र असल संस्कृतिमा अभिमुख गराउनु महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ । 

‘बिपीको राजनीति, साहित्य र विचारका विविध आयामलाई एकीकृत ढंगले बृहत्तर रूपमा एकैपटक छलफलमा ल्याऔँ र नयाँ पुस्तामाझ बिपीलाई नवीकरण र हस्तान्तरण पनि गराऔँ भन्ने उद्देश्यले बिपी साहित्य महोत्सव गर्न लागेका हौँ,’ उनले भने, ‘यो कार्यक्रम गर्ने भनी पार्टीको केन्द्रीय समितिबाटै निर्णय गरेका थियौँ । यसबाट बिपीको साहित्य र विचारप्रति युवा आकर्षण बढ्नेछ र पठन संस्कृतिको समेत विकास हुनेछ भन्ने हाम्रो बुझाइ रहेकाले एउटा बृहत् उद्देश्य र ठूलो महत्वाकांक्षाका साथ यो महोत्सव आयोजना गरेका हौँ,’ पाण्डेले भने । 

महोत्सव कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म चल्नेछ । महोत्सव कांग्रेसको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइनआर्टको सहयोगमा हुनेछ । महोत्सवमा दैनिक एक कि नोट स्पिच, चार प्यानल डिस्कसन, डिस्कसनमाथि लाइभ आर्ट, चित्रकला र तस्बिर प्रदर्शनी र दैनिक एक डकुमेन्ट्री प्रस्तुत हुनेछ । कार्यक्रममा साहित्य र राजनीतिमा बिपीबारेका १२ सत्र मुख्य आकर्षणको रूपमा रहेका छन् । महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत समावेश छन् । 

पहिलो दिन प्राध्यापक अभि सुवेदीले बिपीको साहित्य सिर्जना र जीवनदर्शन, दोस्रो दिन प्राध्यापक आनन्द कुमारले ‘मार्क्स, गान्धी र बिपी : आजको लोकतान्त्रिक समाजवादको खोजी’ र तेस्रो दिन प्राध्यापक केदारभक्त माथेमाको ‘बिपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला ?’ भन्ने विषयमा कि नोट स्पिच रहनेछ । पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगीतिक साँझ आयोजना हुनेछ । कार्यक्रममा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी गरी १२ सत्र रहनेछन् । 

ad
ad