१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:oo:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा १० कक्षासम्मै दिवा खाजा 

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:oo:oo

ललितपुर र भक्तपुरले केन्द्रकै १५ रुपैयाँले पाँच कक्षासम्म टार्छन्

काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षाको तल्लो तह बालशिक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि नै दैनिक ३० रुपैयाँका दरले विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सुरु गरेको हो । 

हाल संघीय सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई दैनिक १५ सय रुपैयाँ खाजा कार्यक्रमका लागि छुट्याउँदै आएको छ । संघीय सरकारको खाजा कार्यक्रम प्रभावकारी नभएको भन्दै महानगरले सो खाजा कार्यक्रमलाई कक्षा १० सम्म नै पुर्‍याएको महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत नेत्रनारायण पौडेलले जानकारी दिए । उनका अनुसार महानगरभित्र रहेका सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भइसकेको छ । खाजा कार्यक्रमका लागि नौ करोड पचास लाख रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट किस्ता–किस्तामा विद्यालयलाई उपलब्ध गराइने पौडेलले बताए । 

सीताराम कोइराला, शिक्षा विभाग प्रमुख, काठमाडौं महानगर
राजधानीकै विद्यालय भए पनि खाजा कार्यक्रम नहुँदा बीचमै कक्षा छाड्ने, नियमित विद्यालय नआउने, आएकाहरूले पनि खाजा खान नपाउनेजस्ता समस्या देखिएको थियो । त्यसैले यसपटकदेखि कक्षा १० सम्म खाजा कार्यक्रम सुरु गरिएको हो । विद्यार्थीको नाममा छुट्याइको रकम विद्यालयमा पठाइनेछ भने विद्यालयले नै सहुलियतमा खाजा खुवाउने व्यवस्था मिलाउनेछ । 

महानगरभित्र सामुदायिक विद्यालयको संख्या ८९ वटा रहेको छ भने यी विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या झन्डै ९० हजार हाराहारी छ । ‘राजधानीकै विद्यालय भए पनि खाजा कार्यक्रम नहुँदा बीचमै कक्षा छाड्ने, नियमित विद्यालय नआउने, आएकाहरूले पनि खाजा खान नपाउनेजस्ता समस्या देखिएको थियो । त्यसैले यसपटकदेखि कक्षा १० सम्म खाजा कार्यक्रम सुरु गरिएको हो,’ महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भने । विद्यार्थीको नाममा छुट्याइको रकम विद्यालयमा पठाइनेछ भने विद्यालयले नै सहुलियतमा खाजा खुवाउने व्यवस्था मिलाउनेछ । ‘विद्यार्थीकोे सहजताका लागि विद्यालयमा आकर्षण गर्न हामीले खाजा कार्यक्रमलाई व्यवस्थित बनाएका हौँ,’ कोइरालाले भने, ‘महानगरभित्र रहेका सामुदायिक विद्यालयले खाजाको शुल्क लिन पाउँदैनन् ।’ 

सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट भाषणका क्रममा यसअघि कक्षा ६ सम्म दिँदै आएको खाजा कार्यक्रम कटौती गरेर पाँचसम्म मात्रै सीमित राखेको थियो । खाजा कार्यक्रममा आठ लाख ४५ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार कक्षा १० सम्म नै खाजा कार्यक्रमका लागि कम्तीमा १६ अर्ब रुपैयाँ चाहिन्छ । तर, सरकारले निकै कम बजेट विनियोजन गरेपछि कक्षा ६ मा त्यसअघि दिँदै आएको खाजा कार्यक्रम पनि कटौती भएको छ । कक्षा पाँचसम्म खाजा कार्यक्रमका लागि नौ अर्ब ५० करोड बजेट चाहिन्छ । त्यस्तै, सरकारले आर्थिक वर्ष ०७९/८० का लागि कक्षा ६ सम्मका विद्यार्थीलाई समेट्दै नौ अर्बभन्दा बढी बजेट विनियोजन गरेको थियो । सरकारले हाल विद्यालयमा जंकफुड खुवाउन निषेध गरेको छ भने विद्यालय वा घरमै बनाएको खानेकुरा खुवाउन निर्देशन पनि दिएको छ । 

