
भारतको अन्तरिक्ष एजेन्सी(इसरो)ले चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गराएको छ । यससँगै भारत उक्त ध्रुवमा यान अवतरण गर्ने पहिलो र चन्द्र अभियानमा सफलता हासिल गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले चन्द्रमाको सतहमा यान अवतरण गराएका थिए ।
चन्द्र मिसनमा भारतको सफलताले भारतको अन्तरिक्ष महŒवाकांक्षालाई अगाडि बढाउन र चन्द्रमाको सबैभन्दा बहुमूल्य स्रोतमध्ये एक बरफबारे जानकारी विस्तार गर्न सक्छ । यहाँ चन्द्रमा बरफ रूपमा पानीको उपस्थितिबारे अहिलेसम्म संकलन भएको जानकारी, अन्तरिक्ष निकाय र निजी कम्पनीले किन यो सफलतालाई चन्द्रमामा मानव उपनिवेश बसाउने, चन्द्रमाको उत्खनन गर्ने र मंगलग्रहको मिसनको साचोका रूपमा हेर्छन् भन्नेबारे व्याख्या गर्न खोजिएको छ ।
चन्द्रमामा वैज्ञानिकले कसरी पानी फेला पारेका थिए ?एपोलोको अवतरणभन्दा पहिलेनै सन् १९६० को दशकको सुरुवातमै वैज्ञानिकले चन्द्रमामा पानी हुन सक्ने अनुमान गरेका थिए । सन् १९६० को दशकको अन्त र सन् १९७० को सुरुवातताका विश्लेषणका लागि एपोलोका चालक दलले उपलब्ध गराएका नमुना सुक्खा पाइएका थिए । सन् २००८ मा ब्राउन युनिभर्सिटीका शोधकर्ताले ती चन्द्र नमुनालाई नयाँ प्रविधिमार्फत फेरि अवलोकन गरे र ज्वालामुखीले निर्माण गरेको काँचको सानो दानाभित्र हाइड्रोजन फेला पारे । सन् २००९ मा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको चन्द्रयान–१ प्रोव (यान)मा पठाइएको नासाको एउटा उपकरणले चन्द्रमाको सतहमा पानी रहेको पत्ता लगाएको थियो ।
सोही वर्ष दक्षिणी ध्रुवमा पुगेको नासाको अर्को उपकरणले पनि चन्द्रमाको सतहमुनि बरफ फेला पारेको थियो । यसअघिको नासा मिसन (सन् १९९८ को लुनार प्रोस्पेक्टर)ले पनि दक्षिण ध्रुवको घाम नपर्ने क्षेत्रका दरारमा पानीको बरफको उच्चतम घनत्वको प्रमाण फेला पारेको थियो ।
चन्द्रमामा पानी हुनु किन महत्वपूर्ण छ ?
वैज्ञानिकको रुचि पानीको प्राचीन बरफको पकेटमा छ, किनभने तिनीले चन्द्र–ज्वालामुखी, धूमकेतु र क्षुद्र ग्रहहरूले पृथ्वीमा ल्याइपु¥याएका सामाग्री र महासागरको निर्माण आदिबारे बताउन सक्छन् । यदि पानीको बरफ पर्याप्त मात्रामा पाइयो भने त्यो चन्द्र अन्वेषण अभियानका क्रममा पिउनेपानीको स्रोत हुन सक्छ, त्यसले उपकरणहरूलाई चिसो बनाउन सहयोग गर्न सक्छ । यसलाई टुक्र्याएर इन्धनका लागि हाइड्रोजन र सास फेर्न अक्सिजनको उत्पादनमा उपयोग गर्न सकिन्छ । त्यसले मंगल अभियान वा चन्द्रग्रहको उत्खननमा सहयोग पु¥याउन सक्छ ।
संयुक्त राष्ट्रसंघको सन् १९६७ को बाह्य अन्तरिक्षसम्बन्धी अभिसन्धिले कुनै पनि राष्ट्रलाई चन्द्रमाको स्वामित्व दाबी गर्न निषेध गर्छ । तर, व्यावसायिक सञ्चालन रोक्ने भने कुनै प्रावधान छैन । चन्द्रमाको अन्वेषण र यसका स्रोतहरूको प्रयोग कसरी गर्ने भनेर सिद्धान्त स्थापित गर्ने अमेरिकी नेतृत्वको पहलकदमी ‘आर्टेमिस एकर्ड्स (आर्टिमिस सहमति)’ मा २७ हस्ताक्षरकर्ता छन् । चीन र रुसले भने यसमा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।
किन कठिन छ दक्षिणी ध्रुव ?
