मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
शुरोजंग पाण्डे काठमाडाैं
२०८० भदौ १४ बिहीबार ०७:५३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीप्रति नरम बन्दै ओली, माधवसँग सम्बन्ध सुधार गर्न बढाए हात ! 

Read Time : > 3 मिनेट
२०८० भदौ १४ बिहीबार ०७:५३:००

एकीकृत समाजवादीको नेतृत्वप्रति अनुदार रहँदै आएका एमाले अध्यक्ष केपी ओलीले सम्बन्ध सुधारका लागि हात बढाएका छन् । पछिल्लो आमनिर्वाचनपछि एकीकृत समाजवादीलाई ‘पार्टीको मान्यता’ दिए पनि मूल नेतृत्वप्रति आक्रामक ओलीले माधव नेपालसँगको तस्बिर सोसल मिडियामा सेयर गरेर आफूहरू सम्बन्ध सुधारतर्फ लागेको सन्देश दिएका छन् । 

मूल नेतृत्वप्रति अनुदार र आक्रामक भए पनि उसका नेता–कार्यकर्ता प्रवेश गराउने दोहोरो नीति अख्तियार गरिरहेका ओलीले नेपालसँगको फोटो व्यक्तिगत रुचिमै ‘सेयर’ गरेको दुवै पार्टीका नेताहरूको बुझाइ छ । एमालेलाई सत्ता राजनीतिको मैदानमा निकै कमजोर बनाएको सत्तारूढ दल एकीकृत समाजवादी अहिले चारदलीय समाजवादी मोर्चाको एक घटक पनि हो । 

लामो समयदेखि राजनीतिक सम्बन्ध तिक्त भए पनि जुनसुकै वेला सुधार हुन सक्ने सन्देश दिने उद्देश्यले ओलीले आफ्नै रुचिमा आधिकारिक फेसबुक पेजमार्फत फोटो सेयर गरेको उनको सचिवालयको भनाइ छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा एउटै लहरमा नेपालसँगसँगै बसेको दुईजनाको तस्बिर ओलीले आफ्नो निजी पेजमार्फत सार्वजनिक गरेका थिए । 

‘राजनीतिक नेताहरूको बीचमा बाहिर चर्चा हुँदै आएजस्तो भेटै नहुने, एकले अर्काको अनुहारै नहेर्ने तहको तिक्त सम्बन्ध हुँदैन र हुनु पनि हुँदैन । सोमबारको संसदीय समितिको बैठकमा उहाँहरू वल्लोपल्लो सिटमा सँगै बस्नुभएको थियो । त्यसैले अध्यक्ष कमरेडले रुचि राखेरै त्यो फोटो पेजबाट सेयर गर्नुभएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘उहाँहरूबीच संवाद पनि भयो, एक–अर्काबीच हालखबर सोध्ने शिष्टाचार कुराकानी पनि भएको थियो ।’ 

बैठकबाट बाहिरिने क्रममा ओलीले नेपालसँग संवाद गरेका थिए । देब्रेतिर रहेका ओलीले दाहिनेतिर बसेका नेपालसँग छोटो समय कानेखुसी संवाद गरेर बाहिरिएको एमाले सांसद सुनिता बरालले बताइन् । ‘सम्भवतः अध्यक्षले माधव नेपाललाई हालखबर के कसो छ भनेर शिष्टाचार संवाद गर्नुभयो, त्यसपछि मेरो अर्को कार्यक्रम छ, जानुपर्ने भयो भन्ने औपचारिक जानकारी गराएर बाहिरिनुभएको हो,’ बरालले भनिन् । 

