Skip This
डोल्पामा संघीय शिक्षा ऐनविरुद्ध धर्ना, पठनपाठन प्रभावित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण २८ आइतबार १८:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा संघीय शिक्षा ऐनविरुद्ध धर्ना, पठनपाठन प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १८:o३:oo

डोल्पाका आठवटै स्थानीय तहमा संघीय संसदमा टेबुल हुने तयारीमा रहेको संघीय शिक्षा ऐनविरुद्ध धर्ना दिइएको छ।

शिक्षकका विशेष मुद्दालाई सम्बोधन नै नगरी संघीय शिक्षा ऐन ल्याउन लागिएको भन्दै देशभरका शिक्षकहरूको छाता संगठन राष्ट्रिय शिक्षक महासंघको सर्कुलरअनुसार जिल्लाका सबै पालिकामा पुगेर शिक्षकहरूले धर्ना दिएका हुन्।

सरकारसँग सम्झौता भएको ३० र ५१ नम्बरको बुँदा तुरुन्त कार्यान्वयन गर्नुपर्ने, राहत, उच्च मावि शिक्षक, बाल विकास, विद्यालय कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने, नयाँ शिक्षा ऐनमा ल्याउन लागिएको शिक्षकका सेवा सुविधाका विषयमा निजामती सोसरह व्यवस्था गर्नुपर्नेलगायतका माग शिक्षकहरूले राखेका छन्।

जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाकामा पनि शिक्षकहरूले धर्ना दिए। त्रिपुरासुन्दरी नगरपालिकामा शिक्षक महासंघका पालिका अध्यक्ष कमला हमालको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तुलबहादुर विष्ट, राहत शिक्षक समितिका जिल्ला अध्यक्ष पूर्णकेशर न्यौपानेलगायतका शिक्षकहरूको उपस्थितिमा नगरप्रमुख जनचन्द्र रोकायलाई मागपत्र बुझाइएको हो।

मागपत्र बुझ्दै नगरप्रमुख रोकायले शिक्षकहरूको माग जायज भएकाले कार्यपालिका बैठकबाट तुरुन्त पारित गरी केन्द्रमा पठाउने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, ठुलीभेरी नगरपालिकामा पनि शिक्षक महासंघका जिल्ला अध्यक्ष बालकृष्ण डाँगीको नेतृत्वमा धर्ना दिइएको छ। केन्द्रबाट आएको सर्कुलरसहितको मागपत्र नगरप्रमुख सुवर्ण बुढालाई बुझाइएको हो।

पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा पालिकामा धर्ना दिने कार्यक्रम भव्य रूपमा सफल भएको शिक्षक महासंघ डोल्पाका अध्यक्ष बालकृष्ण डाँगीले बताए। सम्बन्धित स्थानीय तहमा रहेको महासंघको नेतृत्वमा विभिन्न संघ, संगठनका नेतृत्वहरू, राहत शिक्षक, विद्यालय कर्मचारी, बाल विकास सहजकर्तासहित भएर धर्नासहित मागपत्र बुझाइएको अध्यक्ष डाँगीको भनाइ छ।

शिक्षकहरू पहिलो चरणको आन्दोलनमा होमिएपछि डोल्पाका विद्यालयको पठनपाठन प्रभावित भएको छ। केन्द्रीय सर्कुलरअनुसार जिल्लाका कुनै विद्यालयले विद्यालय नै बन्द गरे भने कुनै विद्यालयले सात विषयमध्ये दुई पिरियड मात्र पढाएर विद्यार्थीहरूलाई छुट्टी गरे। आगामी मंगलबार जिल्लाभरका शिक्षकहरू भेला भएर शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने कार्यक्रम रहेको शिक्षक महासंघ डोल्पाले जनाएको छ।

जबसम्म सरकारले शिक्षक हकहित र वर्तमान आवश्यकतालाई पूरा गर्न सक्दै तबसम्म देशैभरबाट आन्दोलनका आँधी हुरी आउने राहत शिक्षक डोल्पाका अध्यक्ष पूर्णकेशर न्यौपानेले बताए। आफ्नो माग पूरा गराउनका लागि जिल्लाभरका राहत शिक्षकहरूलाई जुनसुकै प्रकारको आन्दोलनमा होमिन पनि तयार रहन निर्देशन दिए।