१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाढीपहिरोले पोल ढलेपछि जुम्लामा नेसनल ग्रिड अवरुद्ध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo

बाढीपहिरोले पोल ढलेपछि जुम्लामा नेसनल ग्रिड अवरुद्ध भएको छ । भदौ पहिलो साता वर्षासँगै आएको बाढीपहिरोले कालीकोटको तिलागुफा नगरपालिका टिपुरे भिरनजिक बिजुलीको पोल ढलेपछि तीन दिनदेखि नेसनल ग्रिड अवरुद्ध भएको हो । बिजुली तीन दिनदेखि आपूर्ति नहुँदा जुम्ला अन्धकार बनेको छ । चन्दननाथ नगरपालिका– ७ की अतिना रावल बत्ती नहुँदा बेलुका पढ्न पाउँदिनन् । उनले भनिन्, ‘बत्ती नहुँदा गृहकार्य गर्न समस्या भएको छ ।’

नियमित विद्युत् आपूर्ति नहुँदा विद्यार्थीजस्तै साना उद्योग–कलकारखाना, व्यापार–व्यवसाय गर्नेहरू पनि मारमा परेका छन् । चन्दननाथ नगरपालिका– ४ का मोबाइल मर्मत पसल सञ्चालक कमल नेपालीले नेसनल ग्रिड पुगेपछि भएको सोलार ऊर्जा बेचे । ‘नेसनल ग्रिड पुगेपछि सधैँ बिजुली आउँछ होला भन्ने भयो । तर, अहिले नियमित विद्युत् नआउँदा निकै समस्या खेप्नुपरेको छ,’ उनले भने । 

०७८ साउनमा जुम्ला नेसनल ग्रिडसँग जोडिएको हो । दैलेखदेखि कालीकोट र कालीकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारणलाइन पुगेको छ । राष्ट्रिय विद्युत् प्रसारणलाइनमा जोडिए पनि लाइन निकै लामो भएको हुनाले वेलावेला  बिजुली आपूर्तिमा समस्या हुने गरेको छ । 

कर्णाली राजमार्ग हुँदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारणलाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा चुनौती देखिएको हो । कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएको छ । डोजर प्रयोग हुँदा बिजुलीका पोल ढल्ने र तार चुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको हो ।

कालीकोटको टिमुरेमा बिजुलीको पोल ढल्नुका साथै तार चुँडिएको हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए । उनका अनुसार मर्मतका लागि टोली परिचालन भएको छ । वर्षासँग बाढीपहिरो आएकोले मर्मत कार्यमा ढिलाइ भइरहेको छ । 

लामो दूरीको लाइन हुँदा हावाहुरी, वर्षा र हिमपातले पनि नियमित बिजुली आपूर्तिमा समस्या हुने गरेको छ । ‘लामो दूरीको लाइन भएका कारण बिग्रेको खण्डमा मर्मत गर्न पनि समय लाग्छ । विद्युतमा केही समस्या आएपछि तुरुन्तै मर्मतका लागि टोली परिचालन गरेका हुन्छौँ । तर, भौगोलिक बनावट पनि अप्ठ्यारो छ,’ उनले भने, ‘अहिले जुम्लासम्म पुगेको ११ केभिए लाइन हो । यो निकै कम क्षमताको विद्युत् हो । सहरीकरण बढ्दै गरेपछि बिजुलीको लोड पनि बढ्दै गएको छ । लोड धान्न नसकेर विद्युत् फल्ट हुने गरेको छ ।’

नेसनल ग्रिड कम क्षमताको हुनु र यहाँ स्थानीय स्तरमा पनि विद्युत् उत्पादन नहुनुले नियमित विद्युत् आपूर्तिको समस्या झेल्नुपरेको उनको भनाइ छ । 

ad
ad