
आजको वैश्वीकृत र बहुध्रुवीय संसारमा विज्ञान र प्रविधि प्रणालीमा कुनै पनि राष्ट्रले विश्वव्यापी रूपमा एकल प्रभुत्व जमाउन सक्ने सम्भावना छैन
गतसाता बाइडेन प्रशासनले चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई), क्वान्टम कम्प्युटिङ र सेमीकन्डक्टरले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भन्दै यस्ता क्षेत्रमा चीनमा हुने कुनै पनि प्रकारको अमेरिकी लगानीलाई प्रतिबन्ध गरेको छ । चिनियाँ विदेश मन्त्रालयले यस कदमको आलोचना गर्दै राष्ट्रिय सुरक्षाका नाममा अमेरिकाले चीनलाई विकास अधिकारबाट वञ्चित गर्ने डिजाइन गरेको अनुचित कार्य बताएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले पनि आफ्नो हित दृढतापूर्वक जोगाउन आफूसँग प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको टिप्पणी गरेको छ ।
एआई प्रविधिमा चीनले देखाएको अभूतपूर्व प्रगतिलाई कमजोर पार्न अमेरिकाले ७ अक्टोबर २०२२ मा चीनलाई उन्नत चिप्स बिक्रीमा प्रतिबन्ध लगाएपछि यी दुई देशबीच प्राविधिक प्रतिद्वन्द्विता चर्केको छ । हालैको अमेरिकी प्रतिबन्ध यसै प्राविधिक युद्धको अर्को संस्करण मात्र हो । अमेरिकाको दबाबमा जापान र नेदरल्यान्ड्सले पनि मार्च २०२३ मा चीनमा उन्नत सेमीकन्डक्टर उत्पादन उपकरणको निर्यात नियन्त्रण गर्ने घोषणा गरे । स्थानीय रूपमा निर्मित सेमीकन्डक्टर उपकरणले चिनियाँ बजारको १५ प्रतिशत हिस्सा मात्र ओगटेको छ, अन्य ८५ प्रतिशत मेसिन अमेरिका, नेदरल्यान्ड्स र जापानबाट आउँछन् । यी निर्यात नियन्त्रणद्वारा अमेरिकाले चीनलाई अमेरिकी चिपको पहुँचमा मात्र रोक लगाएन, चीप बनाउन आवश्यक उपकरणको पहुँचमै रोक लगाएर चीन स्वयंले द्रुत गतिमा चिप निर्माण गर्न सक्ने विकल्पमा अंकुश लगाएको छ । ‘एड्भान्स्ड माइक्रो–फेब्रिकेसन इक्विपमेन्ट चाइना’ (एएमइसी) का अध्यक्ष गेराल्ड यिनले एक सम्मेलनमा बोल्ने क्रममा अमेरिकाको वास्तविक लक्ष्य चीनको अत्याधुनिक चिप बनाउने प्रविधिलाई कम्तीमा पाँच पुस्ता पछाडि धकेल्ने रहेको बताएका छन् ।
विज्ञान, प्रविधि र नवीनतम आविष्कारको क्षमताले राष्ट्रको भविष्य परिभाषित गर्छ । वर्तमान समयमा एआई टेक्नोलोजीको विकास, यसको प्रभाव र उपयोगिताका साथै यस प्रविधिको नेतृत्व आर्थिक र सैन्यशक्तिको भविष्यका लागि आधारभूत कुरा हो भन्ने विषयमा बेइजिङ र वासिंटन दुवैका नीति–निर्माता विश्वस्त छन् । अमेरिकी राजनीतिक दल, सैन्य र खुफिया प्रतिष्ठान तथा सञ्चारमाध्यमबीच साझा सहमति छ– चीन संयुक्त राज्य अमेरिकाका लागि रणनीतिक खतरा हो र यसलाई रोक्न अमेरिकाले अझ कडा प्राविधिक नियन्त्रणका रणनीति अपनाउनुपर्छ । अर्कातर्फ सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनदेखि नै सी जिनपिङको नेतृत्वमा चीनले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई तीव्रतासाथ प्रवद्र्धन गरिरहेको छ ।
चीनको अनुसन्धान र विकास खर्च सन् २०१२ मा १.०३ ट्रिलियन युआन थियो, जुन बढेर २०२२ मा ३.०९ ट्रिलियन युआन पुगेको छ । त्यस्तै चीनको राष्ट्रिय अनुसन्धान तथा विकास खर्चमा पनि कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा उल्लेखनीय वृद्धि भएको छ । २०१२ मा चीनको राष्ट्रिय अनुसन्धान तथा विकास खर्च देशको जिडिपीको १.९१ प्रतिशत थियो भने गत वर्ष यसले देशको जिडिपीको २.