१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

फेरि बढ्न थाल्यो पेट्रोलियम पदार्थको खपत

गत आवमा २७ अर्ब रुपैयाँले पेट्रोलियम पदार्थको आयात घटेको थियो

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:३१:oo

गत आर्थिक वर्ष ०७९/८० मा उच्च दरले घटेको पेट्रोलियम पदार्थको खपत चालू आव ०८/८१ को पहिलो महिनाबाटै बढ्न थालेको छ । नेपाल आयल निगम लिमिटेडको तथ्यांकअनुसार गत आवमा ग्यासको खपत १०.४० प्रतिशतले वृद्धि हुनुबाहेक अन्य पेट्रोलियमको खपत घटेको थियो । निगमका अनुसार गत आवमा पेट्रोल ८.२६ प्रतिशत, डिजेल १९.७६ प्रतिशत, मट्टीतेल २५.३१ प्रतिशत र हवाई इन्धन ३.९८ प्रतिशतले आयात घटेको थियो । तर, चालू आवको साउनमा अघिल्लो महिनाको सोही अवधिको तुलनामा पेट्रोल ६.८४ प्रतिशत, डिजेल ७.८६ प्रतिशत, मट्टीतेल ५२.७२ प्रतिशत, हवाई इन्धन ११.७२ प्रतिशत र ग्यास ९.११ प्रतिशतले आयात बढेको छ ।

गत आवको साउनमा पेट्रोल ५४ हजार आठ सय ७६ किलोलिटर, डिजेल ७९ हजार तीन सय ४२ किलोलिटर, मट्टीतेल पाँच सय २० किलोलिटर, हवाई इन्धन ११ हजार तीन सय ५२ किलोलिटर र ग्यास ४१ हजार चार सय ७० किलोलिटर आयात भएको थियो । चालू आवको साउनमा पेट्रोल ५८ हजार नौ सय आठ किलोलिटर, डिजेल ८६ हजार एक सय १७ किलोलिटर, मट्टीतेल ११ सय किलोलिटर, हवाई इन्धन १२ हजार आठ सय २४ किलोलिटर र ग्यास ४५ हजार ६ सय ३१ किलोलिटर आयात भएको निगमले जनाएको छ ।

निगम प्रवक्ता मनोज ठाकुरले गत आवको तुलनामा यो वर्ष मूल्य कम भएका कारण खपत बढेको प्रारम्भिक विश्लेषण भएको बताए । ‘गत आवमा अन्तर्राष्ट्रिय भाउ निकै उच्च भएकाले नेपाली बजारमा पनि मूल्य धेरै थियो, जसकारण खपत केही कम हुनपुगेको थियो,’ उनले भने, ‘चालू आवमा भने तुलनात्मक मूल्य कम छ । जसकारण खपत बढेको हाम्रो बुझाइ छ ।’

प्रवक्ता ठाकुरले भनेजस्तै गत आवको साउनको तुलनामा यो वर्ष पेट्रोलियमको मूल्य घटेको छ । गत वर्ष साउनमा पेट्रोल एक सय ८१ रुपैयाँ, डिजेल र मट्टीतेल समान एक सय ७२ रुपैयाँ र आन्तरिक हवाई इन्धन एक सय ९० रुपैयाँ प्रतिलिटर थियो । बाह्य हवाई इन्धन १.६४ डलर प्रतिलिटर र खाना पकाउने ग्यास एक हजार आठ सय रुपैयाँ प्रतिसिलिन्डर थियो ।

यो वर्ष साउनमा भने मूल्य घटेर पेट्रोल एक सय ७०, डिजेल र मट्टीतेल समान एक सय ५० रुपैयाँ, आन्तरिक हवाई इन्धन एक सय ३६ रुपैयाँ प्रतिलिटर कायम भएको थियो । त्यस्तै, बाह्य हवाई इन्धन १.०३५ डलर प्रतिलिटर र खाना पकाउने ग्यास एक हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर थियो । यसरी मूल्यमा ठूलो कमी आएकाले खपतमा वृद्धि भएको निगमको भनाइ छ । यद्यपि, भदौमा निगमले लगातार मूल्यवृद्धि गरेका कारण उपभोक्ता मारमा पर्न थालेका छन् ।

निगमका अनुसार भारत र नेपालको मूल्य समान हुँदासमेत खपतमा वृद्धि भएको छ । गत वर्ष नेपालमा महँगो हुँदा मालवाहक ठूला सवारीसाधनले भारतमा इन्धन भर्ने गरेका थिए भने यो वर्ष साउनमा नेपालमा मूल्य केही सस्तो भएको हुँदा ठूला त्यस्ता गाडीले नेपालमै इन्धन भरेर जाने गरेका थिए । जसकारण खपतमा समेत सुधार आएको निगमको भनाइ छ ।

निगमको तथ्यांकअनुसार गत आवमा कुल २७ अर्ब रुपैयाँले पेट्रोलियम पदार्थको खपत घटेको थियो । अघिल्लो आव ०७८÷७९ मा तीन खर्ब आठ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएकोमा गत आव ०७९/८० मा भने दुई खर्ब ८१ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो । चालू आवमा भने खपतदर वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

 डिजेलको खपत हिस्सा नै घट्यो
पेट्रोलियमको कुल खपतमध्ये डिजेलको हिस्सा सबैभन्दा धेरै छ । आव ०७८/७९ सम्म डिजेलको खपत हिस्सा ५९ प्रतिशत थियो । तर, गत आव ०७९/८० मा डिजेलको खपत हिस्सा नै घटेर ५० प्रतिशतमा सीमित भएको निगमले जनाएको छ । त्यस्तै, २१ प्रतिशत हिस्सा ओगट्ने गरेको पेट्रोलको खपत हिस्सा बढेर २४ प्रतिशत पुगेको छ । खाना पकाउने एलपी ग्यासको खपत हिस्सा पनि १७ प्रतिशतबाट बढेर १९ प्रतिशत पुगेको छ । 

पछिल्ला वर्षहरूमा हवाईजहाजमा यात्रा गर्नेको संख्या बढेसँगै हवाई इन्धनको पनि खपत बढेको छ । जसकारण यसको खपत हिस्सा ६ प्रतिशत पुगेको छ भने मट्टीतेलको खपत हिस्सा करिब एक प्रतिशत रहेको छ ।

ad
ad