देशभरका सात सय ५२ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको दाबी भइरहँदा बहुसंख्यक किसान भने वित्तीय संस्थाको पहुँचबाहिर रहेको तथ्य बाहिर आएको छ । राष्ट्रिय कृषि गणना ०८० अनुसार ७५.१९ प्रतिशत किसानले ऋण लिन बैंक तथा वित्तीय संस्थाबाहेकको स्रोतमा भर परिरहेको तथ्य सार्वजनिक भएको हो । चार लाख ४८ हजार किसानले बचत तथा ऋण सहकारी संस्था, साहु–महाजन, आफन्त एवं ट्रेडर्सको भर पर्नुपरेको तथ्यांकले देखाएको छ । सबैभन्दा डरलाग्दो तथ्यांक के छ भने, ९.२६ प्रतिशत किसान साहु–महाजनमै निर्भर रहेका छन् । कृषि गणनाअनुसार यो संख्या ५५ हजार चार सय हो । संरचनागत रूपमा बैंक तथा वित्तीय संस्थाहरूले शाखा विस्तारको तथ्य देखाएर वित्तीय पहुँच पुगेको दाबी गर्दै आइरहेका छन् । तर, कृषि गणनाको यो तथ्यले वित्तीय पहुँचको वास्तविक चित्र बाहिर ल्याएको छ ।
राष्ट्र बैंकबाट इजाजत लिने क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने किसान २४.८० प्रतिशत मात्रै छन् । त्यसबाहेक ऋण लिने किसान ७५.१९ प्रतिशत मात्रै रहेको कृषि गणनाले देखाएको छ । आफन्तसँग ऋण तथा सरसापटी गरेर पैसा जोहो गर्ने किसानको संख्या १०.९० प्रतिशत छ । अर्थात्, ६५ हजार किसान आफन्तकै भर पर्नुपरेको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी सहकारीमा निर्भर
किसानको पुँजी उपलब्धता सहज बनाउन गाउँ–गाउँमा पुगेको बचत तथा ऋण सहकारीको भूमिका महत्वपूर्ण देखिन्छ । ऋण लिनेमध्ये ३१.४८ प्रतिशत किसान सहकारीमै निर्भर छन् । अर्थात्, यो संख्या एक लाख ८७ हजार ६ सय छ । त्यस्तै, ६० हजार एक सय किसानले कृषक समूह र ६५ हजार कृषकले महिला समूहबाट ऋण लिएर पुँजीको जोहो गरेका छन् । ट्रेडर्सबाट ऋण लिएर खेतीपाती गर्ने किसानको संख्या दुई हजार सात सय पुगेको छ । त्यस्तै, ऋण नै नलिई कृषि गर्ने किसानको संख्या भने ३६ लाख ४७ हजार ६ सयजना पुगेको तथ्यांकले देखाएको छ ।
पशुपालन र मलमा बढी ऋण
अधिकांश किसानले पशुपालन र मलका लागि ऋण लिने गरेको गणनाले देखाएको छ । पशुपक्षीपालन गर्ने उद्देश्यले ऋण लिने कृषक परिवारको संख्या ३६.६ प्रतिशत छ भने मलका लागि ऋण लिने परिवारको संख्या ३२.३ प्रतिशत छ । सबैभन्दा कम ऋण लिनेमा पुष्पखेती र च्याउखेती गर्ने कृषक छन् । ऋण लिएर फूलखेती गर्ने परिवारको संख्या ०.३ प्रतिशत छ भने च्याउखेती गर्नेको संख्या ०.५ प्रतिशत मात्रै छ ।
कृषिका लागि ऋण लिने परिवार घटे
कृषिका लागि ऋण लिने कृषक परिवारको संख्या घटेको छ । ०६८ को तुलनामा ऋण लिने परिवारको संख्या घटेको हो । ०७८ को राष्ट्रिय कृषि गणनाअनुसार ऋण लिने कृषक परिवारको संख्या चार लाख ८३ हजार पुगेको छ । यो संख्या कुल कृषक परिवारको १२ प्रतिशत हो । ०६८ मा यो संख्या कुल कृषक परिवारको २२ प्रतिशत थियो । अर्थात्, यो संख्या आठ लाख ३६ हजार थियो ।