यसअघिका चन्द्रमाको यो क्षेत्रमा अवतरणका प्रयास असफल भएका थिए । रुसको लुना– २५ यान चन्द्रयान– ३ ले अवतरण गरेको केही दिन पहिले नै दक्षिणी ध्रुवमा अवतरण गर्ने योजनामा थियो, तर अभियानको अन्तिम चरणमा त्यो नियन्त्रणबाहिर गएर दुर्घटनाग्रस्त हुन पुग्यो ।
एपोलोसहित यसअघिका मिसनलक्षित भूमध्य रेखाबाट निकै पर रहेको दक्षिणी ध्रुव गहिरा दरार र खाडलले भरिएका छन् । इसरोको चन्द्रयान–३ मिसन गत बुधबार यसै क्षेत्रमा अवतरण गरेको हो । यसअघिको सन् २०१९ को भारतीय मिसन चन्द्रयान– ३ ले अवतरण गरेको क्षेत्रनजिक सुरक्षित रूपमा अवतरणमा असफल भएको थियो । संयुक्तराज्य अमेरिका र चीन दुवैको दक्षिण ध्रुवमा आ–आफ्ना मिसन छन् ।
रुसी संकट
युक्रेनमा आफ्नो युद्ध र पश्चिमी प्रतिबन्धका बाबजुद रुस चन्द्रयान प्रक्षेपण गर्न सफल भयो । तर, केही विज्ञ विभिन्न प्रतिकूलताका कारण रुसले लुना–२५ को उत्तराधिकारी अभियान लुना २६ लाई रकम जुटाउन सक्नेमा शंका गर्छन् ।
‘अन्तरिक्ष अन्वेषणको खर्च हरेक वर्ष व्यवस्थित रूपमा घटाउँदै लगिएको छ,’ मस्कोस्थित स्वतन्त्र अन्तरिक्षविज्ञ तथा लेखक वादिम लुकासेभिचले भने । रुसको बजेट प्राथमिकता युक्रेन युद्ध हुने भएकाले लुना–२५ को पुनरावृत्ति ‘अत्यन्तै असम्भव’ हुने उनी बताउँछन् ।
रुसले सन् २०२१ सम्म नासाको आर्टेमिस कार्यक्रममा सहभागी हुनेबारे विचार गरिरहेको थियो । उसले चीनको चन्द्र कार्यक्रममा पनि साझेदार हुने बताएको थियो । चीनले सन् २०१९ मा चन्द्रमाको उत्तरी भागमा पहिलोपटक सफ्ट ल्यान्डिङ गरेको थियो उसले थप अभियानको योजना बनाएको छ । सन् २०२२ मा चीनले अन्तरिक्ष कार्यक्रममा १२ अर्ब डलर खर्च गरेको अन्तरिक्ष अनुसन्धान फर्म युरोकन्सल्टको अनुमान छ ।
जोखिमपूर्ण यात्रा
अन्तरिक्ष अभियान जोखिमपूर्ण मानिदै आएको छ । यसअघि सन् २०१९ मा भारतको प्रयत्न विफल भएको थियो । सोही वर्ष इजरायली स्टार्टअप असफल भयो, जुन सफल भएको भए पहिलो निजी लगानीको चन्द्र अभियान हुने थियो । त्यस्तै, जापानी स्टार्टअप इजपेस(९३४८.टी ) ले पनि यही वर्ष असफल अवतरण प्रयास गरेको थियो ।
‘चन्द्रमामा अवतरण कठिन भन्ने कुरा हामीले देखिरहेकै छौँ’,क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक बेथानी इहलम्यानले भने । एमआइटीले पनि चन्द्रमाको दक्षिणी ध्रुव र यसको पानीको बरफको नक्सांकनका लागि सन् २०२४ को मिसन निमित्त नासासँग काम गरिरहेको छ ।