स्वर्णिम र गरिखाने शिक्षा कार्यान्वयनमा महानगर
काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा यस वर्ष अघि सारेका महŒवाकांक्षी योजना ‘गरिखाने शिक्षा महानगरको इच्छा’ र ‘स्वर्णिम विद्यालय परियोजना’ कार्यक्रमको कार्यान्वयन थालेको छ । ‘गरिखाने शिक्षा महानगरको इच्छा’लाई महानगरले गौरवको योजनामा राख्दै विद्यालयसँग व्यापक छलफल अघि बढाएको छ । यो कार्यक्रमअन्तर्गत विद्यार्थीको सिकाइलाई व्यावहारिक सीप र रोजगारसँग जोड्ने महानगरको योजना छ । त्यसका लागि छलफल गर्न महानगरले शुक्रबार र शनिबार धुलिखेलमा गोष्ठीसमेत आयोजना गरेको थियो । महानगरभित्र रहेका ८९ वटै सामुदायिक विद्यालयका शिक्षकलाई सहभागी गराएर महानगरले सिकाइमूलक शिक्षामा ध्यान दिन प्रअहरूलाई निर्देशन दिएको थियो । मेयर बालेन्द्र साहले नै ‘गरिखाने शिक्षा महानगरको इच्छा’को योजना अघि सारेका थिए ।

यस कार्यक्रमअन्तर्गत विद्यार्थीको सीप विकास गर्ने, पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमैत्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने, शिक्षण सिकाइमा सुधार ल्याउने, असल अभ्यासको आदान–प्रदान गर्ने, नतिजा सुधार गर्ने, रोबोटिक कार्यक्रम सञ्चालन गर्नेलगायत पर्छन् । यसको कार्यान्वयनका लागि विद्यालयका प्रअहरूसँग छलफल गरिएको विभाग प्रमुख कोइरालाले जानकारी दिए । उनका अनुसार महानगरकै अर्को कार्यक्रम ‘स्वर्णिम विद्यालय परियोजना’अन्तर्गत विद्यालयमा भौतिक र मानवीय स्रोत चुस्त बनाउने, वातावरण सहज र शान्त पार्ने, विद्यालय सिंगारपटार गर्ने, बालक्लब स्थापना गर्ने, पूर्वविद्यार्थीबीच भेटघाट गराउने, अनुगमन र मूल्यांकन गर्नेलगायत कार्यक्रम समावेश छ । यी कार्यक्रम पनि कार्यान्वयनको चरणमा पुगेको विभाग प्रमुख कोइरालाको भनाइ छ ।

प्रअहरूसँग महानगरले माग्यो आय–व्यय विवरण 
धुलिखेलमै शुक्रबार भएको गोष्ठीका क्रममा महानगरपालिकाले ०७९/८० मा विद्यालयलाई दिइएको बजेट प्रभावकारिताबारे प्रश्न उठाउँदै प्रधानाध्यापकसँग खर्च विवरण प्रस्तुत निर्देशन दिएको थियो । त्यसपछि पालैपालो प्रअहरूले विद्यालयको आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए । विद्यालयलाई दिइएको बजेटको कार्यान्वयन र आर्थिक अभाव भएका विद्यालयको अवस्था बुझ्न उनीहरूलाई आम्दानी र खर्च विवरण पेस गर्न भनिएको विभागका शाखा अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार सबै प्रअहरूले विद्यालयको आम्दानी र खर्च विवरण पेस गरेका थिए । सबै विद्यालयले आम्दानी र खर्च विवरण पेस गरेपछि शिक्षा विभाग प्रमुख कोइरालाले आवश्यक बजेटका लागि महानगरले सहयोग गर्ने बताउँदै सीप र सिकाइमूलक शिक्षामा ध्यान दिन प्रअहरूलाई निर्देशन दिएका थिए ।

ललितपुर र भक्तपुरमा पाँच कक्षासम्म मात्रै खाजा 
ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले भने केन्द्र सरकारकै आधार मानेर कक्षा पाँचसम्म मात्रै दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । ललितपुरले केन्द्र सरकारबाट आउने प्रतिविद्यार्थी १५ रुपैयाँमा १० रुपैयाँ थप गरेर २५ रुपैयाँको खाजा कक्षा पाँचसम्म खुवाउने गरेको छ भने भक्तपुरमा यति पनि छैन । भक्तपुरमा केन्द्र सरकारले दिएको १५ रुपैयाँको खाजा कक्षा पाँचसम्म खुवाइँदै आएको छ । शिक्षा विभाग भक्तपुरका प्रमुख कृष्ण कर्माचार्यले खाजा कार्यक्रम केन्द्रले तोकेअनुसारकै रहेको बताए । शिक्षा विभाग प्रमुख ललितपुरका प्रमुख महेन्द्र क्षेत्रीले केन्द्रले दिएको १५ रुपैयाँमा १० रुपैयाँ थप गरेर कक्षा पाँचसम्म खाजा कार्यक्रम सञ्चालन भइरहेको बताए । उसका लागि महानगरले दुई करोड १० लाख विनियोजन गरेको छ ।
 

ad
ad