
के सार्क जीवितै छ ?
नमिठो प्रश्न सोध्नुभयो । नेपाललाई सार्कको राजधानी बनाउने निर्णय गर्ने सार्कको तेस्रो शिखर सम्मेलनको स्वागत सत्कार समितिको अध्यक्ष तथा ०५५ मा परराष्ट्रमन्त्रीहरूको श्रीलंका बैठकमा सार्क सम्मेलनलाई सार्थक अभ्यास बनाउने निर्णयको प्रस्तावक भएका नाताले मेरा लागि यो प्रश्न पीडादायी छ । जीवनमरणको दोसाँधमा रहेको सार्कलाई जीवन्त बनाउन कुशल नेतृत्वको खाँचो छ ।
सार्क किन सफल भएन ?
दुईपटक विश्वयुद्ध भोगेको युरोप, प्राचीनदेखि आधुनिककालसम्म उपनिवेशी शासन भोगेको अफ्रिका र ६ वटा साम्राज्यवादी शक्तिद्वारा शासित दक्षिण–पूर्वी एसिया (थाइल्यान्डबाहेक) क्षेत्रीय सहयोगको महत्वसँग परिचित थिए । यसैले, भविष्य सुरक्षित राख्न क्षेत्रीय सहयोगमा समर्पित भए । तर, नेपालबाहेक ४ सय वर्ष लामो उपनिवेशी शासन भोगेको दक्षिण एसियाले क्षेत्रीय सहयोगको तागतलाई उपयोग गर्न सकेन । यसको दोष पाकिस्तान, बंगलादेश र श्रीलंकासँग भारतको पानीबाराबारको कटुता भएको बेलामा पनि सार्क स्थापना गराउन राजनीतिक प्रभाव र कूटनीतिक सिप देखाउने नेपाल र यस क्षेत्रको सबैभन्दा ठुलो तथा सन् २०२७ सम्ममा विश्वको तेस्रो ठुलो आर्थिक शक्ति बन्न लागेको भारतले बोक्नुपर्छ ।
सार्कलाई कसरी सार्थक बनाउने त ?
जबाफ खोज्ने नैतिक दायित्व र कूटनीतिक चुनौती ९ वर्षदेखि निष्क्रिय अध्यक्ष रहेको नेपालको हो । मूच्र्छित रहेको कूटनीतिक सिप र क्षेत्रीय हैसियतलाई ब्युँझाउन नेपालले ढिलो गर्नु हुँदैन । विश्व व्यवस्थामा हैसियत बनाउन भारतका लागि क्षेत्रीय स्थायित्व र सद्भावना जरुरी छ भने भारतसँगको समझदारी र सहकार्य पाकिस्तानलगायत सम्पूर्ण दक्षिण एसियाको हितमा अनिवार्य छ । मिलनबिन्दु खोज्न शान्त कूटनीतिको अभ्यास गर्नुपर्छ ।