
संगीतले बौद्धिक, सामाजिक व्यक्तित्व विकासमा सघाउँछ । वाद्यवादन, गायन, गीत सिर्जनालगायत संगीतका विधाले मानिसमा उर्जा भर्छ । धैर्य, आत्मविश्वास र आत्मजागरण बढाएर लैजान्छ । हुन त संगीतका लागि उमेरको हद छैन, जुनसुकै उमेरका मानिसले पनि संगीतको अभ्यास गरेर आफूलाई शान्त राख्न सक्छन् । तर, बच्चैबाट संगीत सुरु गर्दा यसै क्षेत्रमा करिअर बनाउन पनि सहज हुन्छ ।
सिर्जनशीलता : फरक तरिकाले सोच्ने र कल्पना गर्ने बानी बस्छ । पृथक् योजना र दृष्टिकोण बनाउनका लागि यो उपयोगी छ ।
सामाजिक बनाउँछ : संगीत समूहमा बसेर सिकिन्छ । समूहमै बसेर प्रस्तुत गरिन्छ । जसकारण सामाजिक रूपमा घुलमिल हुने, समूहमा विश्वास गर्ने र सहकार्य गर्ने खुबी विकास भएर जान्छ ।
भावनात्मक विकास : भावनामा संगीतको शक्तिशाली प्रभाव रहन्छ । संगीतमार्फत आफूलाई अभिव्यक्त गर्न सक्ने खुबी बालबालिकामा विकास हुनु भनेको उनीहरूको भावनात्मक बौद्धिकता र बुझाइ विकास हुनु हो ।
खुसी : भविष्यमा संगीतमै करिअर बनाउने वा सौखका रूपमा भए पनि यसलाई निरन्तरता दिने बानी विकास हुन्छ । संगीतमा लाग्नेहरू खुसी र भरिपूर्ण हुन्छन् ।
सुन्ने कला : संगीतमा लाग्नेमा ध्यानपूर्वक सुन्ने बानीको विकास हुन्छ । त्यस्तै, भाषाको दखल पनि राम्रो हुन्छ । राम्रोसँग सुन्ने र त्यसलाई मस्तिष्कमा पनि राम्ररी स्मरण गर्ने खुबी विकास हुन्छ । उदाहरणका लागि, गीतमार्फत ए, बी, सी, डी वा क, ख, ग, घ सिकाउँदा बालबालिकाले चाँडै सिक्छन् र सम्झन्छन् पनि । अध्ययनहरूले देखाएका छन्, कुनै विदेशी भाषामा बोल्नभन्दा गाउन सहज हुन्छ ।
शान्ति : मस्तिष्क, शरीर र आत्माका लागि संगीत लाभदायी छ । यसले मानिसलाई शान्त राख्छ । तसर्थ, बच्चालाई जीवनका महŒवपूर्ण पाठ बुझाउनका लागि अभिभावकले उनीहरूको रुटिनमा खेलकुदसँगै संगीतलाई पनि समावेश गराउन जरुरी हुन्छ । उनीहरूको मानसिक, शारीरिक र सामाजिक कला सुधार भएर जान्छ ।