१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:४७:oo
Read Time : > 5 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘मिसन ८४’ अभियानमा जनमत पार्टी

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४७:oo

२३ जिल्लामा संगठन विस्तार, समानुपातिक मत २० लाख पुर्‍याएर मधेसको पहिलो शक्ति बन्ने लक्ष्य

०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मधेस प्रदेशको नयाँ शक्तिका रूपमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी आफ्नो आधार क्षेत्र मधेसमा जनमत बढाउन आक्रामक अभियानमा जुटेको छ । चार वर्षपछि हुने निर्वाचनलाई केन्द्रमा राखेर जनमतले ‘मिसन ८४’ अभियान नै थालेको हो ।

०७९ को निर्वाचनमा प्रतिनिधिसभामा ६, प्रदेश सभामा मधेस प्रदेशका १३ र लुम्बिनीका तीन गरेर १६ सिट जितेको जनमतले ०८४ को निर्वाचनमा कम्तीमा २० लाख समानुपातिक मत ल्याउने लक्ष्य लिएको छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ तीन लाख ९४ हजार पाँच सय १६ समानुपातिक मत ल्याएर राष्ट्रिय दल बनेको जनमतले त्यसलाई पाँच गुणा बढाउने गरी संगठन विस्तारमा जुटेको हो ।

‘समानुपातिक मतलाई पाँच गुणा बढाएर २० लाख पुर्‍याउने गरी संगठन विस्तारमा जुटिरहेका छौँ,’ जनमत पार्टीका राष्ट्रिय सचिव बिपी साहले भने, ‘सोही हाराहारीको सदस्य बनाउन वडा सुदृढीकरण अभियान, कमिटी गठन र पुनर्गठन, नेता तथा कार्यकर्ता प्रशिक्षण अभियानलाई तीव्रता दिइरहेका छौँ ।’ उनका अनुसार अहिले मधेसका आठ, लुम्बिनीका ६, कोसीका तीन, गण्डकीको एक, सुदूरपश्चिमको दुई र बागमतीको मकवानपुर र सिन्धुली गरेर २३ जिल्लामा संगठन विस्तार र पार्टी सदस्यता वितरण भइरहेको छ । पार्टी सदस्यता लिनेको संख्या आठ लाख पुगेको जनमतले दाबी गरेको छ । ‘केन्द्रबाट पठाइएको आठ लाख सदस्यताको ठेली (रसिद) सकिएको छ,’ साहले भने, ‘सदस्यता दोहोरिएको छ कि भनेर रुजु भइरहेको छ । हाम्रो मिसन भेट्न ०८४ को चुनावसम्म २० लाख सदस्य पुर्‍याउन अब १२ लाख आवश्यक छ । चार वर्षभित्र प्रत्येक वर्ष अढाई लाख सदस्य थप्दा यो टार्गेट भेटिन्छ भन्ने हिसाबले हामी जुटेका छौँ ।’

बिपी साह, सचिव, जनमत पार्टी
समानुपातिक मतलाई पाँच गुणा बढाएर २० लाख पुर्‍याउने गरी संगठन विस्तारमा जुटिरहेका छौँ । सोही हाराहारीको सदस्य बनाउन वडा सुदृढीकरण अभियान, कमिटी गठन र पुनर्गठन, नेता तथा कार्यकर्ता प्रशिक्षण अभियानलाई तीव्रता दिइरहेका छौँ ।

निर्वाचनलगत्तै नेता तथा कार्यकर्ता प्रशिक्षण अभियानमा जुटेको जनमतले हालसम्म १८ जिल्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जनमतले अहिले वडास्तरका कमिटी गठन र पुनर्गठन गरिरहेको जनाएको छ । वडा तहबाटै बलियो भए पार्टी बलियो हुने जनमतको बुझाइ छ । ‘स्थानीय तहको निर्वाचनमा होमिँदा हामीसँग २२ सयजति वडा कमिटी थिए,’ साहले भने, ‘तर मधेसमा सिके राउतको क्रेज र पार्टीप्रति जनलहरअनुसार स्थानीय तहमा अपेक्षित परिणाम आएन । त्यसपछि नै हामीले वडालाई सुदृढीकरण गरेर बलियो बनाउनुपर्छ भनेर समीक्षा गरेका थियौँ । सोहीअनुसार अहिले वडास्तरको कमिटी पुनर्गठन भइरहेका छन् ।’ 

अहिलेसम्म ९५२ वडा समिति पुनर्गठन भइसकेको साहले बताए । गाउँपालिकास्तरको वडा कमिटीमा न्यूनतम २१ सदस्यीय, नगरस्तरीय वडा कमिटीमा आवश्यकताअनुसार कमिटी भइरहेको उनको भनाइ छ । ‘एउटै वडामा तीन–चारवटा गाउँ र टोल हुने भएकाले सबै गाउँ टोल समेट्नुपर्दा समितिको आकार ठूलो हुन सक्छ,’ उनले भने, ‘एउटा वडामा दुई सय सदस्य पुगेपछि त्यहाँ वडा अधिवेशन गर्न सकिने हाम्रो विधान छ । दुई सय पुर्‍याउन वडा कमिटीलाई बुथ कमिटी, महिला र युवा कमिटी गठन गर्न निर्देशन दिइएको छ ।’ ०७९ को स्थानीय तहको निर्वाचनमा कुल १३६ मध्ये ११८ पालिकामा उम्मेदवार उठाएको जनमतको अहिले दुई सय कमिटी भए पनि यसलाई सक्रिय र बलियो बनाउन पुनर्गठनको तयारी गरिएको जनाएको छ । 

एक केन्द्रीय सदस्य, एक पालिका
हालै ५३ सदस्यीय केन्द्रीय समितिलाई २२० पुर्‍याएको जनमतले संगठन विस्तारलाई व्यापक बनाउन पालिकामा केन्द्रीय तहकै नेतालाई खटाउने निर्णय गरेको छ । एक केन्द्रीय सदस्यलाई एक पालिकाको जिम्मेवारी दिने निर्णय भएको सचिव साहले बताए । ‘अब सबै केन्द्रीय सदस्य फिल्डमा खटिनुहुनेछ,’ उनले भने, ‘सबैले जिम्मा दिइएको पालिकामा पार्टी प्रवेश कार्यक्रम गराउनुपर्ने निर्देशन छ । अहिले बर्खा लागेकाले भदौपछि यो अभियानले तीव्रता लिनेछ ।’

करिब चार लाख समानुपातिक मत ल्याएको जनमतले निर्वाचनपछिको आठ महिनामा २३ जिल्लाका आठ लाखले पार्टी सदस्यता लिएको दाबी गरेको छ । जसअनुसार जनमतले यसबीचमा थप चार लाख शुभेच्छुक बढाएको देखिन्छ । सचिव साहले अधिकांश मधेसकेन्द्रित दलमा रहेकाहरू नै भित्रिरहेको बताए । ‘लोसपाबाट सबैभन्दा धेरै आइरहेका छन्,’ उनले भने, ‘दोस्रोमा जसपा, तेस्रोमा माओवादी र त्यसपछि कांग्रेसबाट आउनेहरू छन् । कतिपय ठाउँमा त लोसपाको पूरै कमिटी सदस्यहरू नै जनमतमा मर्ज भएको उदाहरणसम्म छ ।’ 

लोसपाका नेता डा. शरदसिंह यादव र जसपाका पूर्वसांसद नर्सिङ चौधरी जनमत प्रवेश गरेका छन् । दुवैजना जनमतको १७ सदस्यीय सचिवालय कमिटीमा आबद्ध छन् । माओवादीबाट आएका पूर्वप्रदेश सांसद प्रह्लाद गिरी, जसपाबाट पूर्वराज्यमन्त्री करिमा बेगम, शशीकपुर मिया आएका छन् । माओवादीबाट आएका महेश यादव अहिले मधेस प्रदेशका शिक्षामन्त्री नै छन् । लोसपाबाट भित्रिएका सतीशकुमार सिंह मधेश प्रदेशका सांसद छन् । माओवादीबाट आएका रामगमन साह सप्तरी जिल्ला इन्चार्ज, जसपाबाट आएका विनोद यादव सिराहा जिल्ला इन्चार्ज, जसपाबाट आएका सुरेन्द्र मण्डल जनमतको धनुषा जिल्ला इन्चार्ज छन् । धनुषामा जसपाबाट आएका सुरेन्द्र मण्डल जिल्ला इन्चार्ज छन् । सचिव साहले केही जिल्लामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेशका नेताहरू पनि प्रवेश गरेको बताए ।

जनमतप्रति डाक्टर र इन्जिनियरको आकर्षण
युवा र बौद्धिक नेतृत्वलाई प्राथमिकतामा राखेको जनमतमा मधेसमा कार्यरत डाक्टर र इन्जिनियर पढेका व्यक्तिहरूको आकर्षण बढ्दो छ । ‘यहाँ भविष्य छ, अवसरका लागि क्युमा बस्नुपर्दैन भनेर धेरैजसो डाक्टर–इन्जिनियरहरू जोडिएका छन्,’ उनले भने, ‘चिकित्सक जनमत संघ त हाम्रो सक्रिय जनवर्गीय संगठनका रूपमा चिनिन्छ । एउटा जिल्लामा ५० भन्दा बढी डाक्टर सम्मिलित कमिटी बनेको छ । रौतहटमा ५३ सदस्यीय समिति बनेको छ, जब कि जिल्लाभर ६० हाराहारीमा चिकित्सक छन् । पर्सामा पनि त्यस्तै छ ।’ जनमत पार्टीमा अहिले २३ जनवर्गीय संगठन छन् । तर, धेरैजसो विघटित छन् । विद्यार्थी जनमत संघ सक्रिय छ । युवा जनमत संघलगायत विघटित संगठनहरूको तदर्थ समिति घोषणाको तयारी भइरहेको साहले जानकारी दिए । 

जनमतका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल आफ्नो पार्टीमा आकर्षण देखिनुको कारण डा. सिके राउतको व्यक्तित्वको प्रभाव र त्यसले जगाएको नयाँ आशा मुख्य कारण मान्छन् । ‘पुराना दलसँगको वितृष्णाका कारण मधेसका जनताले जनमतलाई नयाँ आशाका रूपमा हेरेका छन्,’ उनले भने, ‘ठूला दलदेखि पुराना मधेसी दलले समेत काम गरेनन् भनेर यहाँका जनता रिसाएका छन् । यही वेला डा. सिके राउतको शालीन र बौद्धिक व्यक्तित्वलाई यहाँका जनतामा विश्वास जगाएको छ । हामीले उठाएको भ्रष्टाचार र किसानका मुद्दाप्रति मान्छेहरूको विश्वास बढेको छ ।’

राष्ट्रिय सचिव बिपी साह अन्य मधेसकेन्द्रित दलका नेतामा सत्तालिप्सा देखिएका वेला डा. राउत त्यो छविबाट मुक्त देखिएका कारण पनि पार्टी सदस्यतामा आकर्षण बढिरहेको बताउँछन् । ‘प्रायः पार्टीको नेतृत्वमा स्वार्थ देखिन्छ, नेतृत्व आफैँ सरकारमा जान, मन्त्री हुन लोभ गरेको देखिन्छ । तर, हाम्रो पार्टी अध्यक्षज्यूमा त्यस्तो कुनै लोभलालच देखिन्न । मधेसमा उहाँको पढेलेखेको र बौद्धिक भन्ने छवि छ । जनताले पत्याएका पनि छन्,’ उनले भने । शिक्षा, स्वास्थ्य, रोजगारी र कृषक जनमत पार्टीको मुख्य प्राथमिकता रहेको उनले बताए ।

जनमत पार्टीको सदस्यता लिएका र लिन इच्छुक धेरैजसो अध्यक्ष सिके राउतकै हातबाट सदस्यता लिन इच्छुक देखिन्छन् । त्यसैले राउत स्वयं जिल्लामा पार्टी प्रवेश कार्यक्रममा दौडिरहेका छन् । एक साताअघि मात्रै उनले सप्तरी पुगेर करिब तीन सयलाई पार्टीमा प्रवेश गराए । अघिल्लो महिना वीरगन्जको टाउन हलमा करिब एक हजारलाई आफ्नै हातबाट पार्टी प्रवेश गराए । सचिव साहका अनुसार पार्टी प्रवेश कार्यक्रममा राउतको माग बढेका कारण भदौमा उनी पूर्वदेखि पश्चिमसम्म पार्टी प्रवेश अभियानमा दौडने तयारी छ । ‘डा. साबकै हातबाट प्रवेश गर्न चाहने धेरै नेता कार्यकर्ताहरू हुनुहुन्छ,’ उनले भने । 