५५ प्रतिशत हिस्सा ओगटेको थियो । पश्चिमी प्रविधिमाथिको निर्भरता घटाउन चीनले सन् २०१५ मा ‘मेड इन चाइना २०२५’ पहल सुरु गरेको थियो भने केही समयअघि राष्ट्रपति सीले सिंगुआजस्ता प्रतिष्ठित चिनियाँ विश्वविद्यालयको भ्रमणका क्रममा चिनियाँ संस्थाले विदेशी मोडेलको नक्कल गर्नबाट जोगिनुपर्ने र आफ्नै नवीनतम आविष्कारमा केन्द्रित रहनुपर्नेमा जोड दिएका थिए । ट्रम्प प्रशासनको व्यापार युद्ध र विभिन्न चिनियाँ प्राविधिक फर्मलाई निर्यात नियन्त्रणका नीति अघि सारेपछि चिनियाँ नेताहरूले मेड इन चाइना २०२५ को आधारभूत ‘आत्मनिर्भरता’ लक्ष्यलाई अझ सुदृढ बनाएका हुन् । बाइडेन राष्ट्रपति हुनुअघि नै चिनियाँ राज्य परिषद्को जुलाई २०२० को सेमीकन्डक्टर नीतिले विदेशी सेमीकन्डक्टर उत्पादन उपकरणको आयातलाई ‘अस्थायी’ आवश्यकताका रूपमा वर्णन गरेको थियो ।
विगत एक दशकमा चीनले क्वान्टम सूचना, आणविक ऊर्जा प्रविधि, एआई प्रविधिको विकास, अन्तरिक्ष अभियान, नयाँ वैज्ञानिक उपग्रह र समुद्री अन्वेषण उपकरणको विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । ‘ग्लोबल इनोभेसन इन्डेक्स’मा चीनको वरीयतामा भएको वृद्धिले विगत एक दशकमा विज्ञान प्रविधिको आविष्कारमा चीनले गरेको प्रगतिलाई प्रतिबिम्बित गर्छ । ग्लोबल इनोभेसन इन्डेक्समा चीनको र्यांकिङ २०१२ मा ३४ थियो भने २०२२ मा चीन ११ थियो । मार्च, २०२३ मा ‘अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युट’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ४४ महत्वपूर्ण र उदीयमान प्रविधिमध्ये ३७ वटा विधामा चीनको नेतृत्व छ भने बाँकी सात प्रविधिमा अमेरिका अघि रहेको छ । चीनले रक्षा, अन्तरिक्ष, रोबोटिक्स, ऊर्जा, वातावरण, जैविक प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत सामग्री निर्माणजस्ता विभिन्न महत्वपूर्ण विषयका अनुसन्धान र प्रविधिको क्षेत्रमा अमेरिकालाई उछिनेको छ । केही प्रविधिका लागि विश्वका शीर्ष १० प्रमुख अनुसन्धान संस्था चीनमा अवस्थित छन् । सिसिपी नेतृत्वले सन् २०५० सम्ममा देशलाई विश्व विज्ञान महाशक्तिमा परिणत गर्ने लक्ष्य राखेको छ । मार्च २०२१ मा प्रकाशित १४औँ पञ्चवर्षीय योजना र २०३५ सम्मको दीर्घकालीन लक्ष्यले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई चीनको आधुनिकीकरण अभियान र चिनियाँ राष्ट्रको कायाकल्पको आधारशिला मान्दै प्राथमिकतासाथ अघि सारेको छ । देशको पुनर्निर्माणका लागि देङ सियाओपिङले घोषणा गरेका ‘चार आधुनिकीकरण’को चार स्तम्भमध्ये विज्ञान एक थियो । सुधार र खुलापन नीति सुरु भएदेखि चीन सरकारले यस सम्बन्धमा धेरै कार्यक्रम विकास गरेको छ, सी जिनपिङ प्रशासनले यसको विकास र प्रवद्र्धनलाई नयाँ उचाइमा पुर्याएको छ ।
एक विश्लेषक लेख्छन्, ऐतिहासिक रूपमा विज्ञानको विश्व केन्द्र धेरैपटक सरेको छ, पुनर्जागरण इटलीदेखि इंग्ल्यान्ड, फ्रान्स र जर्मनी हुँदै बीसौँ शताब्दीको प्रारम्भदेखि अमेरिका विज्ञानको केन्द्रको रूपमा कायम छ । तर, विश्वको विज्ञान र प्रविधि क्षेत्रमा प्रमुख खेलाडीका रूपमा उदीयमान चीनका कारण विज्ञानको केन्द्रका रूपमा आफ्नो स्थान गुम्ने विषयले धेरै अमेरिकीलाई चिन्तित बनाएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा चीनको उपलब्धि र प्रदर्शन भने आफैँमा नौलो होइन । मिङ राजवंशको प्रारम्भिक वर्षसम्म चीन विज्ञान र प्रविधिमा विश्वनेता थियो । प्राचीन चीनका चार प्रमुख आविष्कारका रूपमा रहेका पेपरमेकिङ, मुद्रण, कम्पास र गनपाउडरजस्ता चिनियाँ आविष्कारले पूर्वी एसिया, मध्यपूर्व र युरोपको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए । पुरातात्विक