मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Sunday, 08 December, 2024
इब्राहिम अल–मरासी
२o८o भदौ १ शुक्रबार १o:२६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाबाट सिकेर रुसले बनाएको थियो वाग्नर समूह

Read Time : > 4 मिनेट
इब्राहिम अल–मरासी
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १o:२६:oo

निजी सैन्य कम्पनीले शक्ति मुलुकलाई हिंसा र अत्याचारको जवाफदेहिताबाट उम्किने चोरबाटो दिएको छ भने युद्धको वास्तविक लागतलाई गलत रूपमा प्रस्तुत गर्ने माध्यम प्रदान गरेको छ ।

रुसमा निजी सैन्य कम्पनी (प्राइभेट मिलिटरी कम्पनी अर्थात् पिएमसी)ले विद्रोह गरेपछि धेरै पर्यवेक्षकले कम्पनीका संस्थापक येवगेनी प्रिगोजिनले ठूलो मूल्य चुकाउनुपर्ने प्रक्षेपण गरेका थिए । यहाँसम्मकी प्रिगोनिको ज्यानलाई नै जोखिम रहेकोसमेत विश्लेषण गरिएको थियो । तर, प्रक्षेपणविपरीत वाग्नर प्रमुखलाई छिमेकी मुलुक बेलारुसमा ‘निर्वासन’मा पठाइयो र उनको समूहलाई युक्रेनबाहिर कारबाही गर्न छुट दिइयो । विद्रोहको केही समयपछि प्रिगोजितले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यक्तिगत भेटघाट गरे । उक्त भेटपछि प्रिगोजिनले उनको निजी सैन्य समूह अफ्रिकामा केन्द्रित हुने जानकारी दिए ।

पुटिनले युरोप, मध्यपूर्व र अफ्रिकामा उनको विदेश नीतिलाई अगाडि बढाउन निकै प्रभावकारी साबित भएको वाग्नरको संरक्षण गर्ने निर्णय गर्नु त्यति अचम्मको कुरा होइन । यस सन्दर्भमा पुटिनले सम्भवतः महाशक्ति अमेरिकाबाट पाठ सिके, जसको निजी सैन्य कम्पनीमाथिको निर्भरताले विश्वभर युद्धको निजीकरण र ‘आउटसोर्सिङ’लाई मार्गप्रशस्त गर्‍यो । अमेरिका, रुस र अन्य शक्तिराष्ट्रका लागि निजी सैन्य ठेकेदार समूह छद्म युद्धका लागि सुविधाजनक माध्यम बन्न थालेका छन् । यिनको कारबाहीको एक त सरकारमाथि सीधा जिम्मेवारीलाई न्यूनीकरण गर्छ । अर्को निजी सैन्य कम्पनीको प्रयोगले विदेशी भूमिमा हुने युद्धमा घरेलु सेना परिचालन गर्नुपर्दैन, जसको परिचालनमा ठूलो घरेलु विरोध सामना गर्नुपर्ने हुन्छ । 

अमेरिकाले कोरेको युद्धको ‘आउटसोर्सिङ’को मार्ग
अमेरिकी सरकारले युद्धमा सैन्य ठेकेदार प्रयोगमा ल्याउन थालेको इतिहास लामो भए पनि विगत दुई दशकमा यसको उल्लेख्य विस्तार भएको छ । दोस्रो विश्वयुद्धमा १० प्रतिशत अमेरिकी फौज निजी सैन्य कम्पनीबाट भर्ती गरिएका थिए । सन् २००१ सम्म आइपुग्दा, अमेरिकाले सुरु गरेको ‘आतंकवादविरुद्धको युद्ध’मा ५० प्रतिशत वा कुनै समय थप बढी अमेरिकाका लागि लडेका सशस्त्र सेना निजी रूपमा अनुबन्धित थिए । अफगानिस्तान, इराक र अन्यत्रका सैन्य कारबाहीमा लड्न लाखौँ फौज चाहिने थियो । त्यो संख्या राष्ट्रिय सेनाबाट मात्र लिए मतदाताको नकारात्मक प्रतिक्रिया आउने डरले अमेरिकी सरकार निजी सैन्य कम्पनीतर्फ फर्कियो । 