मधेसलाई बेग्लै देश बनाउने एजेन्डाका कारण चर्चामा आएका राउत पहिलोपटक १८ चैत ०६८ मा खुलामञ्चको आमसभामा भाषण गर्न मधेसी बुद्धिजीवीका रूपमा उभिएका थिए । तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाको कार्यक्रममा उनले मधेसलाई अलग देश बनाउने विखण्डनकारी एजेन्डा सारेका थिए । त्यतिवेला मधेसकै मूल मुद्दालाई कमजोर बनाएको आरोप खेपेका राउत स्वतन्त्र र स्वायत्त मधेस अभियानका कारण सन् २०१४ देखि तीन वर्षको अवधिमा करिब २४ पटक हिरासत, दुईपटक जेल परेका थिए । राज्यविरुद्धको अपराधमा मुद्दा खेपिरहेका उनलाई जनकपुरमा कालो दिवस मनाएको १० दिनपछि २१ असोज ०७५ मा प्रहरीले घरमै ताल्चा फोडेर पक्राउ गरेको थियो । त्यसपछि करिब चार महिना जेल बसेका उनी २५ फागुन ०७५ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीको पहलमा सरकारसँग ११ बुँदे सहमति भएपछि छुटेका थिए । त्यसपछि मूलधारको राजनीतिमा आएर ४ चैत ०७५ मा उनले जनमत पार्टी गठन गर्ने निर्णय गरेका हुन् । गत प्रतिनिधिसभाको निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ मा भारी मतान्तरले हराउँदै उनी संसद् प्रवेश गरेका हुन् ।

जनप्रतिनिधिको ‘एप्रुभल रेटिङ’ : एक वडाध्यक्षको विपक्षमा बढी मत

शनिबार जनकपुरधाममा प्रदेश सांसदहरूको एप्रुभल रेटिङका लागि मतदान गर्दै जनमतका कार्यकर्ता । तस्बिर : हदिश खुद्दार/नयाँ पत्रिका

जनमत पार्टीप्रति आकर्षित नेता–कार्यकर्ता तथा शुभेच्छुकले ‘राइट टु रिकल’को एजेन्डा मन पराएका छन् । यही व्यवस्थाअनुसार जनमतले २७ साउनमा आफ्नो दलबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको जनताको चाहनाअनुसार काम गरे–नगरेको मूल्यांकन गर्न मतदान गराएको थियो । जसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रुपन्देही, कपिलवस्तु र बर्दियाका २२ स्थानमा निर्वाचित भएका जनप्रतिधिको मूल्यांकन गर्न सम्बन्धित पालिकाका पार्टी सदस्यले मतदान गरेका थिए । 

पालिका र वडाका अध्यक्ष गरेर २२ जनप्रतिनिधिको अनुमोदन रेटिङ भएको थियो । जसमध्ये २१ जनाको पक्षमा बढी मत आएका छन् । तर, सिराहा कल्याणपुर नगरपालिका– ९ का वडाध्यक्ष विनोदकुमार यादवको विपक्षमा मत आएको जनमतका सचिव बिपी साहले जानकारी दिए । खसेको कुल २४२ मतमध्ये १०३ मत पक्षमा आयो भने १३५ मत विपक्षमा परेको छ । यादवलाई धेरै खराब रेटिङ नभएकाले पहिलोपटक नसिहत दिने र विशेष स्पष्टीकरण सोध्ने साहले बताए । ‘अर्को वर्ष पनि यस्तै रेटिङ आयो भने फिर्ता बोलाएर पुनः मतदानको अवस्था सिर्जना गरिनेछ,’ साहले भने । 

यस्तै, जनमत पार्टीले आफ्नो पार्टीका प्रदेश सांसदहरूको एप्रुभल रेटिङ गरेको छ । प्रदेश सांसदहरूले निर्वाचित भएदेखि अहिलेसम्म गरेको कामको विषयमा जनमतले शनिबार बिहान १० देखि ५ बजेसम्म एप्रुभल रेटिङ अर्थात् अनुमोदन मूल्यांकन गराएको हो । मधेस प्रदेशका जनमतको समानुपतिकसहित १३ लुम्बनीमा तीन गरी १६ जना प्रदेश सांसद छन् । १६ सांसदले अहिलेसम्म गरेको कामको मूल्यांकनका लागि पार्टीले आन्तरिक मतदान गरेको जनमतका उपाध्यक्ष बसन्त कुश्वाहाले जानकारी दिए । शनिबार भएको अनुमोदन मूल्यांकन मतदानमा पार्टीका साढे तीन हजार सक्रिय सदस्य सहभागी भएको उनले बताए । ‘प्रदेश सांसदका लागि अनुमोदन मूल्यांकन पहिलोपटक हो,’ उनले भने, ‘यसमा कमीकमजोरी भएकोलाई सुधार गर्ने मौका पाउँछन् । दोस्रोपटक एक वर्षपछि पुनः अनुमोदन मूल्यांकन हुन्छ, त्यसमा ५१ प्रतिशतभन्दा कम मत ल्याएमा राइट टु रिकलको प्रावधान लागू हुने छ,’ उनले भने । 

ad
ad