
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको अनुभव सुनाएका छन्।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, ‘न्यायपालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नुपरेन। जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु।’
त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो। प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ।’
सो अवसरमा उनले आफू डोटीमा जन्मिएर सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौं आउनुपर्ने अवस्थामा दुःखसुख गरेर कठिनाइ र संघर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गराए।
प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए। ‘सुदूरपश्चिम भन्नासाथ असाध्यै माया लाग्छ। जन्मेको ठाउँ। नजिक रहने हाम्रो स्वभाव पनि हो,’ उनले भने।
मञ्चले सुदूरपश्चिम प्रदेशका लागि राम्रो काम गरिरहेको जनाउँदै उनले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दै आफूबाट हुन सक्ने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले संस्थाले गर्दै आएका कामबारे जानकारी गराउँदै संस्थाका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन गरेका थिए।
यसैगरी मञ्चका संस्थापक संरक्षक एवं पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा मञ्चका सल्लाहकार, पदाधिकारी एवं सदस्य सहभागी थिए।
सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा बुबा दिव्यनारायण श्रेष्ठ र आमा देवकुमारी श्रेष्ठको कोखबाट ०१६ असोज २० गते जन्मिएका विश्वम्भरप्रसाद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
०४१ मा सुदूरपश्चिमको क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा कार्य गरेका उनले ०४४ सालमा उपसचिव र २०४५ सालमा जिल्ला अदालत दार्चुलामा न्यायाधीशका रूपमा काम गरेका थिए।
०४९ मा सर्वोच्च अदालतमा डेपुटी रजिस्ट्रार र झन्डै चार दशकसम्म न्याय सेवामा रहेका उनी ०८० साल भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए।