१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१o:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई सातादेखि महिला माननीयबीच बाझाबाझ

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१o:oo

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तबारे दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा महिला सांसदहरूबीचको बाझाबाझ दुई साता बित्दा पनि अझै सेलाएको छैन । संसद् बैठक, पार्टीहरूका संसदीय दलका कार्यालय र सामाजिक सञ्जालमा महिला माननीय बाझाबाझमै छन् । 

मुद्दाको सुरुवात ७ भदौको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने कांग्रेस सांसद ईश्वरी न्यौपानेको अभिव्यक्तिबाट भएको हो । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको नाम नलिई उनको अभियोगबारे सरकारलाई प्रश्न गरेकी थिइन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण जेल पर्दा पैसा लेनदेनमा संलग्न फरार अभियुक्त छोरा (प्रतीक)को अझै पनि खोजबिन हुन नसकेको र सरकारको आँखा नपुगेको भन्दै न्यौपानेले गृहमन्त्रीसँग जवाफ माग गरेकी थिइन् । नयाँ काण्ड (सुन) आउँदा पुरानो (भुटानी) काण्ड थन्क्याइएको र यो उचित नभएको उनको भनाइ थियो । 

‘अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र तस्करीका नाइके दावा छिरिङको च्याट कुराकानीको वास्तविकता के हो ? कस्तो–कस्तो सामानमा सुन आउँदै छ, त्यसका लागि के–कति पैसाहरू दिने, पैसा कति अफर गरिएको भन्ने पनि च्याटमार्फत देखिएको छ । यसको वास्तविकता सरकारले जानकारी गराओस्,’ उनले त्यस दिन भनेकी थिइन् ।

उनी त्यतिमा मात्र रोकिइनन्, एमाले सांसद नैनकला थापाको नामै नलिई उनीमाथि प्रहार गरिन् । ‘नक्कली भुटानी शरणार्थीमा फरार अभियुक्त छोरा जसले आमालाई मैले यति पैसा पठाएको, पाउनुभयो कि पाउनुभएन भनेर भनेको छ । त्यो भिडियो रेकर्ड छ । तर, हाम्रो प्रहरी वा सरकारको आँखा त्यहाँ पुग्दैन,’ न्यौपानेले भनेकी थिइन्, ‘आजसम्म पनि खोजबिन हुन सकेको छैन । पूर्वमन्त्री खाण त्यही केसमा जेलमा हुनुहुन्छ । सरकारले गर्न के खोजिरहेको छ । हामी चाहन्छौँ–कोही निर्दोष नफसोस्, कोही दोषी नउम्किऊन् । ...गृहमन्त्रीलाई सोध्न चाहन्छु– त्यो के हो ?’ 

प्रत्यक्षदर्शी सांसदहरूका अनुसार न्यौपानेले धारणा राख्दा एमाले सांसद थापा पछाडितिरको सिटमा थिइन् । केही समयमा न्यौपाने बाहिरिन लाग्दा ‘माननीयज्यू पख्नुस्, पख्नुस्’ भन्दै नैनकलाले बाहिरिने गेटमा भेट्टाएकी थिइन् । त्यसपछि नैनकलाले ‘तपाईंले के बोलेको ? मेरो छोराबारे नभएको कुरा जे पायो त्यही बोल्ने ? अर्काको बेइज्जत गर्ने ? यो तपाईंले ठीक गर्नुभएन, यसको हिसाब हुन्छ’ भनेर आक्रोश पोखेको प्रत्यक्षदर्शी एक सांसदले बताए ।

सदनमा बोलेको कुरामा व्यक्तिगत रूपमा नैनकला प्रतिवादमा आएपछि न्यौपाने पनि विवादमा उत्रिएकी थिइन् । ‘एउटा सांसदले हाउसमा राखेको विषयमा अर्काे सांसद आएर बाझ्ने होइन । मैले तपाईंको छोरा हो भनेको छैन, यो याद राख्नुस्,’ न्यौपानेको भनाइ उद्धृत गर्दै बाझाबाझ सुनेकी एक महिला सांसदले भनिन् ।

