
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र विस्तारका लागि आवश्यक सहुलियत र अनुकूल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्।
बुधबार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको संयुक्त रूपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरेको भन्दै आगामी दिनमा देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको उल्लेख गरे।
देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास रहेको उनको भनाइ छ।
मन्त्री बस्नेतले विद्युतीय सवारीसाधनले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए।
सरकारले जलविद्युत् क्षेत्रको दिगो विकासका लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि सरकारले नीतिहरू निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गरे।
मन्त्री बस्नेतले विद्युतीय सवारीसाधनको क्षेत्रलाई सरकारले कानुनी व्यवस्थामा मात्रै सीमित नभएको भन्दै व्यावहारिक जीवनमा अभियानको रूपमा अगाडि बढाउने बताए।
चार्जिङ स्टेसनहरूको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण साबित हुने मन्त्री बस्नेतको भनाइ छ। उनले विद्युतीय अन्य वस्तुहरू नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने बताए।