नेपाल बैठकको सुरुवातदेखि नै सहभागी थिए । बैठक चलिरहेका वेला ओली पुगेका थिए । समितिका कर्मचारीले ‘प्रोटोकल’अनुसार पूर्वप्रधानमन्त्री ओली र नेपाललाई सँगै बस्ने गरी सिट व्यवस्थापन गरेका थिए । ओली नेपालको देब्रेतिरको सिटमा बसे । करिब आधा घन्टा बसेका ओली–नेपालबीच कुनै संवाद भएन । एकले अर्कोसँग अप्ठ्यारो महसुसजस्तो गरेका थिए । बैठकमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुन, कांग्रेस नेता प्रकाशमान सिंह, राप्रपाका नेता पशुपतिशमशेर राणासहित सबैजसो सांसदको ध्यान पनि ओली–नेपालतिरै केन्द्रित थियो । तिक्त सम्बन्धमा रहेका वेला ओली आफैँले नेपालसँगको तस्बिर सार्वजनिक गरेपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा भइरहेको छ । एमाले र एकीकृत समाजवादीभित्र कतिपयले यसलाई रणनीतिक र कतिपयले स्वाभाविक घटनाक्रम मानेका छन् ।

एमाले स्थायी समिति सदस्य राजन भट्टराईले तस्बिर सेयर सामान्य भए पनि ठूलो विषय बनाइएको बताए । ‘पूर्वप्रधानमन्त्री भएकाले सँगै बस्नुभयो । फोटो खिच्नुभयो । समाचार सञ्जालमा सेयर भयो, भएको त्यत्ति नै हो । अन्य केही पनि होइन,’ उनले भने । एकीकृत समाजवादीकी सचिव गरिमा शाहले सँगै बसाइ संयोग मात्र रहेको बताइन् । ‘केही पनि होइन, संसदीय समितिको बैठक बस्दा सँगै भएको मात्रै हो । भित्री रूपमा केही पनि कुरा भएको छैन, संयोग मात्रै हो,’ उनले भनिन् । ४ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक ओलीले बहिष्कार गरेका थिए । ओलीको बहिष्कारलाई त्यतिवेला नेपालले आफ्नो छाया पर्ने डरले उनी नआएको सञ्चारमाध्यमसँग कठोर टिप्पणी गरेका थिए । त्यसयता नेपालले ओलीविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । 

एकीकृत समाजवादीका नेता–कार्यकर्ता फर्काउँदै एमाले
ओलीले नेपालसँगको तस्बिर सेयर गर्नु उनको अहिलेसम्मको नीतिमा परिमार्जनको बलियो संकेत हो । एमालेले एकीकृत समाजवादीका नेता–कार्यकर्ता घर फर्काउने नीतिसहित उसको नेतृत्वमाथि प्रहार गर्दै आएको छ । पछिल्लो आमनिर्वाचनपछि एकीकृत समाजवादीलाई ‘पार्टीको मान्यता’ दिए पनि मूल नेतृत्वप्रति निकै अनुदार एमालेले त्यस पार्टीका नेता–कार्यकर्तालाई भने प्राथमिकताका साथ स्वागत गरिरहेको छ । 

गत फागुनबाट सञ्चालन भएको मिसन ग्रासरुट अभियानसँगै एमालेले एकीकृत समाजवादीसँग एकताको सट्टा ‘घर फर्क’ नीति अंगीकार गरेको छ । गत ३० वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट विचार मिल्नेलाई पार्टीमा सामेल हुन औपचारिक आह्वान गरेर एमालेले एकीकृत समाजवादीका नेता–कार्यकर्ता भित्र्याउनेतिर नजर लगाइरहेको छ, जसमा उसलाई सफलता पनि हात लागेको छ । पछिल्लो निर्वाचनयता एकीकृत समाजवादीबाट ३५ केन्द्रीय सदस्य, डेढ दर्जन जिल्ला अध्यक्ष, सयभन्दा बढी प्रदेश कमिटी सदस्यसहित जिल्ला, क्षेत्र, पालिका र वडा तहका ठूलो संख्यामा एमाले फर्किएका छन् । त्यसरी फर्किएकालाई एमालेले अभिलेखमा अनुशासनको कारबाहीको कुनै रेकर्ड नराखी पुरानै सदस्यता कायम गर्ने र एक वर्षको नवीकरण शुल्कसमेत छुट गर्ने लचिलो नीति अख्तियार गरेको छ । जब कि पार्टीकै सदस्यहरूबाट भने एमालेले पछिल्ला दुई वर्षको लेबी शुल्क लिइरहेको छ । 