ती सांसदले भनिन्, ‘लबीसम्म पुग्दा नैनकलाजी एकदमै आवेशमा आउनुभयो । पछि एमालेकै माननीय आएर उहाँलाई तानेर भित्र लैजानुभयो ।’ उनका अनुसार एमाले सांसदहरू आएर ‘उहाँको बुझाइमा कमजोरी भयो’ भनेर लगेका थिए । त्यतिवेलासम्म कांग्रेस सांसद पनि भेला भइसकेका थिए । जसमा देवप्रसाद तिमल्सेना पनि थिए, उनले ‘यो संसदीय मर्यादा नभएको’ भन्दै ध्यानाकर्षण गराएका थिए । 

न्यौपाने र थापाबीचको संसद् भवनको विवाद यत्तिकै सेलाएन, त्यसपछि सामाजिक सञ्जालतिर पनि पस्यो । घटना भएकै दिन ७ भदौको साँझ न्यौपानेले फेसबुकमा लेखिन्, ‘फरार अभियुक्तले परिवारको सदस्यसँग फोनमा गरेको कुराको वास्तविकता के हो ? एउटै केसमा कोही जेलमा, कसैलाई पुछपाछसम्म पनि किन भएन भनेर संसद्मा कुरा राख्दा माननीय नैनकलाजी संसद् लबीभित्रै आक्रामक शैलीमा प्रस्तुत भई मलाई तथानाम भन्नुभयो । कसैको नामसमेत किटेर नभनेको मेरो भनाइमा संसद् भवनभित्रै गरेको आपत्तिको त्यो शैली हेर्दा स्मृतिका पानाहरूमा ओझेल परिसकेका द्वन्द्वकालीन दिनहरू सम्झन पुगेँ । अनि सोच्न बाध्य छु, चोरको खुट्टा काट् भन्दा चोरले आफैँ खुट्टा तान्छ भनेको यही हो त ?’

पाँच दिनपछि यो मुद्दा फेरि संसद् प्रवेश गर्‍यो । १२ भदौको बैठकमा कांग्रेस सांसद शान्ति विकले यो मुद्दा उठाइन् । ‘संसद् हामी सबैको साझा थलो हो । यहाँ हामीले संयम र जिम्मेवार, विषयकेन्द्रित, अरूको मर्यादालाई ख्याल गर्दै आत्मसम्मानमा चोट नपुग्ने गरी प्रस्तुत हुँदा हामी सबैको ओज बढ्ने, जनविश्वाससमेत बढ्ने ज्ञान हामी सबैलाई छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘तर, ७ भदौको बैठकमा माननीय ईश्वरी न्यौपानेले बढो संयम भएर आफ्नो भनाइ राखिरहँदा प्रतिपक्षीकी एकजना माननीय सांसदले अस्वाभाविक तवरले अभद्रता प्रस्तुत गर्नुभयो । संसद्को गरिमामा खलल पुग्ने गरी लबीभित्र नै अमर्यादित रूपमा प्रस्तुत हुनुभयो । दुव्र्यवहार शैलीमा माननीय न्यौपानेमाथि अभद्र व्यवहारका साथ आक्रमण भयो । म घोर भत्र्सना गर्दछु, के कारणले गर्नुभएको हो, यो प्रश्नको उत्तर चाहिन्छ भन्ने माग राख्दछु ।’

यो मुद्दा यत्तिकै सेलाएन । १८ भदौको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले संसद्मै उठाइन् । ‘संविधाको धारा १०३ अनुसार यस सदनभित्र संसद्का सदस्यलाई बोल्ने पूर्ण वाक स्वतन्त्रता छ । संविधानको अधीनमा रहेर अभिव्यक्ति दिएकी ईश्वरी न्यौपानेलाई ७ भदौमा अभिव्यक्ति दिएर बाहिर निस्कने क्रममा प्रतिपक्षीका एकजना माननीय सदस्यले यही सदनको लबी कक्षभन्दा अलिकति पर जुन व्यवहार गर्नुभयो, जुन उहाँले नमिठो शब्दहरू बोल्नुभयो, उहाँले धाक–धम्की दिनुभयो, त्यसको म घोर भत्र्सना गर्छु,’ थिङले भनेकी थिइन्, ‘संसद्मा उठेको प्रश्न संसद्बाटै प्रतिवाद गर्ने ज्ञान उहाँमा रहेनछ, त्यसकारण ज्ञानको कमी भएकाले उहाँलाई क्षमादान गरिदिन माननीय न्यौपानेलाई अनुरोध गर्दछु ।’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसकै सचेतकले यो मुद्दा संसद्मा उठाएपछि दुईजना महिला माननीयबीचको विवादबारे अरू नेताहरूको पनि चासो बढेको छ । कांग्रेस र एमालेका सांसदहरू वास्तविकता बुझ्दै छन् । 

