१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

श्रमदानबाट जैविक तटबन्ध बनाएपछि नदी कटान नियन्त्रणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१७:oo

स्थानीयले श्रमदान गरेर निर्माण गरिएको जैविक तटबन्धले नदी कटान नियन्त्रण भएको छ । कान्द्रा नदीको कटानले भजनी नगरपालिका– ४ र ९ जोड्ने झोलुङे पुल जोखिममा परेपछि यी दुवै वडाका स्थानीयको श्रमदानबाट जैविक तटबन्ध निर्माण गरिएको थियो ।

करिब चार सय मिटर लामो जैविक तटबन्ध निर्माणले झोलुङे पुल कटान हुनबाट जोगिएको स्थानीयले बताएका छन् । नदी कटान नियन्त्रणमा जैविक तटबन्ध निकै प्रभावकारी देखिएको वडा नम्बर ९ का अध्यक्ष सञ्जीवकुमार चौधरीले बताए । जैविक तटबन्ध बनाएपछि थप कटान हुन नपाएको र यसले झोलुङे पुल जोगिएको उनले बताए । ‘नदी कटानले पुल यसै वर्ष बग्ने जोखिममा थियो । जैविक तटबन्ध बनाएपछि थप कटान हुन पाएन,’ वडाध्यक्ष चौधरीले भने, ‘यस वर्ष पुल जोखिएको छ ।’

दुई वडाका सय–डेढ सय स्थानीयले गत साउन पहिलो साता १२ दिनसम्म दैनिक श्रमदान गरेर जैविक तटबन्ध निर्माण गरेका थिए । स्थानीयले काठ, बाँस, झारपात र बोरामा बालुवा भरेर जैविक तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरेका हुन् । स्थानीय सामुदायिक वनहरूबाट कुकाठ, स्याउला र झारपात प्रयोग गरेर जैविक तटबन्ध बनाएका हुन् ।

जैविक तटबन्ध निर्माण गरिएपछि अहिले कटान केही रोकिएको भजनी– ९ का स्थानीय होमबहादुर बोहराले बताए । उनले श्रमदान गरेर करिब चार सय मिटर जैविक तटबन्ध निर्माण गरिएको जानकारी दिए । साउन अन्तिम साता कान्द्रा नदीमा आएको ठूलो बाढीले पनि कटान नगरेको उनले बताए ।

‘कटानले पुल बगाउने अवस्था आएपछि पुल जोगाउन तटबन्ध निर्माणमा जुटेका थियौँ । जैविक तटबन्ध बनाएपछि अहिले नदीको कटान रोकिएको छ,’ बोहराले भने, ‘तत्कालका लागि पुलको जोखिम हटे पनि पुल संरक्षणका लागि पक्की तटबन्ध नै आवश्यक छ ।’ नदी कटान तीव्र भएर झोलुङे पुलको पिलरको केही मिटर दूरीनजिक पुगेको थियो ।

पुल जोगाउन दीर्घकालीन रूपमा पक्की तटबन्ध आवश्यक रहेको स्थानीय भीम कुडमालले बताए । पक्की तटबन्ध निर्माणका लागि नगरपालिका तथा त्यहाँबाट निर्वाचित प्रदेश र संघीय सांसदलाई आग्रह गरिएको उनले बताए । नदी कटानले पुल बग्ने जोखिम भएपछि जैविक तटबन्ध बनाएर जोगाउने प्रयास गरिए पनि त्यो दीर्घकालीन नहुने उनले बताए ।

वडाध्यक्ष चौधरीले नदी कटानले झोलुङे पुल जोखिममा परेकाले पक्की तटबन्ध निर्माणका लागि नगरपालिकामार्फत संघ र प्रदेश सरकारसँग पहल भइरहेको बताए । उनले एक करोड लागत स्टिमेटसहित पक्की तटबन्धको योजना माग गरिएको बताए । गत वर्ष सम्पन्न पुलको दुवैतर्फ पक्की तटबन्ध नबनाइएकाले कटानबाट पुल बग्ने जोखिम रहेको रहेको उनले बताए । कान्द्रा नदी तर्न सास्ती खेप्दै आएका स्थानीयलाई झोलुङे पुल निर्माण भएपछि निकै सहज भएको छ । तर, नदी कटानले पुल बगाउने जोखिम भएपछि स्थानीय जैविक तटबन्ध बनाउन आफैँ अग्रसर भएका थिए ।

बर्खायाममा नदी उर्लने भएकाले डुंगाबाट जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो । हिउँदमा भने नगरपालिकाले ठेक्कामा राख्ने काठको पुलबाट पैसा तिरेर नदी तर्नुपथ्र्यो । करिब आठ महिनाअघि झोलुङे पुल निर्माण भएपछि स्थानीयले नदी तर्दाको भोग्दै आएको सास्ती र जोखिम हटेको हो । पुल बगेर विगतको जस्तै नदी तर्दाको सास्ती दोहोरिन नदिन स्थानीयले श्रमदानबाट जैविक तटबन्ध बनाएका हुन् ।

ad
ad