१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Friday, 09 May, 2025
सुवास भट्ट काठमाडाैं
२o८o भदौ १९ मंगलबार o९:२३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यान्वयनमा आएन सिंहदरबारमा बोतलको पानी निषेध गर्ने घोषणा

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार o९:२३:oo

मेलम्चीको पिउनयोग्य खानेपानी जडान भइसक्दा पनि मन्त्रालयहरूले बोतलको पानीको प्रयोग छाडेनन्

अघिल्ला खानेपानीमन्त्री अब्दुल खानले गत ११ माघमा पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बोतलको खानेपानी रोक्ने घोषणा गरे । तत्कालीन सचिव मणिराम गेलाललाई बोतलका पानी रोकेर सार्वजनिक धाराको खानेपानी व्यवस्थापन गर्न निर्देशन दिए । मन्त्रीको निर्देशनअनुसार सचिव गेलालले सिंहदरबारका मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी आउने व्यवस्था गर्नेदेखि सार्वजनिक धारा जोड्नेसम्म काम गरे । तर, मेलम्चीको पिउनयोग्य खानेपानी जडान भइसक्दा पनि मन्त्रालयहरूले बोतलको पानीको प्रयोग छाडेका छैनन् । 

अर्थ मन्त्रालयले गत माघमै जारी गरेको प्रशासनिक खर्च कटौती गर्नेसम्बन्धी निर्देशनमा बोतलको पानी निरुत्साहित गर्ने भनेको थियो । तर, सबैभन्दा बढी बोतलको पानी खरिद अर्थ मन्त्रालयले नै गर्छ । प्रधानमन्त्री कार्यालयले भने बोतलको पानीको प्रयोग घटाउँदै लगेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले बोतलको पानीको प्रयोग बैठक हलहरूमा मात्र गर्ने र उप्रान्त सबै शाखा÷महाशाखाहरूमा बोतलको सट्टा गुणस्तरीय जारको पानी प्रयोगमा ल्याउने व्यवस्था मिलाउने निर्णय गत २८ साउनमा गरेका छन् । गत वर्ष मासिक दुई लाख २९ हजार दुई सय ४७ रुपैयाँका दरले बोतलको पानी किनेकोमा यसपालि मासिक दुई लाखको हाराहारीमा खरिद गर्दै आएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयअगाडि जडान भएको मेलम्ची खानेपानीको धारा । तस्बिर : संजित परियार/नयाँ पत्रिका

खानेपानी मन्त्रालयका अनुसार सिंहदरबारका अधिकांश मन्त्रालय तथा कार्यालयहरूमा मेलम्चीको पानी पुग्ने गरी प्रणाली जडान गरिएको छ । अहिले सिंहदरबारमा ३९ वटा भवन रहेकामा २४ भवनमा मेलम्चीको पानी आउने गरी प्रणालीसँग आबद्ध गरिएको छ । यसअघि ती भवनहरूमा बोरिङको पानी वितरण हुन्थ्यो । बाँकी भवनहरूमा पनि मेलम्चीको प्रणाली जोडिने मन्त्रालय बताउँछ । 

खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बोतलको पानी पूर्ण रूपमा हटाउन व्यावहारिक कठिनाइ रहेको बताइन् । मेलम्ची र जारकै पानी पिउन मिल्ने भए पनि सिंहदरबारभित्र ‘भिआइपी’हरूको आवागमन हुने भएकाले बोतलको पानीमा रोक नै लगाउन भने नसकिने उनको भनाइ छ । ‘सिंहदरबारभित्र भिआइपीहरू आउनुहुन्छ, उहाँहरूलाई पनि जारको पानी थापेर दिने कुरा स्वाभाविक हुँदैन,’ उनले भनिन्, ‘कर्मचारी र सामान्य अवस्थामा भने जारको पानी प्रयोग गर्न सकिन्छ ।’ 

प्रधानमन्त्री कार्यालयले घटायो बोतलको पानी
प्रधानमन्त्री कार्यालयले भने बोतलको पानीको प्रयोग घटाउँदै लगेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले बोतलको पानीको प्रयोग बैठक हलहरूमा मात्र गर्ने र उप्रान्त सबै शाखा÷महाशाखाहरूमा बोतलको सट्टा गुणस्तरीय जारको पानी प्रयोगमा ल्याउने व्यवस्था मिलाउने निर्णय गत २८ साउनमा गरेका छन् । गत वर्ष मासिक दुई लाख २९ हजार दुई सय ४७ रुपैयाँका दरले बोतलको पानी किनेकोमा यसपालि मासिक दुई लाखको हाराहारीमा खरिद गर्दै आएको छ ।