‘आतंकवादविरुद्धको युद्ध’ सुरु भएदेखि अमेरिकी रक्षा मन्त्रालय(पेन्टागन)ले १४० खर्ब डलर खर्च गरिसकेको छ । यस खर्चको एकतिहाइदेखि आधासम्म युद्धका लागि अनुबन्ध भएका सैन्य ठेकेदारका लागि छुट्याएको थियो । यो रकम रसद, निर्माण र हतियार आपूर्तिलगायत ठेक्कामा खर्च गरिएको भए पनि ठूलो हिस्सा ‘भाडाका बन्दुक’को लागि पनि भुक्तान गरिएको छ । सन् २००८ मा इराकमा उठेको विद्रोह दबाउने प्रयास उत्कर्षमा पुगेको थियो । त्यसवेला कन्ट्र्याक्टर(निजी अनुबन्धमा जोडिएका)को संख्या एक लाख ६३ हजार चार सय पुगेको थियो (यसमा गैरलडाकु भूमिकाका व्यक्तिसमेत थिए) । जब कि इराकभित्र त्यसवेला एक लाख ४६ हजार आठ सय अमेरिकी सेना मात्र थिए । सन् २०१० मा अफगानिस्तानमा संघर्ष ‘वृद्धि’का बीच तालिबानविरुद्ध नयाँ आक्रमणका लागि थप सेना तैनाथ गरिएको थियो । त्यसका लागि अमेरिकी सेनाको संख्या ७९ हजार एक सय हुँदा कन्ट्र्याक्टमा लिइएको संख्या एक लाख १२ हजार एक सय थियो (गैरलडाकु भूमिकामा रहेका मानिससहित) । 

निजी सैन्य कम्पनीमाथि गरिएको खर्बौँ डलरको खर्चका कारण विशाल र शक्तिशाली सैन्य ठेकेदार उद्योग निर्माण हुनपुग्यो । ती कम्पनीले विश्वभरका द्वन्द्वलाई परिवर्तन गर्दै ठूला तथा साना शक्तिले लड्ने युद्धको प्रकृति नै बदलिदिए । माथि भनिएझैँ सैन्य ठेकेदारको प्रयोगले सरकारलाई जोखिमपूर्ण विदेशी मिसनमा राष्ट्रिय सेना पठाउन अनिच्छुक मतदाताको सामना गर्नुनपर्ने सुविधा दिन्छ । साथमा तिनको प्रयोगले विदेशी भूमिमा हुने युद्ध अपराध कार्यको संलग्नता खण्डन गर्ने छुट पनि हुन्छ । उदाहरणका लागि सन् २००७ मा ब्ल्याकवाटरसँग आबद्ध सैनिकले बग्दादको निसोर चोकमा भएको झडपमा १४ इराकी नागरिकलाई मार्‍यो । ती अमेरिकी सेनाको कमान्डअन्तर्गत थिएनन् । उनीहरूलाई अमेरिकी विदेश विभागले आफ्ना कर्मचारीको सुरक्षाका लागि निजी रूपमा सम्झौता गरेको थियो । इराक सरकारले त्यस घटनापछि जब ब्ल्याकवाटरको इजाजतपत्र खारेज गर्ने प्रयास गर्दा के पत्ता लाग्यो भने ती कम्पनीले इजाजतपत्र लिएकै रहेनछन् । त्यसबाहेक, १४ इराकीको हत्यामा संलग्नमाथि मुद्दा वा अन्य कारबाही गर्न पनि सकिएन किनकि ती इराकी कानुनको अधीनमा थिएनन् । 

सन् २०१५ मा अमेरिकी अदालतले ब्ल्याकवाटरका तीन पूर्वकर्मचारीलाई सन् २००७ को हत्याको आरोपमा ३० वर्षको जेल सजाय सुनाएको थियो । तर, पाँच वर्षपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोड्नुअघि राष्ट्रपतिले दिन सक्ने माफीअन्तर्गत ती रिहा गरिए । निसोर चोकको नरसंहार अमेरिकी भाडाका सेनाले गरेका एक मात्र अत्याचार थिएन । खासमा निजी सैन्य कम्पनीका फौजको कारबाहीकै कारण इराकमा अमेरिकाविरोधी भावना बढाउन योगदान पुर्‍याएको थियो । त्यसले एक अमेरिकी नेतृत्वको प्रतिविद्रोह प्रयासलाई मात्र कमजोर बनाएन आइएसको उदयको कारण बन्यो । यी समस्याका बाबजुद अमेरिकाले निजी सेना प्रयोग गर्न छाडेन । इराक र अफगानिस्तानबाट सेना फिर्ता गरिसकेपछि पनि अमेरिका अझै निजी सैन्य कम्पनीलाई प्रयोग गरिरहेको छ । आज विश्वभर युद्ध र हिंसाको आउटसोर्सिङलाई सक्षम बनाउँदै गरेको निजी सैन्य उद्योग अमेरिकाको ‘आतंकवादविरुद्धको युद्ध’को एक घातक विरासत हो ।