एमाले सचेतक महेश बर्ताैलाले आफूले यो विषय सुनेको र सत्तापक्ष सांसदले सदनमा सुनाउनुभन्दा पनि केही समस्या भए विपक्षी दलको संसदीय दललाई जानकारी गराउँदा सुधार गरेर जान सकिने धारणा राखे । ‘लबीमा को कहाँ गएर के गर्नुहुन्छ थाहा हुने कुरा भएन । दलको कार्यालयमा कहीँबाट सूचना पनि आएको छैन,’ उनले भने, ‘सम्बन्धित माननीयले पनि तपाईंको पार्टीको माननीयले यस्तो गर्नुभयो भन्नुभएको छैन । यति त परिपक्वता उहाँहरूले देखाउनुभएको भए हुन्थ्यो । किन उहाँहरूले सीधै सदनमा राख्नुभयो थाहा भएन । कतिपय अनौपचारिक ढंगले भनेको हुन सक्छ ।’

उनले न्यौपाने र थापाबीच ठ्याक्कै के भयो विस्तृत बुझ्न नपाइएको भन्दै थपे, ‘यदि त्यस्तो घटना कहिलेकाहीँ भयो भने एकले अर्काे दललाई जानकारी गराउँदा राम्रै हुन्छ । हामी सम्बन्धित माननीयसँग के भएको हो भनेर समन्वय गर्न सक्छौँ । सांसदको हार्दिकता र भित्र भएको छलफललाई बाहिर विषय बनाउनु राम्रो होइन ।’

यस विषयमा सांसद थापासँग कुरा गर्न चाहे पनि सम्पर्कमा आउन चाहिनन् । नैनकलाले फोनकल तथा म्यासेजको कुनै प्रतिक्रिया दिइनन् । उनी पूर्वमन्त्रीसमेत हुन् । यसअघि मञ्जु खाणले पनि भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछेर सदनमा कुरा नराखिदिन नेमकिपाका प्रेम सुवाललाई अनुरोध गरेकी थिइन् । तर, मञ्जुले हार्दिकतापूर्वक अनुरोध गरेकाले त्यति विवाद भने भएको थिएन । 

उच्च अदालतमा शरणार्थी मुद्दामाथि आज सुनुवाइ हुँदै
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै संगठित ठगी तथा किर्ते गरेको अभियोगमा थुनामा रहेकाहरूको मुद्दामा बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । थुनामा पठाउने आदेशविरुद्ध प्रतिवादीहरू उच्च अदालत गएका थिए । 

गत १ असारमा जिल्ला अदालत काठमाडौैंले ‘तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन’ भन्दै १६ जनालाई थुनामा पठाएको थियो । थुनामा परेका सबैजना उच्च अदालत गएका छन् । जसमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसमेत छन् । 

गृह मन्त्रालयमा नक्कली प्रतिवेदन बनाएको देखिएको, बिचौलिया र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेबीच यस विषयमा च्याट भएको, बिचौलिया सानु भण्डारीको डायरीमा विभिन्न व्यक्तिलाई पैसा दिएकोलगायतका विषयलाई आधार बनाई जिल्ला अदालतले थुनामा राखेको थियो । प्रहरीले ३० जना प्रतिवादीमाथि २८ करोड ८१ लाख ७४ हजार रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै १० जेठमा ठगी, किर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरको मुद्दा दायर गरेको थियो ।

ad
ad