
नदीजन्य ढुंगा, गिटी, बालुवाको ठेक्कामा सबा करोड रुपैयाँ छुट दिने पूर्वमेयर र तत्कालीन निमित्त प्रमुख प्रशासकीयसहित १० विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष ०७६/७७ मा महाकाली नदीबाट ढुंगा, गिटी, बालुवा, ग्राभेल र माटोको रोयल्टी शुल्क उठाउन ठेक्का सम्झौतापश्चात नगर कार्यपालिकाको कार्यालयलाई बुझाउनुपर्ने ठेक्कामा अनियमितता भएको हो । ठेक्का कबोल गरी भएको सम्झौताबमोजिम कुनै कारणले पनि मिनाहा दाबी–भुक्तानी गर्न नपाइने व्यवस्थाविपरीत रकम भुक्तानी दिइएको अख्तियारको दाबी छ ।
मेयर विष्टको अध्यक्षतामा नगरसभाको निर्णयले राजस्व छुट दिने मनसायले पाँच सदस्यीय कार्यदल गठन गरी त्यसैको सिफारिसका आधारमा एक करोड ३४ लाख ९७ हजार चार सय ५३ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिइएको आरोपपत्रमा उल्लेख छ । ठेक्का सम्झौताविपरीत र संघीय तथा प्रदेश सरकारको स्वीकृतिबेगर नै छुट दिएर भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपमा अख्तियारले मेयर बस्नेत र निमित्त प्रमुख प्रशासकीय जोशीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध छुट दिएको बराबरको रकमलाई नै बिगो कायम गरिएको छ ।
भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोपमा अख्तियारले नगरपालिकाको तत्कालीन राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा सदस्य तत्कालीन वडा नम्बर १७ का वडा अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालयसिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौँ) विक्रम भण्डारी र नायब सुब्बा नरेन्द्रदेव भट्टलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारी कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा बन्द रहेको अवस्थामा राजस्वसँग सम्बन्धित ठेक्का लगाइएको, ठेकेदारले उत्खनन गरेको परिमाण र उत्खनन गर्न बाँकी परिणामसमेतको हिसाब गरी राजस्व छुट दिन नमिल्ने प्रतिवेदन गर्नुपर्ने संघीय आर्थिक ऐन तथा प्रदेश आर्थिक ऐनविपरीत संवैधानिक तथा कानुनी क्षेत्राधिकारबाहिर गई राजस्व रकममा ८३ दिनको भ्याटसमेत छुट दिन सक्ने प्रतिवेदन पेस गरेर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।
अख्तियारले ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि, त्यसका सञ्चालक ईश्वरीप्रसाद भट्ट तथा उनकी पत्नी खगेश्वरी, केशवराज भट्ट, पुष्पराज भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ । ठेक्कामा आफैँले गरेको सम्झौता र बोलपत्रको सर्तविपरीत नगरपालिकासँगको मिलेमतोमा भ्याट छुट दिने निर्णय गराई राजस्व चुहावटमा मतियार भएर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ । ईश्वरी भट्टको निधन भइसकेको छ । बिगो असुल प्रयोजनका लागि उनकी पत्नी खगेश्वरीलाई अख्तियारले प्रतिवादी बनाएको हो ।
यसैबीच, अनुदानका लागि सिफारिस गरिदिएबापत घुस लिने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का तत्कालीन कार्यवाहक वडाध्यक्ष दिलावर कवडियाविरुद्ध पनि मंगलबार नै अख्तियारले मुद्दा दायर गरेको छ । पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्नका लागि वडा कार्यालयबाट सिफारिस गरिदिएबापत सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएका उनीविरुद्ध अख्तियारले त्यति नै बिगोदाबी गरेर मुद्दा दायर गरेको हो ।