Skip This
सिजनमा नबिक्ने चिन्ताले प्रतिकेजी ३० रुपैयाँमै व्यापारीलाई स्याउ बेच्दै किसान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ९ शनिबार
  • Friday, 26 July, 2024
२o८o भदौ ९ शनिबार o६:१२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिजनमा नबिक्ने चिन्ताले प्रतिकेजी ३० रुपैयाँमै व्यापारीलाई स्याउ बेच्दै किसान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ९ शनिबार o६:१२:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ४ रंगका किसान हरि बुढाले नपाकेको दुई क्विन्टल स्याउ साउन अन्तिम साता नै बेचिसके । डोल्पा, हुम्ला क्षेत्रमा स्याउ रसिलो हुने समय भदौ अन्तिम सातादेखि असोजमा हो । तर, सिजनमा स्याउ नबिक्ने र गाईभैँसीलाई कुँडो बनाएर खुवाउनुपर्ने भएकाले उनले ३० रुपैयाँ प्रतिकेजीका दरले पाक्नुअघि नै स्याउ बेचेका हुन् । 

बुढाको बगैँचामा स्याउका सय बोट छन् । ‘नेपालगन्ज, सुर्खेत पुर्‍याउन सके त भाउ आउँथ्यो,’ उनले भने, ‘दुनैसम्म पुगेको सडक पनि कच्ची छ । बर्खामा लैजान सकिँदैन । त्यही भएर व्यापारीलाई स्याउ बेचिदिएँ ।’ रंगकै रुद्री बुढाले पनि ११ क्विन्टल स्याउ ३५ हजारमा बेचेका छन् । ‘स्याउ पाकिसकेपछि व्यापारी आउँदैनन् । गाउँमा कति नै बिक्री हुन्छ र ?’ उनले भने, ‘पछि त्यत्तिकै फाल्नुभन्दा अहिले नै बेचिदिएँ ।’ 

त्रिपुरासुन्दरी– ३ जिँउका किसान रामबहादुर गुरुङको बगैँचामा ३० क्विन्टल स्याउ फलेको छ । ‘डोल्पामा स्याउ खपत हुने ठूलो बजार छैन, ठूला सहरमा लैजान गाह्रो छ । कच्ची बाटो र ठाउँ–ठाउँमा पुल नहुँदा दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ, यसरी लैजाँदा स्याउको मूल्यभन्दा ढुवानी रकम धेरै हुन्छ,’ उनले भने । 

डोल्पाका स्याउ बगैँचामा तीन वर्षयता नेपालगन्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाबाट स्याउ किन्न व्यापारी घरमै पुग्ने गरेका छन् । मुख्य व्यापारी नभई बिचौलिया व्यापारी भने बजार अभाव, सडकको असुविधा र ढुवानी समस्याको मौका छोपेर राम्रोसँग नपाकेको स्याउ सस्तोमा किनेर नेपालगन्ज, धनगढी, बुटवलदेखि काठमाडौंसम्म पुर्‍याउँछन् । उनीहरू स्याउ नपाक्दै बगैँचा पुग्छन् र सस्तोमा मोलमोलाइ गर्छन् । र, ठूलो मात्रामा स्याउ किनेर ढुवानी गर्छन् । तर, स्थानीय किसान भने यसरी ढुवानी गर्न सक्दैनन् । त्यही भएर किसानले प्रतिकिलो ३०–३५ रुपैयाँमा बेचेको स्याउ तराईका बजारमा दुई सयदेखि साढे दुई सयसम्म बिक्री भइरहेको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ३ स्थित सुँ, जिँउ र वडा नम्बर ४ को रंगमा स्याउ बगैँचा प्रशस्त छन् । त्यसबाहेक ठूलीभेरी नगरपालिका– ७ को जुफाल, ८ र ९ का डाँगीवाडा, ४, ५ र ११ का लोचा, थाला, तिप्ला र रहमा पनि स्याउ फलेको छ । स्याउ राम्रोसँग नपाक्दै डोल्पाली कृषकले ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका– ४ का वडाध्यक्ष रञ्जित बुढाले नगरपालिकाले मूल्य निर्धारणमा चासो नदिँदा कृषक मारमा परेको र बिचौलिया व्यापारीले फाइदा कमाएको बताए । डोल्पामा चार सय १२ हेक्टरमा स्याउ खेती हुन्छ । यहाँ स्याउको वार्षिक उत्पादन तीन हजार दुई सय ९६ टन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । डोल्पामा रेड, गोल्डेन स्याउ उत्पादन हुने गर्छ ।

असोजमा भारतको स्याउ आउने भएकाले जुम्लामा सस्तोमै बिक्री

जुम्लाको तातोपानी गाउँपालिका– २ डाँगीवाडाका रामबहादुर रावलको स्याउ बगैँचा लटरम्म बनेको छ । स्याउको भाउ नपाउने चिन्ताले उनले व्यापारी, ठेकेदारलाई बोटमै प्रतिकेजी ६० रुपैयाँका दरले ४८ क्विन्टल बेचेका छन् । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्जलगायत सहरमा प्रतिकेजी दुईदेखि तीन सयसम्ममा बेचिन्छ । ‘स्याउका दुई सय ५० बोट छन् । बेच्नलाई आफैँ सहर लग्न सकिँदैन,’ रावलले भने, ‘ठूला व्यापारी बगैँचामा आउँदैनन् । सानाले राम्रो भाउ दिँदैनन् ।’ सदरमुकाम खलंगामा यही स्याउ ८० रुपैयाँ किलोसम्म उपभोक्ताले खान पाउँछन् । उनका अनुसार असोजमा स्याउले राम्रो भाउ पाउँदैन । ‘त्यतिखेर नेपालगन्जलगायत बजारमा भारतको सिमलाको स्याउ नै छ्यापछ्याप्ती हुन्छ,’ उनले भने, ‘दुई–तीन दिन लगाएर जुम्लाबाट नेपालगन्ज स्याउ पु¥याउन ढुवानी खर्च नै बढी हुन्छ । त्यतिखेर भाउ राम्रो हुँदैन ।’ 

०६४ मा १४औँ जिल्ला परिषद्बाट अर्गानिक जिल्ला घोषणा भएको जुम्लाको स्याउको माग बजारमा छ । तर, बजारीकरणको समस्याले सबै स्याउ बिक्दैन । जसकारण किसानले सस्तोमै भए पनि ठेकेदारलाई स्याउ दिन्छन् । पछिल्लो समय व्यापारी र किसानको मिलेमतोमा काँचो स्याउ लिने र पछि माग हुँदा पनि नेपालमा स्याउ नपाइने तथा आयातमै निर्भर हुनुपर्ने स्थिति छ । बजार सुनिश्चित नहुँदा, मूल्य निर्धारण नहुँदा तथा व्यवस्थित संकलन केन्द्र नहुँदा किसान काँचो स्याउ बेच्न बाध्य छन् । जुम्लामा एक सय ५० टनसम्म स्याउ उत्पादन हुन्छ ।