रुसद्वारा अमेरिकाको सिको
अमेरिकी सरकारले अफगानिस्तान तथा इराक युद्धमा सैन्य ठेकेदार प्रयोग गरेको क्रेमलिनले नजिकबाट हेर्दै तिनको उपयोगिता बुझ्यो । केही पर्यवेक्षकका अनुसार पुटिनले विदेश नीतिअन्तर्गतका सैन्य कारबाहीमा ब्ल्याकवाटरको रूसी संस्करण प्रयोग गर्न चाहेका थिए । भाडाको समूह सिर्जना गर्र्ने पुटिनको आदेश पछ्याउँदा कुनै वेला पुटिनका कुक मानिने प्रिगोजिनले ब्ल्याकवाटरकै अनुकरण गरेका थिए । प्रिगोजिनको फौज पहिलोपटक पूर्वी युक्रेनमा रुसी आक्रमणलाई सघाउन सन् २०१४ मा प्रयोग गरिएको थियो । त्यसपछि उनीहरूलाई सिरियामा त्यहाँका राष्ट्रपति बसर अल–असदको शासनलाई बलियो बनाउन र लिबियामा विद्रोही जनरल खलिफा हफ्तारका लागि लड्न खटाइयो । यी सबै द्वन्द्वमा, क्रेमलिनले वाग्नरको संलग्नता र अस्तित्वलाई अस्वीकार गरिरह्यो । कागजी रूपमा रुसी कानुनले निजी सैन्य कम्पनीलाई गैरकानुनी भनेको छ । 

रुसी भाडाका सैनिकको प्रभावकारिताले अफ्रिकाका राजनीतिक र सैन्य नेतालाई तिनको सेवा लिन प्रोत्साहित गर्‍यो । यसले मस्कोको अन्तर्राष्ट्रिय स्थिति र विदेश नीति पहुँचलाई बलियो बनाउन सघायो । सन् २०२२ फेब्रुअरी मा, पुटिनले युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गर्ने निर्णय गर्दा उनलाई ठूलो संख्यामा सेनाको आवश्यकता थियो । त्यो रुसी सेनाबाट मात्र पूरा हुन सक्दैनथ्यो । यहाँ वाग्नर सहयोगी भयो । वाग्नरले युद्धमा भाग लिने स्वयंसेवक कम हुँदा कारागार बन्दीलाई पनि लिन थाल्यो, जसलाई फौजदारी सेवाबापत आममाफीको प्रस्ताव राखिएको थियो । वाग्नरले युद्धको रुसी जनसंख्यामा पर्ने हताहती कम गर्न मद्दत गर्‍यो । तर, यसका सेना रुसी सेनाको प्रत्यक्ष कमान्डमा थिएनन्, जुन क्रेमलिनका लागि ठूलो समस्यामा परिणत भयो । विद्रोह सम्भवतः पुटिनका लागि अप्रत्याशित विकास थियो, जसले उनलाई अन्तर्राष्ट्रिय समुदायमा मात्र होइन देशभित्रै पनि कमजोर देखाएको छ । प्रिगोजिनको विद्रोहको नतिजा सम्भवतः आगामी महिनासमेत जारी रहनेछ ।

विद्रोहपछि क्रेमलिनले वाग्नर फौजलाई रुस र युक्रेनको रणभूमिबाट हटाएको छ । तर, अझै पनि रुस यस समूहलाई उसको विदेशी कारबाहीबाट बाहिर राख्न तयार छैन । हुन पनि ती आर्थिक रूपमा लाभदायक र राजनीतिक रूपमा उपयोगी छन् । यसको सैन्य सेवाको बदलामा, वाग्नर र विदेशस्थित यसका मुखर कम्पनी तेल र ग्यास निकासी तथा सुन र हीरा उत्खननमा संलग्न छन् । यी कामले मस्कोमा पर्याप्त वित्तीय प्रवाह सुनिश्चित गरेको छ । यो भूमिका परम्परागत रुसी सेनाले निभाउन सक्दैन । भाडाका सैनिकमा भर परेर, अमेरिका, रुस र अन्य विश्व शक्तिले अन्तर्राष्ट्रिय रूपमा स्वीकृत नियमप्रतिको प्रतिबद्धता र युद्धको समयमा नागरिकको सुरक्षा गर्न खोज्ने अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर बनाएका छन् । यसले शक्ति मुलुकलाई हिंसा र अत्याचारको जवाफदेहिताबाट उम्किने बाटो दिएको छ र युद्धको वास्तविक लागतलाई गलत रूपमा प्रस्तुत गर्ने छुट दिएको छ । ब्ल्याकवाटर, वाग्नर र अन्य निजी सैन्य कम्पनी खासमा विश्वलाई थप खतरनाक ठाउँ बनाउँदै लगेका छन् ।

इब्राहिम अल–मरासी क्यालिफोर्निया स्टेट युनिभर्सिटी, सान मार्कोसको इतिहास विभागका सहप्राध्यापक हुन् ।

अल जजिराबाट