मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
मीनराज बसन्त काठमाडाैं
२०८० भदौ ३ आइतबार ०९:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिडयता टेक इन्डस्ट्रीमा पाँच लाखले गुमाए रोजगारी 

Read Time : > 2 मिनेट
मीनराज बसन्त, काठमाडाैं
२०८० भदौ ३ आइतबार ०९:३०:००

कम्पनीले यति ठूलो संख्यामा कर्मचारी कटौती गर्नाको मुख्य कारण वैश्विक आर्थिक मन्दी, मुद्रास्फीति, उच्च ब्याजदर, आपूर्ति शृंखलामा चुनौती आदि बताउँदै आएका छन् 

कोभिड महामारीपछि विश्व अझै पनि आर्थिक संकटबाट पूर्णतः मुक्त हुन सकेको छैन । अझै पनि वैश्विक अर्थतन्त्र धरमर नै देखिन्छ । कोभिडपछि लय समात्न थालेका वेला रुस–युक्रेन युद्ध सुरु भयो । उक्त युद्धले विश्राम लिने छाँटकाँट देखिएको छैन । यी दुवैको असर प्रत्यक्ष अर्थतन्त्रसँग जोडिएका हरेक क्षेत्रमा पर्‍यो । यसबाट केही हदसम्म बच्न ठूला कम्पनी, कर्पोरेट हाउसलगायतले कर्मचारी कटौतीलाई पहिलो प्राथमिकतामा राखे । कर्मचारी कटौती गर्नेमा प्रविधि उद्योग (टेक इन्डस्ट्री) पनि शीर्ष स्थानमा छ ।

कोभिड महामारी सुरु भएयता कर्मचारी कटौती एवं निष्कासनको लहर चलेको छ । विश्वका नाम चलेका ठूला टेक कम्पनीले दिल खोलेरै कर्मचारी कटौती गरेका छन् । यो वर्षको अगस्टसम्म मात्रै कम्पनीहरूले कुल दुई लाख २८ हजार कर्मचारी कटौती (निष्कासनसमेत) गरेका छन्, जसमध्ये जनवरीमा सबैभन्दा धेरै ८९ हजार ८२८ जना रहेका छन् । जनवरीमा अत्यधिक कर्मचारी कटौतीपछि यो क्रम केही थामिएको जस्तो देखिन्छ । त्यसपछि क्रमशः फेब्रुअरीमा ४० हजार २०३, मार्चमा ३७ हजार ९४९, अप्रिलमा २० हजार १०८ र मेमा १५ हजार ४५ कर्मचारी निष्कासनमा परे । यो क्रम यहीँ रोकिँदैन । लगत्तै जुनमा ११ हजार ७१, जुलाईमा १० हजार ६४३ र अगस्ट (हालसम्म) मा तीन हजार ७७५ जनाले रोजगारी गुमाएका छन् । यसरी हेर्दा यो वर्ष मात्रै कुल रोजगार गुमाउनेको संख्या दुई लाख २८ हजार ६२२ देखिन्छ । 

कम्पनीले यति ठूलो संख्यामा कर्मचारी कटौती गर्नाको मुख्य कारण वैश्विक आर्थिक मन्दी, मुद्रास्फीति, उच्च ब्याजदर, आपूर्ति शृंखलामा चुनौती आदि बताउँदै आएका छन् । सन् २०२२ लाई कोभिडपछिको लय समातेको वर्ष मानिन्छ । २०२० देखि सुरु भएको महामारीले दुई वर्षसम्म समग्र विश्वलाई ठप्प बनायो । कुनै आर्थिक गतिविधि हुन पाएनन् । आर्थिक गतिविधि नहुँदा त्यसको प्रभाव सानादेखि ठूला कम्पनी, कर्पोरेट हाउस, पर्यटनलगायतका क्षेत्रमा पर्‍यो । त्यही मेसोमा हजारौँ कर्मचारीले गर्दै आएको कामबाट हात धुनुपर्‍यो ।

सन् २०२२ लाई कोभिडपछिको लय समातेको वर्ष मानिन्छ । २०२० देखि सुरु भएको महामारीले दुई वर्षसम्म समग्र विश्व ठप्प बनायो । कुनै आर्थिक गतिविधि हुन पाएनन् । आर्थिक गतिविधि नहुँदा त्यसको प्रभाव सानादेखि ठूला कम्पनी, कर्पोरेट हाउस, पर्यटनलगायत क्षेत्रमा पर्‍यो । त्यही मेसोमा हजारौँ कर्मचारीले कामबाट हात धुनुपर्‍यो ।

त्यसैगरी, सन् २०२२ मा पनि उल्लेख्य मात्रामा कर्मचारी कटौती भएको देखिन्छ । लेफअफको तथ्यांकअनुसार सो वर्ष प्रविधि उद्योगमै करिब एक लाख ६६ हजार जना रोजगारविहीन बने । जसमध्ये जनवरीमा ५१४, फेब्रुअरीमा तीन हजार ६९७, मार्चमा पाँच हजार ७३२, अप्रिलमा चार हजार १५७ र मेमा १३ हजार ६४ जना छन् । यस्तै, जुनमा १८ हजार ३४०, जुलाईमा १६ हजार ३९९, अगस्टमा १३ हजार २१३, सेप्टेम्बरमा पाँच हजार ९७५, अक्टोबरमा २० हजार ५७९, नोभेम्बरमा ५३ हजार ७९७ र डिसेम्बरमा १० हजार ४५२ जना टेक इन्डस्ट्रीका कर्मचारीले जागिरबाट हात धुनुपर्‍यो । 

कोभिड सुरु भएको वर्ष अर्थात् २०२० मा कुल ८१ हजारभन्दा बढी कर्मचारीलाई कम्पनीले निष्कासन गरे । यसमा सर्वाधिक फेब्रुअरीमा कुल ६० हजार ५७० जना रोजगारविहीन बनेको देखिन्छ । कोभिडको दोस्रो लहरले विश्व आक्रान्त हुँदा टेक इन्डस्ट्रीमा कर्मचारी कटौती झन् ठूलो परिमाणमा हुन थाल्यो । 

कुन इन्डस्ट्रीले कति कर्मचारी कटौती गरे ? : लेअफ्सको तथ्यांकअनुसार वर्ष २०२२ र २०२३ मा चार लाख ४७ हजारभन्दा बढी संख्यामा कम्पनीले कर्मचारी कटौती गरेका छन् । यसमा रिटेल, हेल्थकेयरदेखि रियल इस्टेटसम्म छन् । सन् २०२२ मा यी क्षेत्रमा एक लाख ५७ हजारभन्दा बढीले रोजगारी गुमाएका थिए । यस्तै, ०२३ मा कुल दुई लाख २८ हजार जनाभन्दा बढी प्रविधिजन्य कम्पनीमा रोजगारविहीन बनेका छन् । 

कोभिडपछिको श्रम बजार : कोभिड महामारीपछि विश्वमा बेरोजगारी संख्या (श्रम बजार) बिस्तारै लयमा फर्कन थालेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार सन् २०२० मा कोभिडको जगजगीले बेरोजगारी संख्या २३ करोड ३५ लाखबाट २०२२ मा आइपुग्दा २० करोड ५० लाखमा झरेको छ । तर, सन् २०१९ को अनुपातमा अझै पनि करिब डेढ करोड बढी देखिन्छ । आइएलओका अनुसार २०२२ मा विश्वभर बेरोजगारी दर ५.८ प्रतिशत थियो । यो पनि कोभिडपूर्वको वर्ष (सन् २०१९)को तुलनामा बढी नै हो । सो वर्ष यस्तो बेरोजगारी दर जम्मा ५.५ प्रतिशत थियो । 

उच्च आयस्रोत भएका देश बेरोजगारी संख्या घटाउन सक्षम भएका देखिन्छन् । कतिसम्म भने उनीहरूले कोभिडपूर्वको अवस्थाभन्दा पनि सुधार गरेका छन् । सन् २०१९ मा उच्च आयस्रोत भएका देशमा बेरोजगारी दर ४.८ प्रतिशत थियो । जबकि, दुई वर्ष लामो महामारीपछि २०२२ मा उक्त दर घटेर ४.५ प्रतिशत पुगेको आइएलओको तथ्यांकले देखाउँछ । यस्तै, यो वर्ष वैश्विक बेरोजगारी संख्या ३० लाखले बढ्ने आकलनसमेत आइएलओले गरेको छ ।