१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १३:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्चीको बाढीले सडक बगाएपछि हेलम्बु क्षेत्रका स्थानीय आवतजावतबाट वञ्चित 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

दुई दिनअघिको अविरल वर्षाले मेलम्ची खोलामा बाढी बढ्दा लाइफलाइनको रूपमा रहेको हेलम्बु सडक धेरै ठाउँमा बगाएको छ। भेमाथाङबाट दुई वर्ष पहिले आएको बाढीले कटान गरेर बाँकी राखेको किनारको खेत, बस्ती र मानवनिर्मित संरचना सबै बगाएको छ। 

मेलम्ची घ्याङदेखि ग्याल्थुमसम्म बाँकी रहेका खण्डहर ५० घर बाढीले बगाएको छ। हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार हेलम्बु क्षेत्रको हालको अवस्था निकै जोखिमपूर्ण रहेको छ।

‘मेलम्ची खोला तटीय क्षेत्रमा अब केही बाँकी रहेन,’ शेर्पाले भने, ‘हाम्रो पालिका अहिले  कठिन परिस्थितिमा छ।’ अविरल वर्षा तलतल रोकिए पनि भेमाथाङ लेकमा जारी छ। बाढीको त्रासले हेलम्बु र मेलम्ची बजारका स्थानीय रातभर सुत्दैनन्। नदी तटआसपास बस्ने स्थानीयले घरबार छोडेर माथिमाथि गाउँमा शरण लिएर बसेका छन्।

बाढीले मेलम्ची–हेलम्बु सम्पर्कविच्छेद भएको छ। चनौटेस्थित रातो पुलदेखि किउलसम्म सात किलोमिटर सडक  पूरै बगाएको छ। ग्याल्थुम र डुम्रे बजारको सडकमा खोलो कुदिरहेको छ। ग्याल्थुम बजारको ५० घर बाढीको उच्च जोखिममा परेकाले बजारवासी अन्यत्र सरेका छन्। ‘यतिवेला कोही बिरामी भयो भने अस्पतालसम्म पुर्‍याउने उपाय छैन,’ स्थानीय राजकुमार भण्डारीले भने।  

मेलम्ची खोलाको बाढीले यसपटक पनि मानवीयबाहेक करोडौँ क्षति गरेको उनले सुनाए। मेलम्ची र हेलम्बुको सिमाना ग्याल्थुमभन्दा माथिका सबै बस्ती बजार क्षेत्रको सम्पर्कबाट  कटेका छन्। 

विपत् व्यवस्थापनमा खटिरहेका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसहितको टोली सडक खुलाउने उपायबारे सबै निकायसँग छलफलमा छ। ‘हामी  क्षतिको अवस्था हेरेर अब के गर्ने भन्ने निष्कर्षमा पुग्दैछौँ,’ न्यौपानेले भने, ‘चाँडोभन्दा चाँडो बैठक गरेर सडक खोल्ने र विस्थापितलाई उचित व्यवस्थापन गर्नेतिर लागेका छौँ।’ 

संघ र प्रदेशबाट दुई वर्षमा २० करोड विनियोजन भयो। तर, मेलम्ची खोलो छेक्न बनाइएको सबै तारजाली, ढलान र वाल बगाएको छ। हेलम्बु सरकारका अध्यक्ष शेर्पाले दुखेसो पोख्दै भने, ‘यत्रो रकम बालुवामा पानी खन्याएझैँ भयो।’ 

माथिल्लो निकायले स्थानीय सरकारसँग समन्वय नगरी आफूखुसी कमिसन खान जथाभावी काम गरेकाले २० करोड बाढीले बगाएको उनले प्रस्ट्याए। राजधानीवासीको पानी पिउने चाहना पनि पर धकेलिएको उनले बताए। मेलम्ची खानेपानीको सुरुङ र हेडवर्क्स पुग्ने सडक सबै बगायो। हेडवर्क्सको संरचना पनि सबै बगाएको छ। 

मानवीय सेवाका लागि तत्काल एम्बुलेन्स चल्न सक्ने वैकल्पिक बाटोको खोजी भइरहेको शेर्पाले जनाए। ग्याल्थुम, चिसापानी वा मेलम्ची खोलाको किनारभन्दा माथिको गाउँबाट नयाँ ट्रयाक बनाएर तीन दिनभित्र नयाँ सडक सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जनाए। यद्यपि, तत्काल सडक बन्न निकै कठिन छ।