प्रमाणअनुसार इपू पाँचौँ शताब्दीको प्रारम्भमा चीनमा फलाम गलाउने प्रविधि विकसित भइसकेको थियो । हान राजवंशको अभिलेखअनुसार १३२ इस्वीमा आविष्कारक झाङ हेङले भूकम्पको दिशा निर्धारण गर्ने सिस्मोग्राफ बनाएका थिए । सबैभन्दा पुरानो फाइबरमध्ये एक रेशम, ६ हजार वर्षपहिले चीनमा उत्पत्ति भएको थियो । रेशम, चुम्बकीय कम्पास, पेपरमेकिङ र पोर्सिलेनसम्बन्धी पश्चिमी ज्ञान सबै चीनबाटै व्युत्पन्न भएको थियो । तेह्रौँ शताब्दीमा चीन भ्रमण गरेका इटालीयन व्यापारी, अन्वेषक र लेखक मार्को पोलोले चिनियाँ प्रविधिको श्रेष्ठताबारे पश्चिमालाई सचेत गराएका थिए । चीन भ्रमण गर्ने हरकोहीलाई हजारौँ वर्ष पुराना चिनियाँ संरचनाले अचम्मित र आकर्षित गर्छन् ।
हाई–प्रोफाइल चिनियाँ मूलका अमेरिकी वैज्ञानिक चीन फर्केको विषयलाई लिएर सन् २०१० मा न्युयोर्क टाइम्सले एक समाचार सम्प्रेषण गरेको थियो । उसले त्यसलाई प्रविधिको क्षेत्रमा अन्य विकसित राष्ट्रसँगको अन्तरलाई कम गर्ने चिनियाँ सरकारको चाहनाद्वारा प्रेरित भएको बताएको थियो । विज्ञान र प्रविधिलाई लिएर चीन सरकारको गम्भीरता, विदेशमा कार्यरत चिनियाँ वैज्ञानिक र प्रतिभालाई देश फर्काउन लिएको नीति र ट्रम्प प्रशासनयता अमेरिकी प्रतिष्ठानहरूले चिनियाँ मूलका अमेरिकी वैज्ञानिकलक्षित नीतिले चीन फर्किने विद्यार्थी र वैज्ञानिकको संख्या उल्लेखनीय रूपमा बढेको छ । २०२२ मा चिनियाँ अनुसन्धानकर्ताले अमेरिकी अनुसन्धानकर्ताका तुलनामा कृत्रिम बुद्धिमत्ता (एआई) मा तीन गुणा धेरै प्रकाशन प्रकाशित गरे । शीर्ष एक प्रतिशत सबैभन्दा धेरै उद्धृत एआई अनुसन्धानमा चिनियाँ लेख अमेरिकी लेखभन्दा दुई गुणा बढी छन् । न्यानो साइन्स, रसायन विज्ञान र यातायातका विधामा पनि शीर्ष एक प्रतिशत सबैभन्दा उद्धृत पेपरमा चीन अग्रस्थानमा छ । अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटको रिपोर्टअनुसार चिनियाँ विज्ञद्वारा प्रकाशित उच्च प्रभावका प्रकाशनमध्ये सबैभन्दा बढी उद्धृत शीर्ष बीस प्रतिशत प्रकाशन अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डबाट फर्किएका चिनियाँ विज्ञबाट भएको छ ।
वर्तमान वैश्वीकृत र बहुध्रुवीय संसारमा नेतृत्वको प्रकृति धेरै फरक प्रकारको छ । विज्ञान र प्रविधि प्रणालीमा कुनै पनि राष्ट्रले विश्वव्यापी रूपमा एकल प्रभुत्व जमाउन सक्ने सम्भावना छैन । विज्ञान, प्रविधि र नवप्रवर्तनमा चीनले हासिल गरेको उपलब्धि र देखाएको क्षमताले यस क्षेत्रमा उसको महत्वाकांक्षा र सम्भावित मार्गका लागि एउटा विचार बनाउन सहज हुन्छ । चीनले आफ्नै प्रतिस्पर्धात्मक उपकरण उद्योगको विकास गर्नु केही समयको कुरा मात्र हो । त्यसैले चिप बनाउने उपकरण वा प्राविधिक नियन्त्रणद्वारा चीनको प्रगतिलाई रोक्न खोज्नु उपलब्धिमूलक नहुन सक्छ । विज्ञान र प्रविधिको क्षेत्रमा चीन र अमेरिकाले विश्वको सबैभन्दा ठूलो बजेट र मानव संसाधन विनियोजन गरेका छन् र विज्ञान र प्रविधिसम्बन्धी अकादमिक साहित्यको सबैभन्दा ठूलो उत्पादक हुन् । यदि यी दुई देश विज्ञान र प्राविधिक युद्धमा संलग्न भए र एक–अर्कासँग सहकार्य गर्न छोडे भने यसले वैज्ञानिक विचार र आविष्कारमा अवश्य पनि बाधा पुर्याउनेछ । स्वास्थ्य, जलवायु र वातावरणजस्ता विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न वैज्ञानिक ज्ञान विकासका लागि दुई प्रमुख राष्ट्रबीचको सहयोग र सहकार्यबाट विश्वले फाइदा लिन सक्छ । विश्व राजनीति ‘शून्य–राशि खेल’को मानसिकताबाट माथि उठ्न जरुरी छ ।