सेवाग्राहीका लागि सिंहदरबारमा खानेपानीका तीन धारा 
सिंहदरबारमा निजामती र सुरक्षा निकायसहितका गरी करिब पाँच हजार राष्ट्रसेवक कार्यरत छन् । यहाँ दैनिक सयौँ मानिस विभिन्न काम लिएर आउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सबै संघीय मन्त्रालय (स्वास्थ्यबाहेक) यहीँ छन् । तर, यहाँ आउने आगन्तुक र कर्मचारीले बाहिर निस्किँदा तिर्खा लागे पानी पाउने अवस्था थिएन । 

खानेपानीको यही समस्या समाधानका लागि खानेपानी मन्त्रालयले सिंहदरबारभित्र तीन धारा जडान गरेको छ । खानेपानी मन्त्रालय, गृह मन्त्रलाय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि धारा जडान गरिएका छन् । खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी आपूर्ति व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले यी धाराको व्यवस्थापन गरेका छन् । 

मीना श्रेष्ठ, प्रवक्ता खानेपानी मन्त्रालय
सिंहदरबारमा बोतलको पानी पूर्ण रूपमा हटाउन व्यावहारिक कठिनाइ छ । सिंहदरबारभित्र भिआइपीहरू आउनुहुन्छ, उहाँहरूलाई पनि जारको पानी थापेर दिने कुरा स्वाभाविक हुँदैन । कर्मचारी र सामान्य अवस्थामा भने जारको पानी प्रयोग गर्न सकिन्छ ।

खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले पहिलो चरणमा ‘ट्रायल’का लागि तीन ठाउँमा धारा जडान गरिएको बताइन् । मन्त्रालयले चार ठाउँमा धारा जडान गर्ने योजना बनाए पनि हालका लागि तीन स्थानमा मात्र राखिएको उनले बताइन् । ‘पहिलो चरणमा तीन धारा जडान गरिएको छ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘मागका आधारमा क्रमशः अरू धारा पनि जडान गर्न सकिन्छ । 

प्रवक्ता श्रेष्ठका अनुसार यी धारा मेलम्चीकै प्रणालीसँग जोडिएको छ । मेलम्चीको पानी आउने अनामनगरमा रहेको ट्यांकीमा सिंहदरबारको खानेपानी प्रणाली जोडेर त्यहाँबाट पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । उनले धारामा आउने पानी सीधै पिउन मिल्ने बताइन् । ‘शुद्धीकरण गरिएकाले धारामा आउने पानी सीधै पिउन मिल्छ,’ उनले भनिन् । मेलम्चीको पानीलाई सुन्दरीजलमा नै प्रशोधन गरेर वितरण गर्ने व्यवस्था गरिएको छ । धारामा २४ घन्टा नै पानी आउने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । 

तर, वर्षा, पहिरोको जोखिम तथा मर्मतसमेत गर्नुपर्ने भएका कारण मेलम्चीको पानी केही समयअघि रोकिएको थियो । केही दिनयता मेलम्चीबाहेकका स्रोतमा जोडेर वितरण सञ्चालन गरिएको छ । सिंहदरबारमा गरिएको सार्वजनिक धाराको यो ‘ट्रायल’ सफल भए सिंहदरबारबाहिरका प्रमुख विभागहरूमा पनि सेवाग्राहीका लागि धारा जडान गरिने प्रवक्ता श्रेष्ठले बताइन् । 

तत्कालीन खानेपानीमन्त्री अब्दुल खानले गत १७ चैतमा सिंहदरबारका खानेपानी धारा उद्घाटन गर्दै उनले छिट्टै सिंहदरबारबाहिरका सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क, अस्पताललगायतका स्थानमा पनि सार्वजनिक धारा राख्ने घोषणा गरेका थिए । केही स्थानमा सस्तो मूल्यमा ‘वाटर एटिएम’ सुरु गरिए पनि निःशुल्क सार्वजनिक धारा भने छैनन् ।