१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Sunday, 11 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o भदौ २ शनिबार o६:२५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको चीन भ्रमणअघि नै सर्वसाधारणका लागि तातोपानी नाका खोल्ने तयारी

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार o६:२५:oo

सीमाबाट ३० किमि क्षेत्रमा बसोवास गर्नेलाई हरियो र अरूलाई वान डे पास दिइने 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणअघि नै तातोपानी (कोदारी) नाका सर्वसाधारणका लागि खोल्ने तयारी गरिएको छ । 

नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११औँ बैठकले तातोपानी नाकालाई दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेअनुसार सेप्टेम्बरभित्र खुला गर्न थालिएको हो । ‘ल्हासा बैठकमा भएको समझदारीअनुसार सेप्टेम्बरभित्र नाका पूर्ण रूपमा खुला हुँदै छ,’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने, ‘हाम्रोतर्फ सबै तयारी गरेका छौँ । खासातर्फबाट पनि सबै तयारी भएको मैले बुझेको छु ।’ प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जाने तय भएको छ । 

१२ वैशाख ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका १५ जेठ ०७६ मा आयातका लागि एकतर्फी खुलेको थियो । १८ वैशाख ०८० बाट निर्यातका लागि पनि खुलेको थियो । अन्ततः भूकम्पको आठ वर्ष पाँच महिनापछि नेपाल–चीनका नागरिक यो नाकाबाट सीमा वारपार गर्न पाउने भएका हुन् । सीमावर्ती स्थानीय र नेपाली पर्यटकलाई चिनियाँ क्षेत्र प्रवेशका लागि आवश्यक कागजात तयारी अवस्थामा रहेको अध्यागमन कार्यालय कोदारीले जनाएको छ । अध्यागमन कार्यालय कोदारीका प्रतिनिधि तिलक मगरले भूकम्पअघि प्रयोग गरिएको हरियो र वान डे दुवै प्रकारको प्रवेश पास जारी गर्ने तयारीमा रहेको बताए । सीमाबाट ३० किलोमिटर क्षेत्रमा बसोवास गर्नेलाई हरियो र अरूलाई वान डे पास दिइने उनले बताए । 

खासा घुम्न जाने नेपालीले ब्ल्यांकेट, लुगा र घरायसी विद्युतीय सामान किन्न पाउने 
नेपाली गाडीले ल्याएको सामान चेकजाँच गर्ने नयाँ भन्सार रमितेमा बनेको छ । नेपालबाट सामान लिएर आउने गाडी खासा जान पाउने व्यवस्था गरिएको छ । तर, खासा पार्किङ पुनर्निर्माण नहुन्जेल आयात हुने मालवस्तु लिन भने नेपाली गाडी खासा जान पाउनेछैनन् । भूकम्पपछि विस्थापित खासाली अझै फर्किसकेका छैनन् । सेप्टेम्बरभित्र खासाका २० प्रतिशत बासिन्दा पुनर्स्थापित हुँदै छन् ।

हालका लागि लिपिङपारि १५, रमिते र खासा क्षेत्रमा तीन पसल सञ्चालनमा ल्याइने भएको छ । तातोपानीबाट गएका नेपालीले ब्ल्यांकेट, लुगा र घरायसी विद्युतीय सामान किन्न पाउने व्यवस्था गरिँदै छ । मानिस आवतजावत भएको केही महिनासम्म खासा क्षेत्रमा पुगेपछि सोही दिन फर्कनुपर्नेछ । खासाका बासिन्दा सबै आएर होटेल तथा पसल सञ्चालनमा आएपछि मात्रै नेपाली पर्यटक खासा बस्न पाउनेछन् ।

खासाबाट किनेर ल्याउने सामानको भन्सार गर्न तातोपानी भन्सारले पुरानै भन्सारमा छोटी भन्सार सुरु गर्ने भएको छ । नाकाबाट मानिस आवतजावत गर्नासाथ सामान ल्याउन सुरु हुन्छ । भन्सार निर्देशिकामा भएबमोजिम महसुल लिने व्यवस्था मिलाइएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए । तातोपानीबाट सामान ल्याउँदा ढुवानी खर्च कम, समयको बचत र सामान सुरक्षित हुने व्यापारी आङदोर्जे शेर्पाले बताए । ‘खरिद गरेको नौ दिनमा मेरो सामान खासा आइपुग्यो,’ उनले भने, ‘चिनियाँ सहरबाट पहिला एक सिबिएम सामानको ढुवानी खासासम्म ६ सय युआन (घोर्म) थियो, अहिले चार सय ५० युआन तिरेपछि तातोपानीसम्म आइपुग्छ ।’ चिनियाँ क्षेत्रमा रहेको आडो ट्रान्सपोर्टले नेपाली व्यापारीलाई लक्षित गरेर सहुलियत दरमा ढुवानी गर्न थालेको छ । जहाजबाट भारत भएर आउने सामान तातोपानी नाका सहज हुने भएपछि नेपाली व्यापारी स्थलमार्ग भएर ल्याउन तयार भएका छन् ।