‘पछिल्ला दिनमा नेकपा एसबाट ठूलो संख्यामा नेता–कार्यकर्ता प्रवेश गरिरहनुभएको छ, उहाँहरूलाई जिम्मेवारी दिने सवालमा पहिल्यै सर्त राखिएको छैन । तर, कारबाहीको अभिलेख नहुने, पुरानै मितिदेखिकै सदस्यतालाई निरन्तरता दिँदै पछिल्लो दुई वर्षको लेबीमा पनि एक वर्षको छुट गरेर सदस्यता नवीकरण गरिरहेका छौँ,’ स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भने, ‘उहाँहरूको इतिहास, योगदान र तुलनात्मक रूपमा क्षमताको मूल्यांकन गरेर जिम्मेवारी दिने गरिएको छ ।’ 

पछिल्ला दिनमा एमालेमा फर्किने गरी एकीकृत समाजवादीका पदाधिकारी र केन्द्रीय तहका थुप्रै नेता संवादमा रहेको दाबी गर्दै एमाले नेतृत्व उत्साहित छ । तर, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेले एकीकृत समाजवादी या कुनै पार्टीविशेषलाई लक्षित गरेर पार्टीमा भित्र्याउने अभियान नचलाएको पनि दाबी गरे । 

एकीकृत समाजवादीसँग पार्टी एकता नै गर्ने सवालमा भने एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसहित मूल नेतृत्व नै अनुदार देखिएको छ । ओली र पोखरेल दुवैले नेपालबाहेकका लागि ढोका खुला रहेको पटक–पटक अभिव्यक्ति दिँदै आएका छन् । ‘माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दैनौँ, अरू बाँकी सबै नेता–कार्यकर्तालाई एमालेमा ढोका खुला छ,’ पोखरेलले अघिल्लो साता दाङमा आयोजित एक कार्यक्रममा भनेका थिए । यद्यपि, एमालेले एकीकृत समाजवादीसँग एकताको नीति नलिएको भने होइन । आमनिर्वाचनमा एकीकृत समाजवादीले मत काट्दा दुई दर्जन सिटमा धक्का पुगेपछि गत फागुनमा वाम नेतृत्वको सरकारलाई निरन्तरता दिने गरी ओलीले अध्यक्ष नेपालसँग तीन चरणसम्म अलग्गै वार्ता गरेका थिए । 

नेपाललाई नै भित्र्याउने प्रयास
ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न र पार्टीलाई एमालेमा समाहित गर्न प्रस्ताव नै गरेका थिए । तर, अन्तिम घडीमा नेपालले प्रस्ताव विश्वसनीय नभएको र परिस्थिति पनि परिपक्व नबनेको भन्दै अस्वीकार गरेपछि ओली उनीसँग बिच्किँदै आएका छन् । त्यसयता उनीहरूबीच आमने–सामने भए पनि औपचारिक संवाद भएको छैन । नेपाललाई राष्ट्रपति बनाएर एमालेसमेत सामेल सत्तागठबन्धन जोगाउन हदैसम्म प्रयत्न गरिए पनि सफल नभएको विषयलाई ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक दस्तावेजमै प्रस्ट संकेत गरेका थिए । ‘राजनीतिक कोर्स जोगाउन हामी हदैसम्म लचिलो भयौँ । तत्कालीन सत्तागठबन्धनभित्रैबाट राष्ट्रपतिको उम्मेदवार बनाएरै भए पनि सहकार्य जोगाउन प्रयत्न गर्‍यौँ । तर, आफैँ चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेको माओवादीलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन,’ गत ३० वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले संकेत गर्दै भनेका थिए ।