१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Saturday, 21 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o भदौ ११ सोमबार १o:o५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनप्रशासन क्याम्पसमा आर्थिक आयव्ययमै नसमेटी २० लाख हिनामिना

०७६ फागुनमा खर्च व्यवस्थापनका लागि भन्दै जनप्रशासन केन्द्रीय विभागबाट क्याम्पसले लगेको रकम दुई वर्षको आयव्यय विवरणमै छैन, विभागले दुईपटकसम्म पत्र काट्दा पनि क्याम्पसले बुझाएन विवरण

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १o:o५:oo

बल्खुस्थित जनप्रशासन क्याम्पसलाई जनप्रशासन केन्द्रीय विभागले ऋणमा दिएको रकम हिनामिना भएको छ । निमित्त विभागीय प्रमुख छँदा ०७६ फागुनमा हालका क्याम्पस प्रमुख हरिभक्त शाहीले क्याम्पसको खर्च व्यवस्थापनका लागि भन्दै विभागबाट २० लाख सापटी लिएका थिए । तर, सो रकम क्याम्पसको ०७६/७७ र ०७७/७८ को आर्थिक आय–व्यय विवरणमा उल्लेख नगरी खर्च गरिएको थियो ।

क्याम्पस प्रमुख शाही र लेखा अधिकृत यादव भट्टराईसहितले मिलेमतोमा उक्त रकम हिनामिना गरेको आरोप लागेको छ । रकम कहाँ खर्च भयो भनेर दुईपटक क्याम्पस प्रशासनलाई पत्राचार गरी विवरण माग गर्दा पनि क्याम्पसले उपलब्ध नगराएको विभागले जनाएको छ । विभागीय प्रमुख यशोदाकुमारी काफ्लेले विभागबाट क्याम्पसले २० लाख रुपैयाँ लगेको र उक्त पैसा क्याम्पसले के गर्‍यो भन्ने जानकारी प्राप्त नभएको बताइन् । ‘उहाँ (शाही)ले हामीसँगै पैसा लैजानुभएको हो, त्यो पैसा के गर्नुभयो भन्ने कुनै जानकारी छैन,’ उनले भनिन् । 

तर, क्याम्पस प्रमुख शाहीले भने रकम हिनामिना नभएको दाबी गर्दै शिक्षकलाई तलब खुवाउन सापटीका रूपमा लिएकाले वार्षिक आयव्ययमा समावेश गर्न आवश्यक नठानेको तर्क गरेका छन् । उनले क्याम्पसको लेखा र अडिटले छानबिन गरे सहयोग गर्न आफू तयार रहेको पनि बताए । ‘हामीले सो रकम हिनामिना गर्न ल्याएका होइनौँ, शिक्षकलाई तलब खुवाउन ल्याएका हौँ,’ उनले भने, ‘त्यतिवेला भवन बनाउँदा अन्य रकम नभएपछि विभागबाट २० लाख र त्रिवि आर्थिक प्रशासन महाशाखाबाट २० लाख रुपैयाँ सापटी ल्याएर शिक्षकलाई तलब खुवाएका थियौँ । सापटी लिएको रकम भएकाले वार्षिक आयव्ययमा समावेश गर्न आवश्यक नठानेका हौँ ।’

उनले ०७६ मा क्याम्पसको भवन तयार हुँदा १२ करोड खर्च भएको र अन्य खर्च धान्न कठिन भएपछि सापटी लिएको रकम नतिरेको बताए । मासिक विभागले ३० हजार रुपैयाँ दिने भनेर विभाग र क्याम्पसबीच बनाइएको ‘समन्वय कार्यविधि ०७६’ मा उल्लेख भएकाले सोहीअनुसार सापटी लिएको पनि उनको दाबी छ । विभाग प्रमुख काफ्लेले अनावश्यक रूपमा रकम मागेको शाहीको तर्क छ । 

