१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धनगढी डिपोमा डिजेल मिसावट घटना : ट्यांकर र चालक निलम्बन, कर्मचारीलाई उन्मुक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:११:oo

पेट्रोल बोकेको ट्यांकरमा डिजेल मिसावट भेटिएको घटनामा आयल निगमले सम्बन्धित कर्मचारीलाई जोगाएर ट्यांकर र चालकलाई कारबाही गरेको छ । निगमले तीन महिनासम्म पेट्रोलियम पदार्थ बोक्न नपाउने गरी ट्यांकर र चालकलाई निगमले निलम्बन गरेको हो ।

आयल निगमको प्रादेशिक कार्यालय धनगढीका प्रमुख मोहनकुमार शाहले पेट्रोल बोकेको ट्यांकरमा डिजल मिसावट भएको पुष्टि भएपछि यस्तो कारबाही गरिएको बताए । निगमले गत बिहीबार घोडाघोडी नगरपालिका– १० को मित्र ट्रेडर्सलाई पठाएको पेट्रोलमा डिजेल मिसावट गरिएको पाइएको थियो । पेट्रोलियम पदार्थको गुणस्तर चेकजाँचमा संलग्न कर्मचारीको त्रुटि देखिए पनि निगमले ट्यांकर र चालकलाई कारबाही गरेर कर्मचारीलाई उन्मुक्ति दिएको हो । 

निगमले मित्र ट्रेडर्सका लागि ना.५ख ७७३ नम्बरको ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाएको थियो । उक्त ट्यांकर लिएर चालक कमल जोशी गएका थिए । तर, उक्त ट्रेडर्सले पेट्रोल पम्पमा खसाल्नुअघि गुणस्तर जाँच गर्दा डिजल मिसावट भएको पाइएको थियो । चालकभन्दा पनि कर्मचारीको लापरबाहीले यस्तो भएको र निगमले चालकलाई मात्र कारबाही गरेर कर्मचारीलाई जोगाएको पेट्रोलियम व्यवसायीको आरोप छ ।

सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएनसका अध्यक्ष चक्र मल्लले गुणस्तर परीक्षणविनै पेट्रोल पठाउनु कर्मचारीको लापरबाही भएको बताए । ‘निगमले भारतबाट ल्याएपछि गुणस्तर परीक्षण गरेर मात्र पेट्रोल पम्पलाई पठाउनुपर्ने हो, तर गुणस्तर परीक्षण नगरेरै पठाएको देखियो,’ अध्यक्ष मल्लले भने, ‘यसमा चालकको मात्र होइन, निगमका कर्मचारीको पनि दोष छ ।’

मल्लका अनुसार मिसावट भएको पाइएपछि त्यहाँ पुगेका निगमका प्रमुख शाह र एसोसिएसनका प्रतिनिधिबीच उक्त पेट्रोल ढुवानीकर्ताले चालकलाई कारबाही गर्ने तथा निगमले कर्मचारी र ट्यांकरलाई कारबाही गर्ने सहमति भएको थियो । तर, ट्यांकर र चालकलाई मात्र कारबाही गरेर निगमले गुणस्तर जाँचको जिम्मेवारीमा रहेका आफ्ना कर्मचारी जोगाएको अध्यक्ष मल्लले बताए ।
 

ad
ad