१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बढ्न थाले चिनियाँ पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o८:oo

कोभिड महामारीले घटेका चिनियाँ पर्यटक बढ्न थालेका छन् । चीन सरकारले १५ मार्च २०२३ देखि आफ्ना नागरिकका लागि निर्बाध घुम्न पाउने गन्तव्य राष्ट्रमा सूचीकृत गरेसँगै चिनियाँ बढ्न थालेका हुन् ।सन् २०२३ को जुलाई र अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक आउनेमा भारतीयपछि चिनियाँ दोस्रो नम्बरमा रहेका छन् । जुलाईमा पाँच हजार ६ सय ९३ र अगस्टमा पाँच हजार २७ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ । कोभिडअघि पनि भारतीयपछि सबैभन्दा धेरै पर्यटक आउनेमा चिनियाँ नै थिए । 

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक भित्रिँदा चिनियाँको संख्या एक लाख ६९ हजार थियो । सो वर्ष भारतबाट दुई लाख ५४ हजार पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । कोभिडपछि चीनले आफ्ना नागरिकलाई भ्रमणमा कडाइ गरेपछि चिनियाँ पर्यटकको संख्या करिब ‘शून्य’मा झरेको थियो । महामारी कम हुँदै गएसँगै चीन सरकारले ‘आउटबाउन्ड’ खुला गरेसँगै चिनियाँ पर्यटक बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।

यस वर्षको जनवरीदेखि अगस्टसम्म आठ महिनामा ३० हजार आठ सय ३७ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस अवधिमा सबैभन्दा धेरै दुई लाख १५ हजार ६ सय २७ पर्यटक भारतबाट भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार आठ महिनामा विभिन्न देशबाट कुल ६ लाख एक हजार पर्यटक भित्रिएका थिए । जसमा एकतिहाइभन्दा बढी हिस्सा भारतीय पर्यटकको छ ।

जनवरीदेखि जुन महिनासम्म नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय, दोस्रोमा अमेरिकी, तेस्रोमा ब्रिटिस, चौथोमा चिनियाँ र पाँचौँमा अस्ट्रेलियन रहेका थिए । तर, पछिल्लो दुई महिना जुलाई र अगस्टमा चिनियाँ पर्यटक बढेपछि चीन दोस्रो स्थानमै फर्किएको छ ।

पर्यटन बोर्डका अनुसार जनवरीमा एक हजार चार सय ३६, फेब्रुअरीमा दुई हजार दुई सय ६६, मार्चमा दुई हजार दुई सय ६६, अप्रिलमा चार हजार सात सय ७०, मेमा चार हजार ६ सय ६७, जुनमा चार हजार तीन सय ४३, जुलाईमा पाँच हजार ६ सय ९३ र अगस्टमा पाँच हजार २७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

चीन र भारत विश्वकै धेरै जनसंख्या बसोवास गर्ने देश हुन् । यी देशबाट ठूलो संख्यामा मान्छेहरू विदेश घुम्न निस्कन थालेका छन् । नेपाल भ्रमणमा आउने चिनियाँ खर्चालु पर्यटकमा गनिन्छन् । नेपालबाट नजिकैको दूरीमा रहेको र सीधा उडानको व्यवस्था पनि भएकाले चिनियाँहरू अफसिजनमा पनि नेपाल भ्रमणमा आउने गर्छन् । साथै, चिनियाँहरूले प्याराग्लाइडिङ, पदयात्रा, बन्जी, जिपलाइनलगायत विभिन्न गतिविधिमा मोटो रकम खर्चिने गरेको पर्यटन व्यवसायी बताउँछन् । 

चिनियाँ पर्यटक बढ्न थालेसँगै पर्यटन व्यवसायीहरूमा पनि उत्साह थपिन थालेको व्यवसायीको भनाइ छ । पछिल्लो समय देशमा ठूलो संख्यामा होटेलसहित बन्जी, जिपलाइनलगायतका पर्यटकीय पूर्वाधार थपिएका छन् । तर, पर्यटक नआउँदा लगानी संकटमा परेको थियो । विश्वकै बुद्धिस्ट धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा पर्यटक नआउँदा अर्बौँ लगानीमा खुलेका तारे होटेलहरू बैंकले लिलामी गर्ने अवस्थामा पुगेका छन् । यसैबीच बढ्दै गइरहेका चिनियाँ पर्यटकले पुनः आशाको किरण छर्ने काम गरेका छन् ।

ad
ad