मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० भदौ ११ सोमबार ११:०७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अपी हिमालको फेदमा ऐतिहासिक सुर्मा भवानी जात्रा

Read Time : > 1 मिनेट
२०८० भदौ ११ सोमबार ११:०७:००

क्षत्तिगाउँ अपी हिमाल गाउँपालिकाको सबैभन्दा विकट बस्ती हो । यतिवेला यो गाउँ भजनमय बनेको छ । शिव–पार्वतीको पूजाआराधना जताततै देख्न सकिन्छ । सुर्मा भवानीको जात्रा मान्य औँसीदेखि १७ दिन मनाइन्छ । यसमध्ये रतेडीदेखि सात दिनसम्म विशेष रौनक हुन्छ । शनिबारबाट जात्राको रौनक सुरु भएको छ । अपी हिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङ जिल्लाको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाउने गरिन्छ । उच्च हिमशृंखलाबीचमा अवस्थित सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण छ । 

धार्मिक मान्यता 
बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा सुर्मा भवानी विलय भएको मान्यता रहिआएको छ । सोहीकारण, अपी हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुहरूले पूजा गर्ने चलन रहेको स्थानीय कमलसिंह धामीले बताए । 

जात्राका लागि क्षत्ति पुख्र्याैली घर भएका स्थानीय र घाजिर घर भएका समुदायका तीर्थालुहरूले औँसीदेखि नै एक छाक मात्र खाएर व्रत बस्ने परम्परा छ । सुर्मा सरोवर तीर्थ जाने व्रतालु भक्तहरूलाई बीरे भनिन्छ । बीरे दुई प्रकारका हुन्छन् । जसमा पहिलोपटक जानेलाई बालो बीरे र पटक–पटक गएकालाई बूढो बीरे भन्ने चलन छ ।

जात्रामा क्षत्ति घर भएका ठेकरे, बोहरा, धामी, बैरे समुदायका भक्तजनहरूलाई उवादेशी, घाजिर घर भएका स्थानीय भक्तजनहरूलाई उनादेशी, तथा खण्डेश्वरीभित्र बसोवास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ । जात्रामा सहभागी हुने भक्तजनहरूलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु, रक्सीजस्ता भोजन निषेध गरिएको छ । अपी हिमालवासीका लागि मात्र नभई अपी हिमालबाहिरका स्थानीयको समेत यो जात्रामा उल्लेखनीय सहभागिता रहने गरेको छ । 
‘नेपालकै इतिहासमा यति लामो जात्रा कहीँ छैन, । यो जात्रा नेपालकै मौलिक तथा विशिष्ट पहिचान र परम्परा बोकेको जात्रा हो,’ अपी हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले भने, ‘मानसरोवर दर्शन गर्न नसक्ने भक्तजनले सुर्मादेवीको दर्शन गरे उत्तिकै फल पाउँछ भन्ने विश्वास छ ।’यो जात्राको समयमा क्षत्ति र घाजिरका स्थानीयले १५ दिनसम्म जुत्ताचप्पल लगाउँदैनन् । घाजिरदेखि क्षत्ति हुँदै सुर्मा पुगेर फर्किएपछि जात्रा समापन हुने गरेको छ । 

‘खुट्टामा चप्पल, जुत्ता लगाउन नपाइने तथा आफूले लगाएको लुगामाथि सार्नसमेत पाइँदैन,’ स्थानीय नरेन्द्रसिंह मन्यालले भने, ‘जात्रामा गएकाहरूको टाउकोमा टोपी, सल केही न केही हुनैपर्छ । यो विशिष्ट प्रकारको जात्रा हो ।’जात्रामा सहभागी हुने बीरेहरू सुर्मासम्म पुग्छन् । उनीहरूको नेतृत्व ‘मुला’ले गर्ने गर्छ । मुला यो क्षेत्रको विशेष अधिकारप्राप्त हुन्छ । आफ्नो पहिचान झल्काउने मौलिक वेशभूषा लगाएर स्थानीय जात्रामा सहभागी हुने गरेको अध्यक्ष ठेकरेले बताए । 

भगतसिंह ठेकरे बोहरा
अध्यक्ष, अपी हिमाल गाउँपालिका 

यो जात्रा नेपालकै मौलिक तथा विशिष्ट पहिचान र परम्परा बोकेको जात्रा हो, नेपालमा यति लामो जात्रा कहीँ छैन । मानसरोवर दर्शन गर्न नसक्ने भक्तजनले सुर्मा देवीको दर्शन गरे उत्तिकै फल पाइन्छ भन्ने विश्वास छ । दुई जिल्लाको सामरिक महत्व बोकेको जात्रालाई अझै मर्यादित बनाउन गाउँपालिकाले पनि विशेष योजना बनाएर काम अघि बढाएको छ । त्यस्तै, स्थानीय क्लब तथा संघ–संस्थालाई परिचालन गरिएको छ ।