१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १९ मंगलबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार o६:१६:oo

नेपाली महिला क्रिकेट टोली आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा लगातार चौथो जित निकाली सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार कतारमाथि नौ विकेटको सानदार जित निकाली समूह ‘ए’मा सर्वाधिक चार अंक जोड्यो । प्रतियोगितामा अन्तिम चार स्थान बनाउने नेपाल पहिलो टोली हो । यसअघि नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो । समूह ‘ए’मा नेपालले अब बुधबार अन्तिम खेलमा युएईको सामना गर्नेछ ।

मलेसियाको बायुमासमा पहिलो ब्याटिङ गरेको कतारले २० ओभरमा सात विकेट गुमाएर ७४ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १०.३ ओभरमा केवल एक विकेट मात्र गुमाएर ७५ रन जोड्यो । लक्ष्य पछ्याउँदा नेपालका लागि काजल श्रेष्ठ र सीता रानामगरले पहिलो विकेटका लागि ६.६ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । रानामगरले छनोट प्रतियोगितामा पहिलोपटक ओपनिङ ब्याटिङ गर्न अवसर पाइन् । काजलले २८ बलमा चार चौकाको सहयोगमा ३२ रन बनाइन् । उनी पानायामको ओभरमा बोल्ड भइन् । 

त्यसपछि रानामगरले इन्दु बर्मासँग दोस्रो विकेटका लागि अविजित साझेदारी गरिन् । अघिल्ला खेलमा खराब ब्याटिङ गरेकी इन्दु कतारविरुद्ध फर्ममा देखिइन् । उनले १२ बलमा तीन चौकाको सहयोगमा २० रन जोडिन् । रानामगरले २३ बलमा १७ रन बनाइन् । रानामगरले आफ्नो इनिङ्समा बाउन्ड्री प्रहार गर्न सकिनन् । 

कतारकी कप्तान आयषाले पाँच बलरलाई नेपालविरुद्ध बलिङ गर्न लगाइन् । जसमा पानायम मात्र सफल भइन् । उनले तीन ओभरमा २३ रन खर्चंदै एक विकेट लिइन् । रोचेलेले २.३ ओभरमा १६ रन दिइन् । यसैगरी, कप्तान आयषाले तीन ओभरमा १६ रन खर्चिइन् । 

१० ओभरमै खेल नेपालको पक्षमा
७५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको हो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले २८ बलमा चार चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै, इन्दु बर्माले १२ बलमा तीन चौकासहित अविजित २० रनको योगदान गरिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन् ।

कतारको सामान्य योगफल 
यसअघि पहिलो ब्याटिङ गरेको कतारले गतिलो ब्याटिङ गर्न सकेन । नेपालकी कप्तान रुविना क्षेत्रीले कमजोर प्रतिद्वन्द्वीविरुद्ध सात बलर प्रयोग गरेकी थिइन् । अलराउन्ड प्रदर्शन गरेकी इन्दुले बलिङका क्रममा चार ओभरमा १० रन खर्चंदै सर्वाधिक तीन विकेट लिइन् । उनको इकोनोमी २.५० रह्यो । 

यसैगरी, पूजा महतोले तीन ओभरमा १६ रन खर्चंदै एक विकेट हात पारिन् । कविता जोशीले चार ओभरमा नौ रन दिँदै एक विकेट लिइन् । ईश्वरी विष्ट, रानामगर, खुसी डंगोल र रुविनाले विकेट लिन सकेनन् । कतारकी साची धडवालले ४४ बलमा एक चौकासहित सर्वाधिक २१ रन जोडिन् । एलिना खानले १५ रन, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयषाले १० रन बनाएका थिए । कतारको ब्याटिङमा दुई खेलाडी डकआउट भएका थिए । 
 

ad
ad
ad
ad