मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
मनीष खड्का रुकुम पश्चिम
२०८० भदौ २१ बिहीबार १५:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा भीषण हावाहुरी, मकैबालीमा १० करोडभन्दा बढीको क्षति 

खाद्य संकट निम्तिने, १६ सय मेट्रिकटन खाद्यान्न अपुग 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०८० भदौ २१ बिहीबार १५:२२:००

केही दिनअघि आएको भीषण हावाहुरीले रुकुम पश्चिममा कुल लगाइएको मकैमध्ये आधाभन्दा बढीमा क्षति पुगेको छ। 

हावाहुरीले जिल्लाभरमा करोडौँको क्षति गरेको छ। कृषि विकास कार्यालय रुकुम पश्चिमका अनुसार हावाहुरीले मकैमा झन्डै साढे १० करोडबराबरको क्षति गरेको छ।

निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले हावाहुरीले जिल्लाभरमा १० करोड २९ लाख ३९ हजार तीन सय ७५ रुपैयाँबराबरको क्षति गरेको जानकारी दिए। 

यसै साताको हावाहुरीसहितको वर्षाले जिल्लाका सबै स्थानीय तहमा क्षति गरेको उनको भनाइ छ। उनका अनुसार जिल्लामा यो वर्ष कुल तीन हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ। 

यो क्षेत्रफलमा गत वर्ष आठ हजार तीन सय १३.४ मेट्रिकटन मकै उत्पादन भएको थियो । कुल खेती गरिएको मकैमध्ये ५२ प्रतिशतमा क्षति पुगेको निमित्त कार्यालय प्रमुख केसीले बताए। गत वर्षको उत्पादनका आधारमा ५२ प्रतिशत क्षति हुनु भनेको चार हजार एक सय १७.६ मेट्रिकटन क्षति हुनु रहेको उनले बताए

कुन स्थानीय तहमा कति क्षति ?

कृषि विकास कार्यालयका अनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा पौने चार करोडबरारको क्षति भएको छ । आठबिसकोटमा तीन करोड ७३ लाख ४७ हजार तीन सय ७५ रुपैयाँबराबरको क्षति भएको छ। 

चौरजहारी नगरपालिकामा दुई करोड चार लाख २८ हजार सात सय ५० रुपैयाँ, त्रिवेणी गाउँपालिकामा एक करोड ७२ लाख ६७ हजार नाै सय ६ रुपैयाँ २५ पैसा, मुसिकोट नगरपालिकामा एक करोड ६४ लाख १७ हजार आठ सय १२ रुपैयाँ पाँच पैसा, बाँफिकोट गाउँपालिकामा ६४ लाख १२ हजार पाँच सय र सानीभेरी गाउँपालिकामा ५० लाख ६५ हजार ३१ रुपैयाँ २५ पैसाबराबरको क्षति भएको कृषि विकास कार्यालयले संकलन गरेको क्षतिको विवरणमा उल्लेख छ। 

खाद्यसंकट निम्तिने 

यो वर्ष खाद्यसंकटको अवस्था सिर्जना हुने कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले बताए। गत वर्ष २५ सय १५ मेट्रिकटन खाद्यान्न बचत भएकामा यो वर्ष १६ सय पाँच मेट्रिकटन खाद्यान्न अपुग हुने उनको भनाइ छ। 

जिल्ला खाद्यान्नमा आत्मनिर्भर भए पनि यो वर्ष भने हावाहुरीले मकैमा आधाभन्दा बढी क्षति गरेपछि खाद्य अपुग हुने उनले बताए। स्थानीयसहित तीनै तहका सरकारले खाद्यसंकटलाई रोक्न राहतलगायतका कार्यक्रम ल्याउनुपर्ने उनले बताए। सरोकारवालाले ध्यान नदिने हो भने गम्भीर अवस्था आउन सक्ने केसीको चिन्ता छ।