‘सो रकम हामीले किन फिर्ता दिने ? उल्टै हामीलाई सहयोग गर्नुपर्ने रकम दिएको छैन,’ उनले भने, ‘विभाग प्रमुखले छलफल गर्न पनि मान्नुहुन्न, हामीलाई एकोहोरो आरोप मात्रै लगाउनुभएको छ ।’ त्रिवि आर्थिक प्रशासन महाशाखाबाट लिएको २० लाख सापटी भने तिरिसकेको उनले बताए । हाल क्याम्सपले विभागको बिजुली र पानीको शुल्कसमेत तिरिदिने गरेको, तर विभागले सहयोग नगरेको आरोप क्याम्पस प्रमुख शाहीको छ । 

 ताकेता गर्दा पनि विवरण पाएका छैनौँ
यशोदाकुमारी काफ्ले, विभागीय प्रमुख, जनप्रशासन केन्द्रीय विभाग 

क्याम्पस प्रमुख हरिभक्त शाहीले जनप्रशासन केन्द्रीय विभागबाट २० लाख रुपैयाँ ऋण लैजानुभएको हो । त्यो पैसा के गर्नुभयो भन्ने कुनै जानकारी छैन । रकम कहाँ खर्च भयो भनेर दुईपटक क्याम्पस प्रशासनलाई पत्राचार गरी विवरण माग गर्‍यौँ, क्याम्पसले उपलब्ध गराएन ।

हिनामिना गर्न होइन, तलब खुवाउन लिएका हौँ
हरिभक्त शाही, क्याम्पस प्रमुख, जनप्रशासन क्याम्पस

हामीले सो रकम हिनामिना गर्न होइन शिक्षकलाई तलब खुवाउन ल्याएका हौँ । त्यतिवेला भवन बनाउँदा अन्य रकम नभएपछि विभागबाट २० लाख र त्रिवि आर्थिक प्रशासन महाशाखाबाट २० लाख रुपैयाँ सापटी ल्याएर शिक्षकलाई तलब खुवाएका थियौँ । सापटी लिएको रकम भएकाले वार्षिक आयव्ययमा समावेश गर्न आवश्यक नठानेका हौँ ।

भर्ना शुल्क हिनामिना गर्ने कर्मचारीलाई पनि भएन कारबाही 
जनप्रशासन क्याम्पसमै यसअघि विद्यार्थी भर्ना हुँदा बुझेको शुल्क र कर्मचारीकै चेकको रकमसमेत झिकेर लेखापाल सविता श्रेष्ठसहित लेखाका तीन कर्मचारीले झन्डै दश लाख हिनामिना गरेका थिए । तर, उनीहरूमाथि हालसम्म क्याम्पस प्रशासन र विभागले कुनै कारबाही गरेको छैन । 

त्रिवि आन्तरिक लेखापरीक्षकको कार्यालयले क्याम्पसको आन्तरिक आर्थिक लेखापरीक्षण गर्ने क्रममा झन्डै चार महिनाअघि नै रकम हिनामिना भएको पत्ता लगाएको थियो  । त्यसपछि क्याम्पस प्रशासनलाई आर्थिक हिनामिनाबारे छानबिन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै क्याम्पस प्रशासनले आन्तरिक छानबिन गरेर आर्थिक हिनामिना भएको ठहर गर्दै तीन महिनाअघि नै त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार कार्यालयलाई प्रतिवेदन बुझाएको थियो  । तर, हालसम्म पनि आर्थिक हिनामिना गर्ने कर्मचारीलाई रजिस्ट्रार कार्यालयले कारबाहीको गर्न सकेको छैन ।

रजिस्ट्रार कार्यालयले अख्तियारलाई देखाउँदै कारबाही गर्नबाट पन्छिँदै आएको छ । रकम हिनामिना गरेका तीनजना कर्मचारी नियमित रूपमा कार्यालयमै आइरहेका छन् । उनीहरूले गल्ती गरेको पुष्टि भएसकेकाले त्रिविले नै कारबाही गर्नुपर्नेमा नगरेको क्याम्पस प्रमुख शाही बताउँछन् । उनले चार दिनअघि सो विषयमा सोध्न अख्तियारले आफूलाई बोलाएको र हिनामिनाबारे जानकारी गराएको बताए ।