१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीनमहिने अभियानले माओवादीको संगठनलाई ‘सर्भिसिङ’ गर्नेछ : जनार्दन शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:५४:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले आगामी १६ भदौदेखि सुरु गर्न लागेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ले पार्टीको संगठनहरूलाई ‘सर्भिसिङ’ गर्ने बताएका छन्।

माओवादी केन्द्रको काठमाडौं जिल्ला समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले देशभर पार्टी गुटलाई अन्त्य गरी विधि र प्रणालीमा सञ्चालन गर्न संगठनलाई प्रभावकारी ढंगले परिचालन गर्नु आवश्यक रहेको र तीनमहिने अभियानबाट संगठन पुनर्गठन गर्न सफल हुने विश्वास लिएको बताए।

‘तीनमहिने अभियानमा गएपछि संगठनभित्र के–के बिग्रेको छ भन्ने थाहा हुन्छ। सोहीअनुसार सर्भिसिङ गरिनेछ,’ शर्माले भने, ‘त्यसपछि संगठन परिचालनमा कुनै समस्या नआउने विश्वास लिएको छु।’

तीनमहिने अभियानका लागि प्रदेश इन्चार्ज हेरफेर गर्ने केन्द्रीय समितिको निर्णयअनुसार शर्मा बागमती प्रदेश इन्जार्ज भएर आएका छन्। उनी आएयता रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, भक्तपुर र काठमाडौंमा अभियानबारे प्रशिक्षण दिइसकेका छन्। उनले अहिलेसम्मका कमीकमजोरीलाई सुधार गरेर सुदृढ पार्ने र जनताको पार्टी बनाउने गरी अभियानमा लाग्न पनि निर्देशन दिए।

त्यस्तै, आउँदो समयमा नीति अधिवेशन र विशेष अधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउने उनको भनाइ थियो। ‘केन्द्रीय समितिमार्फत एउटा विधि बनाउने र सो विधिलाई पार्टी अध्यक्ष प्रचण्ड तथा पदाधिकारीहरूले समेत उल्लंघन नगर्ने भनेर संकल्प भएको छ। आउँदो विधान सम्मेलनले पार्टीले लिने नीतिबारे थप विषयवस्तु तय गर्नेछ,’ उनले भने, ‘त्यस्तै माओवादीका सबै कमिटी अब निर्वाचित हुनेछन्। निर्वाचनमा नगई पार्टी बन्दैन भन्ने निष्कर्ष निकालिसकेका छौँ। आउँदो विशेष महाधिवेशनमा यो निर्णय कार्यान्वयन हुनेछ।’

उनले काठमाडौंको ऐतिहासिक महत्व बुझेर कुन क्षेत्रका जनता के चाहन्छन् भन्ने कुरामा ध्यान दिई जनतासँग सहकार्य गर्न पनि सुझाव दिए। सहरी क्षेत्रमा माओवादी कमजोर बन्दै गए पनि इतिहास हेरेर उच्च मनोबलका साथ अभियानमा सक्रिय हुन उनले निर्देशन दिए।

१६ भदौबाट सुरु हुने अभियान यसअघिको जस्तो नभएको भन्दै उनले शान्ति प्रक्रियापछिकै ठूलो महत्व दिएको कार्यक्रम भएको बताए। उनले अभियानका क्रममा जनतासमक्ष जाँदा पार्टी अध्यक्ष प्रचण्ड तीनपटक प्रधानमन्त्री हुँदा प्राप्त गरेका उपलब्धिहरूसँगै लिएर जान र सुनाउन सुझाव दिए।

ad
ad