चिनियाँ ट्रान्सपोर्ट कम्पनी खासाबाट लार्चासम्म ढुवानी गर्न चाहन्छन्, तर नेपाली व्यवसायीको माग– ट्रक, कन्टेनर लिएर खासा जान पाउनुपर्ने 
नाका सर्वसाधारणका लागि पनि खुल्ने भएपछि सीमा सुरक्षा र आयात–निर्यात मोडालिटीबारे विभिन्न चरणमा छलफल भइरहेको छ । प्रजिअ न्यौपानेका अनुसार सीमा सुरक्षाबारे दुवै क्षेत्रका प्रशासन र सुरक्षा निकाय तथा आयात–निर्यातबारे व्यवसायी र आयात–निर्यात कम्पनीबीच छलफल भइरहेको हो । 

भूकम्पपछि एकतर्फी नाका खुल्दा प्रयोगमा आएको ‘हुक एन्ड ड्रप’ प्रणाली वा नेपाली र चिनियाँ ट्रक कन्टेनर सीधै बोर्डर क्रस गर्ने भन्नेबारे यकिन हुन सकेको छैन । चीनतर्फ चारवटा निर्यात कम्पनी छन् । आडो, तिब्बतसिल्क, खासा र मुसा ट्रान्सपोर्टले कोरोना महामारीको समयमा प्रयोगमा ल्याएको एक सय १५ टेलरले खासाबाट सुक्खा बन्दरगाह लार्चासम्म सामान ढुवानी गर्छन् । नेपालबाट तीनवटा ट्रान्सपोर्ट कम्पनी छन्– सिल्क, रेवाङ र नमस्ते । यी ट्रान्सपोर्ट कम्पनीसँग चिनियाँ कन्टेनर तान्ने ५० वटा इन्जिन टाउको छन् । 

भूकम्पअघि खासाबाट काठमाडौं सामान ढुवानी गर्ने नेपाल ट्रक कन्टेनर ढुवानी लिमिटेडको हजारवटा गाडी छन् । सामान ढुवानी गर्ने कम्पनीबीच पनि एकापसमा छलफल जारी छ । नेपालका ट्रान्सपोर्ट कम्पनी कन्टेनर लिएर पहिलाजस्तै खासा पार्किङ जान चाहन्छन् । यद्यपि, तत्कालका लागि खासा पार्किङ सुरक्षित छैन । पहिरोको चपेटामा परेकाले यसको पुनर्निर्माण बीचैमा रोकिएको छ । खासा पार्किङ नबनेकाले नेपाली कन्टेनर खासा पुगेर सामान लोड गर्ने ठाउँ छैन । चीनका व्यापारीले खासा–लार्चा सामान ढुवानी गर्न किनेको एक सय १५ टेलरले खासादेखि रमितेसम्मको सडक भरिभराउ छ । चिनियाँ ट्रान्सपोर्ट कम्पनी खासाबाट लार्चासम्म ढुवानी गर्न चाहन्छन् ।

तर, नेपाली व्यवसायी ट्रक, कन्टेनर लिएर खासा जान पाउनुपर्ने बताउँछन् । नेपाल ट्रक कन्टेनर ढुवानी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटा भूकम्पअघि जसरी नै सामान लिन नेपाली कन्टेनर खासा जान पाउनुपर्ने बताउँछन् । ‘चिनियाँ गाडी तल आउँदा नेपाली व्यवसायीले काम पाउँदैनन्,’ उनले भने । तर, चिनियाँ ट्रान्सपोर्ट कम्पनी नेपाली गाडी खासा आउँदा चिनियाँ टेलर पनि नेपाली गाडीको टाउकोमा जोडिएर काठमाडौं जान पाउनुपर्ने अडानमा छन् ।